चितवनमा ४० सहित ४४ जना संक्रमित थपिए

काठमाडौं, भदौ १० : चितवनमा थप ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । महानगरमा २० महिला र १६ पुरुष गरि ३६ जना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ।
उनीहरु रत्ननगर–१, ६ र १३ नम्बर वडाका हुन् । पुरानो मेडिकल कलेज र रत्ननगर क्वारेन्टिनबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरि पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।











