Kathmandu Press

२२ वर्षीया युवती, जसको आवाजले भारतीय स्वतन्त्रता संग्राममा उर्जा भर्थ्यो

काठमाडौं, साउन ३१ : 'गर  वा मर । मर्नु त छदैँछ भारतलाई स्वतन्त्रलाई बनाउन संघर्ष गरेरै

२२ वर्षीया युवती, जसको आवाजले भारतीय स्वतन्त्रता संग्राममा उर्जा भर्थ्यो

काठमाडौं, साउन ३१ : 'गर  वा मर । मर्नु त छदैँछ भारतलाई स्वतन्त्रलाई बनाउन संघर्ष गरेरै मरौँ,' सन् १९४२ को अगष्ट ८ मा महात्मा गान्धीले आफ्ना सहकर्मीहरुलाई भनेका थिए। 

उनको यही अभिव्यक्ति भारतलाई बेलायती उपनिवेशबाट मुक्त गराउने संघर्षविरुद्धको उर्जा थियो। गान्धीको यो अभिव्यक्ति जनमानसमा पुर्‍याउने काम गरेकी थिइन्, २२ वर्षीय एक युवतीले। भूमिगत भएर रेडियो सञ्चालन गर्दै गान्धीको आह्वानलाई आम मानिसमा पुर्‍याउने युवती थिइन्, उषा मेहता। 

सन् १९६९ मा उनीसँग गरिएको अन्तर्वार्तामा उनले भनेकी थिइन्-'समाचार प्रतिबन्ध भएको अवस्थामा ट्रान्समिटरको सहायताबाट सन्देश प्रवाह गर्दै स्वतन्त्रता संग्रामका लागि सबैलाई तयार पार्नका लागि रेडियो उपयुक्त माध्यम बन्यो।'

उषा मेहताले केही महिना स्वतन्त्रता संग्रामबारे सूचना प्रवाह गरिरहिन्। त्यसको आवश्यकताबारे सचेतना फैलाइरहिन्। गान्धीको सन्देशमार्फत संग्राममा सहभागी हुन मानिसहरुलाई उत्प्रेरणा दिइरहिन्। माइक्रोफोनमा भलै उनको सहभागिता क्षणिक थियो तर उनको आवाजका कारण संग्राममा प्रभाव निकै शक्तिशाली भइदियो। 

उषा मेहताकै भूमिगत रेडियोबाट गान्धीको 'अंग्रेजो भारत छोडो' अभियानको उद्‍घोष पनि भएको थियो। गान्धीसहित अरू चार नेता अभिव्यक्ति दिएको चार घन्टापछि गिरफ्तार पनि भए। उनीहरु गिरफ्तार भएसँगै 'अंग्रेजो भारत छोडो' नारा सडकमा गुन्जयमान भइदियो। भारतलाई स्वतन्त्र बनाउने संग्राममा जनसहभागिता झन-झन् बढ्दै गयो।

को हुन् उषा मेहता?

उषा मेहता पश्चिम गुजरातमा पर्ने सारस गाउँमा जन्मिएकी हुन्। त्यो गाउँ गान्धीको गृहनगर पनि हो। आठ वर्षको उमेरदेखि नै अंग्रेजहरूको दमनविरुद्धको आन्दोलनमा उनले सहभागिता जनाएकी थिइन्।

भारतमा केही कानून सुधारका लागि जोन साइमनको नेतृत्वमा एउटा समिति गठन भएको थियो। तीनै साइमनविरुद्धको आन्दोलनमा हो, उनले पहिलो नारा लगाएको 'साइमन पिछे हटो'। उनले नविन जोशीको पुस्तक फ्रिडम फाइटर्स रिम्मेबर्डमा भनेकी छिन्। बाल्यकालमै अंग्रेजविरूद्धको आन्दोलनमा सहभागी भएकी उनी गान्धीबाट निकै प्रभावित थिइन्।

'अंग्रेजले गरेको ज्यादतीविरुद्ध लड्दा र केही कानून आफू अनुकूल संशोधन गराउँदा ज्यादै सन्तुष्टि मिल्थ्यो। त्यहीबाट देशलाई आजाद गराउन पाए त झन् कति सुख हुँदो हो भन्ने भाव बाल्यकालदेखि नै आउँथ्यो,' उनले एक अन्तर्वार्तामा भनेकी थिइन्। 

नुनमा लगाइएको करविरुद्ध होस् वा बेलायती कपडा तथा सामग्रीको आयात निषेध गर्न चलेको चर्खा अभियान, उषाले अंग्रेजविरुद्धका प्राय आन्दोलनमा सहभागिता जनाएकी थिइन्। सन् १९३३ मा उषाका बुवा जागिरबाट अवकाश प्राप्त भए र उनीहरुको परिवार बम्बईमा सर्‍यो। बम्बई बसाइँ सरेको ९ वर्षपछि हो उषाले गान्धीको आह्वान सुनेको- 'गर  वा मर । मर्नु त छँदैछ भारतलाई स्वतन्त्र बनाउन संघर्ष गरेरै मरौँ।'

गान्धीको यो आह्वान सुनेको एक साताभित्रै उषाले कंग्रेस रेडियोको सुरुवात गरेकी थिइन्। कंग्रेस रेडियोको पहिलो प्रसारण सन् १९४२ को अगष्ट १४ तारिखमा भएको थियो। '४२.३४ मेघाहर्जमा भारतको कुनै स्थानबाट बजिरहेको छ कंग्रेस रेडियो,' रेडियोको सिग्चेर आइडी यो हुने गरेको उषाको स्मरण छ। 

रेडियोमा प्रसारण हुनुपर्ने सामग्री सबै बम्बईमा रेकर्ड हुन्थ्यो। त्यस सामग्रीलाई प्रसारण गर्नका लागि उषालाई उनका साथीहरु चन्द्रकान्त जाभेरी, नंका मटवाने लगायतले सहयोग गरेका थिए। सुरुवाती दिनमा रेडियोको प्रसारण दिनको दुई पटक हुन्थ्यो। अंग्रेजी र हिन्दी भाषामा रेडियोको प्रसारण हुने गरेको थियो। पछि साँझ ७ : ३० देखि ८:३० सम्म दिनको एकपट मात्रै बज्न थाल्यो।

उनीहरुको प्रसारण इलाका प्रहरीले पत्ता लगाउन नसकोस् भनेर आफ्नो प्रसारण इलाका बारम्बार परिवर्तन गरिरहेका हुन्थे। तीन महिना प्रसारण भएको त्यस रेडियोले  सात पटक स्थान्तरण गरेको थियो। रेडियोले सबैखाले समाचार बजाउँथ्यो।

संग्राममा सक्रिय अभियन्ताका आवाजदेखि बेलायती सामान खरिदका लागि निषेध गरेका व्यापारीको समाचार आन्दोलनमा भएका धरपकड तथा गिरफ्तार समाचारका विषयवस्तु हुन्थे। 'सामाचार दिनका लागि विशेष खबरीहरु सक्रिय हुन्थे। बम्बईबाट कंग्रेसले समेत महत्वपूर्ण सूचनाहरु पठाउँथ्यो,' उषाले एक अन्तर्वार्तामा भनेकी थिइन्।

अखबारहरुलाई खबर छाप्न निषेध गरिएको अवस्थामा कंग्रेस रेडियोले मात्रै सूचना प्रवाह गरेको थियो। उषाका अनुसार कंग्रेस रेडियोमा स्वतन्त्रता संग्राममा संलग्न नेताहरुले बेलायतीहरुको सात्तो जाने गरी भाषण समेत गरेका थिए। आफ्नो शासनविरुद्ध जनमानस भड्काउने काम गरेपछि कंग्रेस रेडियो शासकको तारो बन्नु स्वभाविक थियो।

सन् १९४२ को नोभेम्बरमा बम्बईको रेडियो पसलमा प्रहरीले छापा मार्‍यो। त्यहाँबाट केही फेला पार्न सकेन। फेरि अर्को साता उषा भएकै भवनमा प्रहरीले छापा मार्‍यो।  त्यहाँ प्रसारणका लागि ठिक्क पारेका सामग्री तथा अन्य दस्तावेजहरु थिए। त्यसलाई लिएर भाग्न उषा सफल भइन्। त्यही दिन उनीहरुले हिन्दुस्तान हमरा भन्ने गीत बजाए। समाचारको बुलेटिन पनि प्रसारण गरे अन्त्यमा बन्दे मातरम बजाउन लाग्दा ढोकामा प्रहरीको लात बजारियो। 

'प्रहरीले हामीलाई प्रसारण रोक्न भन्यो। हामीले उनीहरुलाई टेरेनौँ हामीलाई प्रहरीले गिरफ्तार पनि गरेको थियो,' उषाले एक अन्तर्वार्तमा आफ्ना स्मरण सुनाएकी छिन्। 
बेलायती प्रशासनले उषासहित उनका साथीलाई यो अभियान रोक्न सुझाव दिँदै अध्ययनका लागि बेलायत पठाउने प्रलोभन पनि दिए। तर उनी विचलित भइनन्। उनले त्यो प्रस्ताव अस्वीकार गरिन्। आफ्नो प्रस्ताव अस्वीकार गरेपछि प्रशासनले उनलाई चार वर्षको जेल सजाय पनि सुनायो। 

'सन् १९४६ को अप्रिलमा म जेलबाट बाहिरिए त्यहाँबाट आउँदा एकदम खुशी र गर्व महसुस गरिरहेकी थिएँ,'' उनले भनेकी छिन्।

जेलबाट बाहिरिएपछि उनले विद्यावारिधि पनि गरिन्। ३० वर्षसम्म उनले विल्सन कलेजमा प्राध्यापन गरिन्। सन् १९८८ मा भारत सरकारले उषालाई पद्मा विभुषणबाट पनि सम्मानित गरेको थियो। २२ वर्षको उमेरमा भारतीय स्वतन्त्रता संग्राममा सशक्त सहभागिताका लागि भूमिका निर्वाह गरेकी उनको सन् २००० को अगष्टमा ८० वर्षको उमेरमा देहान्त भएको थियो। 

-बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद
 

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, साउन ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्