Kathmandu Press

काठमाडौंका कोभिड अस्पताल भरिए, नयाँ संक्रमितलाई कहाँ उपचार गर्ने?

काठमाडौं, साउन २८ : काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कोभिड अस्पतालका बेड भरि

काठमाडौंका कोभिड अस्पताल भरिए, नयाँ संक्रमितलाई कहाँ उपचार गर्ने?

काठमाडौं, साउन २८ : काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कोभिड अस्पतालका बेड भरिएका छन्। सरकारले उपत्यकाका तीन अस्पताललाई कोभिड उपचारका लागि तोकेको थियो। तर, तीनै वटा अस्पतालका बेड अहिले खाली छैनन्।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लेभल टु अस्पतालका रूपमा कोभिड उपचारका लागि तोकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार अब नयाँ संक्रमितलाई आइसोलेसनका लागि भर्ना लिन सक्ने अवस्था छैन।

Hardik ivf

अस्पतालका कोभिड चिकित्सक डा. अनुप बास्तोलाका अनुसार अहिले टेकुमा ४७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। ती मध्ये चार जना आइसीयूमा छन्।

‘अब नयाँ संक्रमितलाई आइसोलेसनमा भर्ना गर्ने अवस्था छैन,’ बास्तोलाले भने, ‘आज मात्र दुई जना डिस्चार्ज हुनुभयो। तर तीन जना थपिनु भएको छ।’

टेकु अस्पतालमा अहिले नै क्षमता भन्दा बढी संक्रमित छन्। टेकु अस्पतालमा आइसोलेसनका लागि एक सय बेड तय गर्ने भनिएपनि दुरी कायम गर्दा आइसोलेसनमा ३४ बेड मात्रै सञ्चालनमा छ। यस्तै आइसीयू २० र भेन्टिलेटर ९ वटा छन्।

यस्तै शशस्त्र प्रहरी अस्पतालमा अहिले क्षमता भन्दा बढी संक्रमित छन्। अस्पतालको कोभिड बेड क्षमता एक सय २० जनाको हो। अहिले १ सय २७ जना बिरामीको उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. प्रविण नेपालले जानकारी दिए। जसमध्ये सात जना आइसियुमा छन्। ‘१२० जनाको क्षमता हो। तर क्षमता भन्दा सात जना बढीको उपचार गरिरहेका छौं,’ नेपालले भने, ‘आज मात्रै १० जनाको डिस्चार्ज भयो। तर, एक घण्टा भित्रै सोही बराबरको संख्या भर्ना भइसकेको छ।’

उनले नयाँ बेड थप्न नसकिएको पनि बताए। ‘जती संख्या डिस्चार्ज भयो। त्यही बराबरको मात्रै भर्ना लिने हो,’ उनले भने। 

यस्तै पाटन अस्पताल पनि बेड भरिसकेको छ। अस्पतालका डा. विष्णुप्रसाद शर्माका अनुसार नयाँ संक्रमित भर्ना गर्ने अवस्था छैन। ‘अहिले नै क्षमता भन्दा धेरै संक्रमित छन्। नयाँ भर्ना लिन गाह्रो स्थिती छ। तै पनि एडजस्ट गरिरहेका छौं,’ उनले भने।

कोभिडको उपचारका लागि पाटन अस्पतालको ६० आइसोलेसन बेड र २१ वटा आइसियू क्षमता हो। तर, अहिले ८१ नजा संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ भने ९ जना आइसियूमा रहेको अस्पतालले जनाएको छ।

उपत्यकामै १२ सय ५७ जना सक्रिय संक्रमित

पछिल्लो एक साता यता काठमाडौंमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। बुधबार मात्रै उपत्यकामा १३८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अुनसार अहिले उपत्यकामा एक हजार २ सय ५७ जना सक्रिय संक्रमित छन्। ‘कूल संक्रमित मध्ये १२ सय ५७ जना सक्रिय संक्रमित हुनुहुन्छ,’ मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भने, ‘उहाँहरुको उपचार भइरहेको छ।’

मन्त्रालयका तथ्यांक अनुसार काठमाडौं जिल्लामा अहिलेसम्म एक हजार १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १ सय १८ जना डिस्चार्ज भएका छन् भने ८ जनाको निधन भएको छ। एक हजार ४० जनाको भने उपचार भइरहेको अधिकारीले जानकारी दिए। 

यसैगरी ललितपुरमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएकोमा २४ जना डिस्चार्ज भएका छन्। एक जनाको मृत्यु भएको छ, भने १ सय ४४ जना उपचाररत छन्। भक्तपुरमा १ सय ५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ३२ जना निको भएर घर फर्किएका छन् भने ७३ जना उपचाररत छन्। 

कोभिड डेडिकेटेड अस्पतालमा बेड भरिए, अन्य अस्पतालमा व्यवस्थापन गर्छौ : मन्त्रालय 

कोभिडको उपचार गर्न तोकिएका अस्पतालमा बेड भरिएपछि मन्त्रालयले अन्य अस्पतालमा व्यवस्थापन गर्ने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अन्य अस्पतालमा बेड व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए। ‘कोभिड डेडिकेटेट अस्पतालमा बेड भरिए अन्य अस्पतालमा उपचारको प्रवन्ध मिलाउन बेड थप्ने तयारीमा छौं,’ उनले भने, ‘काठमाडौंमा बेड अभाव हुने अवस्था आउँदैन।’

उनले लक्षण बिनाका संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने बताए। लक्षण भएका संक्रमितलाई मात्रै बेडमा राखेर उपचार गर्ने उनको भनाइ छ। ‘लक्षण बिनाका संक्रमित घरमै आइसोलेसनमा बस्न सक्छन्। एक्लै बस्नु पर्यो, भेटघाट गर्न भएन,’ उनले भने, ‘लक्षण नभएकालाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता छैन।’

प्रकाशित मिति: १९:३० बजे, बुधबार, साउन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्