Kathmandu Press

एमसीसी पासदेखि मन्त्रिपरिषद् हेरफेरको सुझाव दिँदै कार्यदलले बुझायो प्रतिवेदन 

काठमाडौं, भदौ ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले एमसीसी पारित, मन्त्रिपरिषद् हेरफेर लगा

एमसीसी पासदेखि मन्त्रिपरिषद् हेरफेरको सुझाव दिँदै कार्यदलले बुझायो प्रतिवेदन 

काठमाडौं, भदौ ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले एमसीसी पारित, मन्त्रिपरिषद् हेरफेर लगायतका सुझावसहितको प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएको छ। 

कार्यदलले शनिबार बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा अध्यक्षहरुको कार्यविभाजनका लागि सुझाव समेत पेश गरिएको छ। 

दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयनका लागि इमान्दार हुन कार्यदलले नेतृत्वलाई सुझाएको छ। दुई अध्यक्षले विगतमा कार्यान्वयन गरेका सुझावबाट विमुख हुँदा पार्टीभित्र समस्या आएकाले दुवै अध्यक्षको  व्यवस्थापन हुनेगरी सुझाव  समेटिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।

'दुवै अध्यक्षको कार्यविभाजन समेटेर कार्यदलले प्रतिवेदन बुझाएको छ। अब नेकपामा पदीय विषयको कुनै पनि विवाद आगामी दिनमा हुने छैन,' उनले काठमाडौंप्रेससँग भने।

प्रतिवेदनले अमेरिकी सहायता परियोजना एमसीसी, महाधिवेशनको मिति, मन्त्रिपरिषद् हेरफेर तथा पार्टीको सांगठनिक विभाजनबारे समेत सुझाव पेश गरेको नेता पाण्डेले जानकारी दिए। 

अमेरिकी सहायता परियोजना जस्ताको त्यस्तै नभई सचिवालय सदस्यको सुझाव अनुसार पारित हुनुपर्ने मत कार्यदलले राखेको छ।

यस्तै, मन्त्रिपरिषद् हेरफेरका लागि समेत कार्यदलले सुझाव दिएको छ। संघदेखि प्रदेशसम्मका सरकारलाई चुस्त बनाउनका लागि कार्यसमीक्षा गर्दै मन्त्रीहरुको हेरफेर गर्नुपर्ने सुझाव प्रतिवेदनमा समेटिएको एक सदस्यले जानकारी दिए। 

'मन्त्रिपरिषद् तत्कालै हेरफेर गर्ने नभई मन्त्रीहरुको कार्यसमीक्षा गर्दै आवश्यकताका आधारमा परिवर्तन गर्न कार्यदलले सुझाव दिएको छ,' ती सदस्यले भने।

महाधिवेशनको सवालमा केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार नै चल्नुपर्ने सुझाव कार्यदलले नेताहरुलाई दिएको छ। त्यसका लागि सदस्यताको टुंगो यथाशीघ्र लगाउँदै कार्यकर्ताको कार्यविभाजन समेत टुंगोमा पुर्‍याउन कार्यदलले सुझाव दिएको छ। राजनीतिक नियुक्ति गर्दा पार्टीमा अनिवार्य छलफल गर्नुपर्ने पद्धतिको विकास गर्न कार्यदलले सुझाव दिएको छ। 

कार्यदलको सुझावले नेकपाभित्रको विवादलाई समाधान गर्ने सदस्यहरुले विश्वास गरेका छन्। 'हामीले पार्टीभित्र मतभेद रहेका विषयलाई मिहीन ढंगले विश्लेषण गर्दै सुधारका लागि सुझाव पेश गरेका छौँ। नेतृत्वले ती कुरा कार्यान्वयन गरेमा पार्टीभित्र कुनै विवाद हुने छैन,' नेता पाण्डेले भने।

यस्तै, सरकारलाई कोभिड नियन्त्रण तथा रोकथाममा अझै प्रभावकारी बन्न कार्यदलले सुझाव दिएको छ।

कार्यदलको प्रतिवेदनलाई नेकपाको सचिवालय बैठकमा छलफलका लागि लगिने छ। प्रतिवेदन बुझ्दै अध्यक्षद्वयले छिट्टै सचिवालयको बैठक बोलाउने कार्यदलका सदस्यहरुलाई बताएका छन्। 

नेकपा विवाद समाधनका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा समिति ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा नेताहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुषाल र शंकर पोखरेल सदस्य थिए। 

 
 

प्रकाशित मिति: १८:३८ बजे, शनिबार, भदौ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्