‘प्रतीक चिन्हको भद्दा मजाक उडाउनेलाई कडा कारबाही हुनुपर्छ’
काठमाडौं, भदौ २ : ८७ वर्षीय टेकवीर मुखियाले पञ्चायत, प्रजातन्त्र र गणतन्त्रकालमा सांसदको लोगो ब

काठमाडौं, भदौ २ : ८७ वर्षीय टेकवीर मुखियाले पञ्चायत, प्रजातन्त्र र गणतन्त्रकालमा सांसदको लोगो बनाए। भारतद्वारा अतिक्रमित नेपाली भू-भाग लिम्पियाधुरालाई समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि सबै प्रतीक चिन्हमा नयाँ नक्सा राख्नुपर्ने भयो।
संशोधित नयाँ नक्सासहित सांसदको लोगो बनाउने जिम्मेवारी पनि मुखियालाई नै आइलाग्यो। धातुमा रुपान्तरित उनको चौथो लोगो यतिबेला बद्नाम भएको छ। मुखियाको शब्दमा भन्ने हो भने सिकारु शिल्पीका कारण प्रतीक चिन्हको गरिमा र उनको कलाकारिताको धज्जी उडेको छ।
सांसदको लोगो बनाउने जिम्मा मुखियालाई गत जेठ ११ गते संसद सचिवालयले दिएको थियो। जेठ १२ गते नै लोगो उपलब्ध गराउन उनलाई निर्देशन दिइयो। रातभर बसेर मुखियाले लोगो तयार पारेका थिए। एउटामा जौको बालाले घेरिएको प्रतीक चिन्ह थियो भने अर्कोमा महिला पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डासहितको लोगो थियो।

सांसदको प्रतीक चिन्ह र पोसाक कार्यव्यवस्था समितिको बैठकले महिला पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डाको लोगोलाई स्वीकृति दियो।
त्यसबेलै मुखियाले यो खेस्रा डिजाइन भएको र मूर्तरुप दिन बाँकी रहेको जानकारी गराएका थिए। तर, जेठ १३ गते बसेको संसदको बैठकमा त्यही लोगो प्रयोग भयो।
'छर्लङ्गै रात कटाएर मैले दुई वटा लोगोको डिजाइन गरेको थिएँ। तर मेरो खेस्रा डिजाइनको स्वीकृति भएको सूचना मैले पाएपछि त्यसलाई मूर्तरुप दिन बाँकी रहेको कुरा जानकारी गराएको थिएँ,' मुखियाले भने।
जेठमा बनेको उनको लोगो धातुमा उतार्न दुई महिना लाग्यो। संसद सचिवालयले नयाँ लोगो गत आइतबार सांसदलाई वितरण गरेको थियो। जब वितरण गरिएको नयाँ लोगो मुखियाले टिभिमा हेरे, आइतबार रातभर उनी निदाउन सकेनन्।
'धातुमा रुपान्तरण भएको मेरो डिजाइनको हरिबजोग हेर्दा मलाई रातभर निन्द्रा लागेन। मेरो त होसहवास उड्यो,' मुखियाले टेलिफोन संवादमा सुनाए।
सांसदको लोगोले आफ्नो कलाकारितासँगसँगै प्रतीक चिन्हको गरिमाको खिल्ली उडाएको मुखिया बताउँछन्। 'लोगोको शान हुन्छ। त्यसले त लोगोको बेइज्जत गरेको छ। मेरो कलाकारिताको त धज्जी उड्यो नै प्रतीक चिन्हको गरिमाको समेत खिल्ली उडेको छ,' मुखियाले भने।
दुई लाल सुनको जलप र एक तोला चाँदीको लेप लगाइएको लोगोमा तामाको पनि प्रयोग गरिएको छ। ३.५ सेन्टिमिटर डायमिटरको लोगो निकै भद्दा देखिन्छ। संसद सचिवालयले यो लोगो बनाउन २० लाख रुपैयाँ खर्च गरेको छ। लोगोमा प्रयोग भएका सुन, चाँदी र तामाको मूल्य तथा ज्याला जोड्दा प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ ८६ पैसा परेको छ।
संसद सचिवालयले ३ सय ५० वटा लोगो बनाउँदा कुल लागत मूल्य २० लाख परेको हो। यो भद्दा लोगो नलगाउने प्रतिक्रिया केही सांसदहरुले दिएका छन्। लोगोको नमूना नहेरिकन एकै पटक खरिद गर्ने प्रक्रिया गलत भएको र त्यो निर्णय गर्नेलाई कारबाही हुनुपर्ने मुखियाको माग छ।
'निकै कच्चा काममा राज्यकोषबाट यत्रो खर्च त गर्नु हुँदैन नि। पहिला नमूना झिकाएर पो अनि आवश्यक संख्यामा बनाउन दिनुपर्थ्यो सांसदहरुले लगाएनन् भने व्यर्थै खेर जाने भएन। एकै पटक यस्तो भद्दा लोगो बनाउन दिनेलाई पनि कारबाही गरिनुपर्छ,' मुखिया भन्छन्।
सांसदको यो लोगो घरेलु तथा साना उद्योग कार्यालयले ललितपुरले बनाएको हो। हातले बनाएका कारण भद्दा देखिएको तर्क कार्यालयले दिइसकेको छ। निकै आलोचना भएपछि संसद सचिवालयले पनि फरक मानिसले कुँदेका कारण कमजोरी भएको स्पष्ट पारेको छ। पाको काम गर्दै आएका मुखिया सचिवालयले शिल्पीको कौशल नहेरेर बचपना देखाएको भन्दै आक्रोश व्यक्त गर्छन्।
'शिल्पीको कौशलको जाँच गर्नु पर्दैन। यस्तो काम त बच्चाले पनि गर्दैन। कस्तो केटाकेटीको जस्तो काम गरेको ?' उनले आक्रोश पोखे।
आफ्नो डिजाइन धातुमा अर्कैले उतारेपनि त्यसको भद्दा आकृतिका कारण मुखियाको पनि बदनाम भइरहेको छ। यस्तो कच्चा काममा राज्यले लाखौँ खर्च गरेकोमा उनको आपत्ति छ। विनागल्ती बदनाम हुनु परेको उनको दुखेसो छ। 'मैले त देशका लागि इमान्दारितापूर्वक काम गरेको थिएँ। कसैको खेलाचीले गर्दा मेरो नाम समेत बदनाम भएको छ,' मुखियाले दु:खेसो पोखे।
पञ्चायतकालमा लोगो बनाएको पैसा सरकारबाट लिन उनलाई पाँच वर्ष लागेको थियो। अहिलेको लोगो बनाएको पारिश्रमिकमा कर कट्टी गर्दा उनले ४२ हजार रुपैयाँ पाएका छन्।
कलाको सम्मान नगरी जथाभावी प्रयोग गरेको भन्दै उनी पारिश्रमिक पनि फिर्ता दिने मनस्थितिमा छन्। 'कलाको सम्मान नगरीकन जथाभावी उपयोग भएकाले म त पारिश्रमिक पनि फिर्ता दिने मनस्थितिमा पुगेको छु,' उनले भने।
कच्चा शिल्पीको दोष पाको वृद्धलाई नदिन उनको आग्रह छ। भद्दा लोगो बनाउँदै प्रतीक चिन्हको भद्दा मजाक उडाउनेहरुलाई कडा कारबाही गरिनु पर्ने मुखियाको माग छ।











-(86)-1764936079.jpg)
