Kathmandu Press

अमेरिकाले स्वीकार्न नसकेको दक्षिण एसियाली पहिचान, के कमला सबैको होलिन्?

काठमाडाैं, भदाै २ : आसन्न निर्वाचनमा अमेरिकी राष्ट्रपतिका दाबेदार जो बाइडनले घोषणा गरेका छन्, ह्वाइट

अमेरिकाले स्वीकार्न नसकेको दक्षिण एसियाली पहिचान, के कमला सबैको होलिन्?

काठमाडाैं, भदाै २ : आसन्न निर्वाचनमा अमेरिकी राष्ट्रपतिका दाबेदार जो बाइडनले घोषणा गरेका छन्, ह्वाइटहाउसमा उपराष्ट्रपतिको आसनमा अब कमला ह्यारिस विराजमान हुने दिन नजिकिँदै छन्।

बाइडनको त्यस घोषणालाई सञ्चारमाध्यमले प्राथामिकताका साथ प्रकाशन तथा प्रसारण मात्रै गरेनन्, अमेरिकामा नयाँ बहस पनि सिर्जना गरे। त्यो बहस हो- कमलाको पहिचान। कमला अश्वेत अमेरिकन कि एसियाली अमेरिकन ? भन्ने विषयमा अहिले अमेरिकामा बहस भइरहेको छ।

कमलाकी आमा भारतीय आप्रवासी हुन् भने बुवा जमैकन आप्रवासी। लामो समय सार्वजनिक सेवामा बिताएकी कमलाको पहिचानको विषय छिपेको थिएन। सानफ्रान्सिस्कोमा जिल्ला न्यायाधिवक्ता र क्यालिफोर्निया राज्यमा महान्यायाधिवक्ताका रुपमा काम गरेकी उनी हाल डेमोक्रेटिक पार्टीको सिनेटर छिन्।

आसन्न राष्ट्रपतीय निर्वाचनमा उनी उपराष्ट्रपति पदको उम्मेदवार हुनेछिन्। सार्वजनिक रुपमा वर्षौंसम्म उनी अश्वेत अमेरिकनका रुपमा परिचित थिइन्। उनको दक्षिण एसियाली पहिचानको चर्चा उपराष्ट्रपति पदको उम्मेदवारका रुपमा बाइडेनले घोषणा गरेपछि चुलिएको हो।

वासिङ्टन पोष्टसँग अन्तर्वार्ता दिँदै कमलाकी एक साथीले भनेका छन्, ‘कमला दक्षिण एसियाली हुन् भन्ने थाहा पाउन मलाई १५ वर्ष लाग्यो।’ उनको दक्षिण एसियाली पहिचानको पृष्ठभूमि हालसालै चुलिएपछि त्यस मुलका केही अमेरिकी मतदाता कमलासँग रूष्ट छन्। कोही भने बहुलपहिचानको प्रतिनिधित्व गर्ने कमलाको उम्मेदवारी दिने विषयले उत्साहित छन्।

केही अश्वेत वर्गका मतदाता भने उनले कत्तिको आफ्नो वर्गको प्रतिनिधित्व गर्छिन् त भन्नेमा सशंकित छिन्। कतिपय श्वेत अमेरिकनहरु भने कमलाको दक्षिण एशियाली पहिचान खुलेपछि धरमराएको देखिन्छ। कमलाका कटु आलोचकहरुले भने उनको राष्ट्रियताका विषयमा पनि प्रश्न उठाउन थालेका छन्। आलोचकहरु भन्ने गर्छन्, ‘ह्यारिसको राष्ट्रियता र उपराष्ट्रपति बन्ने योग्यताबारे प्रशस्तै प्रश्न उठाउने ठाउँ छन्।’

बहुल पहिचान बोकेका मानिसहरुलाई आफ्नो पहिचान दिनका लागि अमेरिकामा निकै कठिन छ। उपराष्ट्रपति पदकी दाबेदार कमलाको पहिचानको विषयलाई लिएर अहिले अमेरिकामा भइरहेको बहसले पुष्टि गर्छ कि अझै पनि बहुल पहिचान अमेरिकाले सहर्ष स्वीकार गर्न सक्दैन। अमेरिकी मिडियाले कमलाको अश्वेत पहिचानलाई अघि ल्याउँदै उनले वर्णका आधारमा अमेरिकामा भइरहेका विभेदविरुद्ध निर्वाह गरेका भूमिकालाई विशेष प्राथामिकता दिएका छन्।

सन् १०१६ मा कमला सिनेटमा निर्वाचित भएको बेलामा अमेरिकी मिडियाले उनी सिनेटमा निर्वाचित हुने दोस्रो अश्वेत महिला हुन् भनेर लेखेका थिए। अमेरिकी सिनेटमा सन् १९९२ मा पहिलो पटक अश्वेत वर्णकी कारोल ब्रुन निर्वाचित भएकी थिइन्। कमलाको जितलाई कुनै पनि अमेरिकी मिडियाले दक्षिण एसियाली मुलकी पहिलो सिनेटरको रुपमा लेखेनन्।

सार्वजनिक नीतिबारे क्यालिफोर्नियामा प्राध्यापन गरिरहेका प्राध्यापक कार्थिक रामाकृष्णका अनुसार वर्ण विभेदको अमेरिकी नीति अझै पनि हाबी छ। अश्वेतका उपलब्धिलाई ठूलो मानिने मानसिकताले पनि मिडियाले कमलालाई अश्वेत अमेरिकनको रुपमा बढी चित्रित गरेको उनी बताउँछन्।

‘जब कोही अश्वेत र श्वेत वर्णको बाबुआमाको छोराछोरी हुन्छ, त्यसले श्वेतको हैसियत होइन, दासकै हैसियत पाउथ्यो,’ उनी भन्छन्, ‘यो अभ्यासको विरासत अझै पनि अमेरिकामा देखा पर्छ, कमला त्यसकै शिकार भएकी हुन्’, उनले भोक्ससँगको कुराकानीमा भनेका छन्।

अश्वेत (विशेषगरी अफ्रिकन) अमेरिकनहरुले जस्तो दमन र विभेद भारतीय अमेरिकनले खेपेका छैनन्। त्यसैले कमलाको दक्षिण एसियाली पहिचान सार्वजनिक भएपछि अश्वेत अमेरिकनहरु आफ्ना वास्तविक पीडाको प्रतिनिधित्व कमलाले गर्न सक्नेमा अहिले सशंकित बनेका हुन्।

अमेरिकाको रुर्त्गर विश्वविद्यालमा बहुजातीय पहिचान अध्यापन गराइरहेकी प्राध्यापक डायना सान्चेज अश्वेत वर्णको उम्मेदवार हुँदा मतदाताको सान्त्वनसँगै बढी मत प्राप्त हुने हुँदा कमलाले आफ्नो दक्षिण एसियाली पहिचान नखुलाएको हुन सक्ने तर्क गर्छिन्। 

‘पहिचानको आधारमा हुने सामाजिक मूल्याङ्कनमा दक्षिण एसियाली मुलका मानिस माथिल्लो वर्गमा पर्छन् भने अश्वेत अमेरिकन तल्लो वर्गमा पर्छन्। तल्लो वर्गबाट प्रतिनिधित्व गरेर माथिल्लो निकायमा पुगेको सान्त्वनाका खातिर दक्षिण एसियाली भन्न कमलाले नरुचाएकी हुन सक्छिन्,’ उनले भनिन्। अरुले दक्षिण एसियालीको पहिचान दिउन् वा अश्वेत अमेरिकन पहिचान, कमलाले आफूलाई के भन्न रूचाउँछिन् त्यो चाहिँ महत्वपूर्ण छ।

सन् २०१९ मा कमलाले आफ्नो आत्मवृतान्त प्रकाशित गरेकी थिइन्। त्यसमा उनकी आमाले भारतीय संस्कृति अनुसार आफूलाई हुर्काएको उल्लेख गरेकी छन्। उनकी आमाले छोरीहरुलाई अश्वेत महिलाको रुपमा गर्व गर्न सिकाएको पनि उनले खुलाएकी छन्। ‘आमाले हामीलाई भारतीय संस्कृति अनुसार हुर्काउनु भयो। सँगसँगै आफ्नो अश्वेत पहिचानमा समेत गर्व गर्न सधैँ प्रेरित गरिरहनुभयो,’ कमलाले आत्मवृतान्तमा लेखेकी छन्।

भारतीय संस्कृति अनुसार हुर्किए पनि समयक्रममा उनले आफ्नो अश्वेत पहिचानमा प्रतिबद्ध रहेको प्रमाणित गरिरहेकी छिन्। हार्वर्ड विश्वविद्यालयमा कमलाले आफ्नो अश्वेत पहिचानबारे बारम्बार बोलेकी छिन्। उनको अश्वेत पहिचानमा धावा बोल्नेहरुलाई गतिलो उत्तर निरन्तर दिइरहेकी थिइन्। अश्वेत पहिचान भएकाहरुको आवाज मुखरित गर्ने संस्था ‘अल्फा कप्पा अल्फा’मा समेत उनको सक्रिय सहभागिता थियो।

उनले आफूलाई अश्वेत भने पनि उनको भारतीय पहिचानलाई लुप्त राख्न भने मिल्दैन। तमिलनाडुमा जन्मिएकी उनकी आमा श्यामला गोपालन सन् १९५९ मा अमेरिकामा पढ्न गएकी थिइन्। त्यहाँ उनले जमैकन सहपाठी डोनाल्ड ह्यारिससँग विवाह गरिन्। तर, कमला सात वर्ष पुगे लगत्तै उनको आमा र बुवाको सम्बन्धविच्छेद भयो।

गोपालन पहिलेदेखि नै अमेरिकाले बहुल पहिचानलाई सहर्ष स्वीकार गर्नुपर्ने अभियानमा सक्रिय हुन्थिन्। डिभोर्सअघि उनी आफ्ना श्रीमान डोनाल्ड र कमलालाई समेत लिएर यो अभियानमा नारा लगाउँदै हिँड्थिन्।

१९६० देखि ७० को दशकमा अमेरिकामा बहुल पहिचानलाई स्वीकार गर्नुपर्ने अभियान चलेको थियो। ६ वर्षको हुँदा अभियानमा हिँडेकी कमलाले सिनेटरदेखि उपराष्ट्रपतिसम्को यात्रा तय गर्दैछिन्। उनकै उम्मेदवारीको समयमा उनको बहुल पहिचानलाई लिएर विवाद भइरहेको छ। स्पष्ट छ, अमेरिकाले अझैसम्म पनि बहुल पहिचानलाई सहर्ष स्वीकारेको छैन।  

अनुसन्धानमुलक संस्था पिवुका अनुसार अमेरिकामा ६ दशमलव ९ प्रतिशत मतदाता बहुल पहिचानवाला छन्। त्यस संस्थाले अबको ४० वर्षमा यो संख्या तीन गुणाले वृद्धि हुने दाबी गरेको छ। अमेरिकामा बहुल पहिचानवालाहरुको जनसंख्या वृद्धि भइरहे पनि उनीहरुको पहिचानलाई सहजरुपमा लिने संस्कृतिको विकास भने भइसकेको छैन। अमेरिकनहरु बहुल पहिचानको झन्झट भन्दा वर्णकै आधारमा मानिसलाई वर्गीकृत गर्न रुचाउँछन्।

राजनीतिमा प्रवेश गर्दा कमला स्वयंले पनि आफ्नो पहिचान खुलाउन दबाबको महसुस गरेको कुरा वासिङ्टन पोष्टसँगको एउटा अन्तर्वार्तामा खुलाएकी छिन्। ‘अरु मानिसहरुले खडा गरेको अवधारणा अनुसार आफूलाई परिभाषित गर्नु पर्ने कुरा निकै तनावपूर्ण थियो’, मैले उनीहरुलाई भनेकी थिएँ, ‘म जे हुँ त्यसमा म सन्तुष्ट छु। मेरो पहिचानको निर्क्यौल अरुले गरेर हुँदैन।’

बहुल पहिचान भएकाहरुले दुवै तर्फबाट विभेदको समाना गर्नुपर्ने अवस्था अमेरिकामा छ। कमलाले अहिले त्यही परिस्थिति व्यहोर्नुपर्ने प्राध्यापक सेन्चेज बताउँछिन्। ‘अश्वेतहरु, कमला त दक्षिण एसियाली हो, हाम्रो समुदायकी होइन भन्छन्। दक्षिण एसियालीहरु कमलालाई अश्वेतको भएको बताउँछन्,’ उनले भनिन्।

नोभेम्बर हुने निर्वाचनमा १ करोड १० लाख एसियाली–अमेरिकन मतदानको लागि योग्य छन्। कमलाको उम्मेदवारीले उनीहरुमा उत्साह पनि छाउने अपेक्षा गरिएको छ। यसले भारतीय–अमेरिकनको मत आफूतर्फ तान्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमा धक्का पुग्ने प्राध्यापक रामाकृष्णको विश्लेषण छ। यता आफूलाई अश्वेत नभएको प्रमाणीकरण गर्ने अभियानलाई निकै चोट पुगेको अभिव्यक्ति दिँदै कमलाले अश्वेतहरुको समेत सान्त्वना बटुलिरहेकी छन्।

बाइडनले कमला उपराष्ट्रपतिमा विराजमान हुने दिन निजिकिँदै छ भने पनि बहुल पहिचानका कारण उनले कठिन परिस्थितिको समाना पनि गरिरहेकी छिन्। कमला कसैको मात्रै हुन्छिन् वा उपराष्ट्रपतिमा निर्वाचित भएर सबैको हुन्छिन्। यो प्रश्नको उत्तर अमेरिकी निर्वाचनमा मतदाताले दिनेछन्।

विभिन्न एजेन्सीहरुको सहयोगमा शिशिर ढकालको रिपोर्ट

प्रकाशित मिति: ०७:४६ बजे, मंगलबार, भदौ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्