सरकारले ट्रायलका लागि मात्रै भ्याक्सिन नल्याउने, रेम्डेसिभिर खरिद गर्न तीन कम्पनीलाई स्वीकृति
काठमाडौं, भदौ ४ : सरकारले कोरोनाको खोप नेपाल ल्याउन आवश्यक पहल सुरु गरेको छ। ९२ राष्ट्र आवद्ध भ

काठमाडौं, भदौ ४ : सरकारले कोरोनाको खोप नेपाल ल्याउन आवश्यक पहल सुरु गरेको छ। ९२ राष्ट्र आवद्ध भएका खोप सम्बन्धी संस्था ग्लोबल एलायन्स अफ भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीसँग खोप ल्याउनका लागि स्वास्थ्य मन्त्रालयले पहल सुरु गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
गाभीसँग चार पटक परामर्श भएको प्रवक्ता गौतमले काठमाडौंप्रेसँग बताए। सरकारले परीक्षणका लागि नभई अन्तिम स्वीकृति प्राप्त गरेपछि भ्याक्सिन खरिद गर्ने हिसाबले गाभीसँग छलफल गरेको गौतमको भनाइ छ।
'अहिले परीक्षणका लागि विभिन्न खोपहरु आएका छन्। नेपालमा समेत केही परीक्षण गरौँ भन्ने प्रस्तावहरु समेत आएका छन्। तर हामीले परीक्षणका लागि होइन कि परीक्षण सफल भएर उत्पादनको अनुमति पाएका खोपमात्रै नेपाल ल्याउने गाभीलाई बताएका छौँ,' उनले काठमाडौंप्रेससँग भने।
विज्ञहरुले पनि खोपको सफलता हेरेरमात्रै नेपाल ल्याउन सरकारलाई सुझाव दिएका छन्। जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित परीक्षणका लागि खोप ल्याउँदा जोखिम हुने भएकाले सफल परीक्षणको खोपमात्र सरकारले ल्याउनुपर्ने बताउँछन्।
'परीक्षणका लागि खोप भित्र्याउन विभिन्न दबाब आउन सक्छन्। सरकार ती दबाबबाट मुक्त हुनुपर्छ,' दीक्षितले भने,'अहिले बनिरहेका खोपको सफलता निर्क्यौल भइसकेको छैन। ती खोप नेपाल ल्याउनु हुँदैन सरकारले सफल परीक्षण भएका खोपमात्रै भित्र्याउनुपर्छ।'
यस्तै, जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे सरकारले नेपालमा छिटो खोप भित्र्याउने ढंगबाट पहलकदमी लिनुपर्ने बताउँछन्। 'सरकारले भ्याक्सिन उत्पादन गरिरहेका देश तथा खोप उत्पादकसँगको छलफललाई तीव्रता दिनुपर्छ। तीव्र पहल भएन भने खोप आइसकेपछि पनि लगाउनेको सबैभन्दा पुच्छरमा हामी पर्छौँ। त्यतिबेलासम्म ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ,' उनले भने।
अहिले क्लिनिकल ट्रायलका लागि ७ वटा खोप उत्पादकले प्रस्ताव गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, मन्त्रालय क्लिनिकल ट्रायलका लागि खोप ल्याउने पक्षमा नरहेको प्रवक्ता गौतमको भनाइ छ।
'अहिले भनेको इन्जिनमात्रै बनेको हो। इन्जिन मात्रैको गाडी चढ्न मिल्दैन। हामी गाडी नै ल्याउने पक्षमा छौँ। इन्जिन मात्रै ल्याउँदैनौँ,' खोप भित्र्याउने पहलबारे जानकारी दिँदै उनले भने।
खोप भित्र्याउन विभिन्न देशले समेत नेपाललाई प्रस्ताव गरेका छन्। चीन र रुसका सरकारी प्रतिनिधिले खोप ल्याउन चाहेको अवस्थामा नेपाललाई पहिलो प्राथमिकतामा राख्ने बताइसकेका छन्।
चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँगको छलफलमा खोप उपलब्ध गराउनेबारे कुराकानी गरेकी थिइन् भने नेपालका लागि रुसी राजदूत एलेक्से नोविकोभले नोभेम्बरदेखि रुसले खोप उत्पादन गर्ने जानकारी गराउँदै नेपालले चाहेमा प्राथमिकताका साथ उपलब्ध गराउने जानकारी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई गराएका थिए।
कोरोनाको उपचारमा प्रयोग गर्न लागि विभिन्न राष्ट्रमा १ सय ३५ खोप क्लिनिकल ट्रायलमा रहेका छन्। ती मध्ये ८ वटा खोपले मात्रै तेस्रो चरणको परीक्षण पार गर्दै उत्पादनको स्वीकृति कुरिरहेको न्यूयोर्क टाइम्सले लेखेको छ। हालसम्म दुई वटा खोपलाई मात्रै अत्यावश्यक परिस्थितिमा मात्रै उपयोग गर्न अनुमति दिइएको भ्याक्सिन निर्माण ट्र्याक गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ।
कोरोना उपचारका लागि रेम्डेसिभिर ल्याउन स्वीकृति
यसैबीच, कोरोना संक्रमितको उपचारमा सफल देखिएको रेम्डेसिभिर औषधि खरिदका लागि सरकारले तीनवटा कम्पनीलाई अनुमति पनि दिइसकेको छ।
औषधि व्यवस्था विभागले यति फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सलाई औषधि आपूर्तिको जिम्मेवारी दिएको विभागका निर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए। चिकित्सहरुको प्रत्यक्ष निगरानीमा कोरोना संक्रमितको उपचारका लागि मात्रै प्रयोग गर्न यो औषधि आपूर्ति गर्न लागिएको विभागका निर्देशक ढकालको भनाइ छ।
भारतमा यसको प्रयोग गर्दा कोरोना संक्रमित छिट्टै निको भएको पाइएपछि यो औषधि कोरोना संक्रमितलाई प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो। रेम्डेसिभिर एन्टिभाइरल ड्रगउत्पादन गर्ने अमेरिकी कम्पनी ग्लिड साइनसले दुई महिनाअघि नै प्रयोगका लागि अनुमति मागेको थियो। सरकारले दुई साताअघि मात्रै त्यसको प्रयोगका लागि स्वीकृति दिएको हो।
के हो रेम्डेसिभिर ?
रेम्डेसिभिर प्रतिविषाणुजन्य अर्थात एन्टिभाइरल औषधि हो। कोरोना भाइरसका बिरामीलाई सुईको माध्यमबाट यो औषधि दिइन्छ। यसले बिरामीको श्वासप्रश्वास सहज गराउन मद्दत गर्ने चिकित्सकको भनाइ छ।
सन् २००३ मा मध्यपूर्वी राष्ट्रमा फैलिएको सार्सको उपचारमा समेत यसको प्रयोग भएको थियो। यस्तै, अफ्रिकी मुलुकमा देखा परेको इबोला भाइरसको उपचारमा समेत यसको प्रयोग भएको थियो।
गत फेब्रुअरीमा विभिन्न देशमा १ हजार ६३ जना कोरोना संक्रमितमा यो औषधिको परीक्षण गरिएको थियो। रेम्डेसिभिर प्रयोग गरेका ३१ प्रतिशत कोरोना संक्रमित ११ दिनमा निको भएको अध्ययनले देखाएको छ। संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोला क्लिनिकल ट्रायलमा रेम्डेसिभिर कोरोना संक्रमितको लागि उपयोगी पाइएको बताउँछन्।
'विभिन्न क्लिनिकल ट्रायलले रेम्डेसिभिर संक्रमितमा प्रयोग गर्दा अस्पतलाल बसाइ छोटिएको देखिएको छ,' उनले भने।











