नेकपामा अब प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग नहुने
काठमाडौं, भदौ ४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अब प्रधानमन्त्री केपी ओलीको रा
काठमाडौं, भदौ ४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अब प्रधानमन्त्री केपी ओलीको राजीनामा माग नहुने भएको छ।
पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले पनि प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग नहुने प्रारम्भिक प्रतिवेदन तयार गरेको छ भने राजीनामाको माग गर्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अब राजीनामा दिनु नपर्ने बताएका छन्।
अध्यक्ष प्रचण्डले एक टेलिभिजन सोमा ओलीले कुनै पनि पदबाट राजीनामा दिनु नपर्ने बताएका छन्। 'सकारात्मक ढंगले पार्टी एकता र सरकारको काम अगाडि बढाउने भन्नेमा हामी आइपुगेका छौं। अहिले नै सबै मिलेको भन्ने होइन,' उनले भने, 'कार्यदलले प्रस्ताव ल्याएर स्थायी कमिटीमा पेश गर्छ।'
एक साताभित्र सबै विवाद समाधान हुने प्रचण्डको दाबी छ। यस्तै, प्रधानमन्त्रीबाट अब अध्यक्ष ओलीको राजीनामा पार्टीभित्र माग नहुने वरिष्ठ नेता झलनाथ खनाल पनि बताउँछन्।
'उहाँको कार्यशैली सच्चिनु पर्छ भन्ने हाम्रो माग यथावत नै छ। तर, अब प्रधानमन्त्रीबाट अध्यक्ष ओलीको राजीनामाको माग पार्टीभित्र हुँदैन,' उनले काठमाडौंप्रेससँग भने।
यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कार्यदल गठन भएसँगै प्रधानमन्त्रीबाट ओलीको राजीनामाको एजेण्डा समाप्त भएको तर्क गरेका छन्। 'अब कार्यदलको सुझाव पालना महत्वपूर्ण विषय हो। कार्यदल गठन भएसँगै राजीनामाको आधार समाप्त भइसक्यो,' उनले भने।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले पनि अबको अढाइ वर्ष ओलीले नै सरकारको नेतृत्वलाई निरन्तरता दिने प्रस्ताव तयार पारेको छ।
मन्त्रिपरिषद्को फेरबदल गर्ने र सरकारको नेतृत्वमा ओलीलाई निरन्तरता दिँदै पार्टीको अध्यक्षमा प्रचण्डलाई शक्तिशाली बनाउने गरी कार्यदलले प्रारम्भिक प्रतिवेदन तयार गरेको सदस्य पम्फा भुषालले जानकारी दिइन्।
'पार्टी एकताको रक्षाका लागि विगतकै सहमति अनुसार अघि बढ्नुपर्ने कार्यदलको मुलभूत सुझाव रहेको छ। दुई अध्यक्षबीच विगतमा भएका सहमति पालनाप्रति दुवै पक्षमा इमान्दार हुनुपर्ने कार्यदलको सुझाव छ,' उनले भनिन्।
प्रधानमन्त्रीले आफ्नो कार्यशैली भने सच्याउनुपर्ने सुझाव कार्यदलले तयार गरेको छ। राजनीतिक नियुक्ति पार्टीको निर्णय अनुसार गर्नुपर्ने र स्वेच्छचारी शैलीलाई ओलीले अन्त्य गर्नुपर्ने सुझाव कार्यदलको छ। स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य राजीनामाको विषय अहिलेलाई स्थगित भएपनि कार्यशैली नसच्चिए फेरि उठ्ने बताउँछिन्।
'अहिले कार्यदल बनेको छ। त्यसले पेश गर्ने सुझाव अनुसार अध्यक्ष चल्नु भएन र पार्टीबाट सरकार नचल्ने, पार्टीका कुरा सरकारले नसुन्ने अनि सामूहिक निर्णयबाट राजनीतिक नियुक्ति नहुने विगतकै शैली निरन्तरता दिनु भयो भने फेरि राजीनामाको माग हुन्छ,' उनले भनिन्।
एक व्यक्ति एक पदको माग गर्दै प्रचण्ड- माधव समूहले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने माग सचिवालयदेखि स्थायी कमिटी बैठकमा उठाएका थिए। अब भने राजीनामाको मागलाई स्थगन गर्दै महाधिवेशनतर्फ केन्द्रित हुने मनस्थितिमा सो समूह पुगेको छ।
'सधैँ एउटै मुद्दामा अल्झिरहनु हुँदैन। पार्टी विधि अनुसार चल्नुपर्ने माग र त्यसका लागि दबाब बढाउँदै अब महाधिवेशनमा गएर सांगठनिक तथा वैचारिक मतभेदका कुरा टुंग्याउनुपर्छ,' स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने।
नेकपाको कार्यदलले पनि चैतमा महाधिवेशन गर्ने गरी तयारी थाल्नु पर्ने सुझाव दिने भएको छ। अबको तीन-चार दिनभित्र कार्यदलले प्रतिवेदन बुझाउने संयोजक पौडेलले जानकारी दिए।