यसकारण ब्यूँतियो नेकपा एमाले
करिब सात महिना पहिला हामी केही युवा साथीहरुबीच केही नयाँ योजना बनाएर काम गर्ने विषयमा छलफल भएको थियो।
कोही
करिब सात महिना पहिला हामी केही युवा साथीहरुबीच केही नयाँ योजना बनाएर काम गर्ने विषयमा छलफल भएको थियो।
कोही साथी व्यापारी, कोही इञ्जिनीयर, कोही डाक्टर हुनुहुन्थ्यो। यीमध्ये कोही पूर्वएमालेसँग सम्बन्धित हुनुहुन्थ्यो त, कसैको झुकावमात्रै थियो। तर, सबै मदन भण्डारीको विचारबाट प्रेरित थियौं।
यही क्रममा हामीबीचमा थुप्रै पटक छलफल भए। अझ लकडाउन सुरु भएपछि हामीले मिहिनरुपमा छलफल चलायौं। त्यही छलफलले नेकपा एमाले ब्यूँताउने विषयले मूर्त रुप लियो। अध्यक्षज्यूसहित हामी केही साथीबीच चिया गफमा बनेको योजना पछि दल दर्ता गर्ने अवस्थासम्म पुग्यो।
जनताका प्रिय नेता ‘जबज’ सँग हामी नजिक थियौं। मदन भण्डारीको विचार र नेकपा एमाले आफैँमा ब्राण्ड भएकाले पार्टी दर्ता गर्ने सोचमा पुग्यौं। संयोगले हामीले मदन भण्डारीको जन्मजयन्तीका दिन निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दियौं। आयोगले बुबाको मुख हेर्ने दिने वैधानिकता दियो।
हामीले दल दर्ताको निवेदन दिएपछि सत्तारुढ दलमा विवाद पनि निम्तियो। केही नेताहरुले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेकपा एमाले दर्ता हुन लागेको आरोप लगाउनुभयो। तर, यी आरोप मिथ्या हुन्। के चाहिँ पक्का हो भने नेकपाले जबजको ‘ज’ पनि पछ्याएन। अझ जबज नै छोड्ने स्थिति आयो। मदन भण्डारीको सिद्धान्त कसैले पन्छाउँछ भने कसैले पछ्याउन पनि पाउँछ। हामीले मदनको सिद्धान्त अंगिकार गरेका छौँं।
नेकपाभित्रको विवादमा नेकपा एमालेको विषय पनि मिसिँदा हामीलाई फाइदा नै भयो। मिडियामा हाम्रो चर्चा भयो। तर, उहाँहरु आफैँ तर्सिनुभयो। सायद विभिन्न आशंका जन्मिए होलान्। प्रधानमन्त्रीको संलग्नताको आशंका समेत गरियो। तर, हामी युवासँग प्रधानमन्त्रीको के लेनादेना होला र?
हरेक पार्टीका आ-आफ्नै सिद्धान्त हुन्छन्। तर, ती सिद्धान्त सत्तामा पुगेसँगै डगमगाउँछन्। हाम्रो मुख्य सिद्धान्त जबज नै हो। हामी जबजको एक–एक बुँदालाई लिएर अघि बढ्नेछौँ। अब हामी नै मदनको उत्तराधिकारी बन्नेछौँ। हामी नागरिकको हक अन्तर्गतका स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विषयमा केन्द्रित हुन्छौँ। अहिले विदेशी ब्राण्डले नेपाली उत्पादनलाई थिचेको छ। हाम्रा कलकारखाना बन्द छन्।
तर, ब्राण्डका नाममा विदेशी वस्तुले हामीलाई किचेका छन्। यो अवस्था सत्तामा हुनेहरुले निम्त्याएका हुन्। उनीहरुले आफ्नो स्वार्थ हेरे, जनता हेरेनन्।
सत्तामा हुनेले जनता हेरेका भए मजदुरलाई छाक टार्न गाह्रो हुने अवस्था आउने थिएन। यी र यस्तै कुराले हामीलाई पार्टी खोल्न प्रेरित गरे। गाँस, बास र कपासले मात्रै नागरिकलाई पुग्दैन भन्ने हाम्रो बुझाइ छ। नागरिकको भविष्य सुनिश्चित हुनपर्छ। कृषकले कामको मुआब्जा पाउनुपर्छ। शिक्षा, रोजगार, स्वास्थ्य लगायतलाई प्राथमिकतामा राख्नुपर्छ। सीप र पसिनाको मूल्य पाउनु पर्छ। हामी यी एजेण्डा लिएर जनतामाझ जान्छौँ र काम गरेर देखाउँछौँ।
अहिले हाम्रो ठूलो महत्वकांक्षा छैन। सातै प्रदेशमा पार्टी कमिटी बनिसकेका छन्। कोभिडपछि हामी जनताको घरदैलोमा जान्छौँ, संगठन निर्माण गर्छौँ। हामीले आफ्नो लक्ष्य निर्धारण गरिसकेका छौँ। विस्तारै संगठन निर्माण गर्दै जान्छौँ। जसलाई एमाले विलिन भयो भन्ने लागेको छ, उहाँहरुलाई प्रमुख प्राथमिकतामा राखेर संगठन बनाउँछौँ। जति पनि नेकपा एमालेलाई मन पराउने थिए, हामी उनीहरूलाई प्रेरित गरेर अघि बढ्छौँ।
यद्यपी सबैलाई समेट्ने हाम्रो लक्ष्य छ। हामी जनताका कुरा सुन्छौँ। जनताका काम गर्छौं। एक हिसाबले भन्ने हो भने हामी जनतालाई सल्लाहकार नियुक्ति गर्छौँ। हामी माध्यम बन्न चाहन्छौँ। मुख्य त नागरिक नै हुन्, त्यसैले नागरिकका एक–एक अपेक्षालाई सम्बोधन गर्ने गरी अघि बढ्छौं। अहिले हामीले सामाजिक सञ्जालमा एक-अर्कासँग सम्पर्क गरेर काम गरिरहेका छौँं। महामारीपछि हामी संगठन निर्माणमा जुट्ने छौँं। हामी आगामी निर्वाचनमा जनतामाझ प्रष्ट खाकासहित जानेछौँ। भोट जनताले दिन्छन्, हामी जनताको काम गर्छौँ।
-उपाध्याय निर्वाचन आयोगमा बुधबार दर्ता भएको नेकपा एमालेका महासचिव हुन्।