'सेल्फी खिच्दा कोरोना सर्यो, सात्विक भोजन र हिम्मतले जितेँ'
काठमाडौं, साउन २७ : साउनको पहिलो सातादेखि पर्साका बाढी पीडितलाई राहत वितरणमा सक्रिय थिए, सांसद
काठमाडौं, साउन २७ : साउनको पहिलो सातादेखि पर्साका बाढी पीडितलाई राहत वितरणमा सक्रिय थिए, सांसद प्रदीप यादव।
राहत वितरणमा उनले धेरेसँगै सेल्फी खिचे। कार्यकर्तासँग सेल्फी खिच्ने क्रममा सामाजिक दूरीमात्रै तोडिएन मास्कको पनि प्रयोग भएन। सेल्फी खिच्दा नै कोरोनाको संक्रमण भएको सांसद यादवको दाबी छ।
पर्सामा कोरोना संक्रमितको संख्यासँगसँगै बाढीपीडितको संख्या पनि बढिरहेको थियो। त्यसैले पर्सा क्षेत्र नम्बर १ का सांसद यादव पर्साको मिलचौक, लालपर्सा, प्रसोतीपुरमा स्थानीयलाई राहत वितरण गर्न सक्रिय भए। राहत वितरणका लागि उनी क्षेत्र नम्बर ३ को पकाहमाइनपुर गाउँपालिकासम्म पुगेका थिए।
सांसद यादवले सामाजिक दूरीको पालना र मास्कको प्रयोग गरिरहेकै थिए। तर, सेल्फी खिच्दा यी नियमको पालना हुने कुरै भएन। साउन १२ गतेसम्म गाउँ-गाउँ पुगेका यादवले धेरै ठाउँमा सेल्फी खिचे। सेल्फी खिचेकै कारण कोरोना संक्रमण भएको यादव बताउँछन्।
'अरू बेला सामाजिक दूरी कायम भएपनि सेल्फी खिच्ने बेला भंग हुन्थ्यो मास्क पनि फुकाल्नै पर्यो। जनतासँग फोटो खिच्दिनँ भन्न पनि अप्ठ्यारो। म यकिनका साथ भन्छु-सेल्फी खिच्दै हो मलाई कोरोना सरेको। अरु बेला त जनस्वास्थ्यका मापदण्ड सबै पालना गरेको थिएँ,' उनी भन्छन्।
साउन १४ गते यादवलाई रूघाखोकी लाग्यो। १५ गते बिहान उनलाई श्वासप्रश्वासमा समस्या भयो र बेलुकीपख हनहनी ज्वरो आयो। अब उनलाई शंका लाग्यो- कोरोनाको। त्यसपछि यादवले परीक्षणका लागि स्वाब दिए। १६ गते परीक्षणको रिपोर्ट आउँदा यादवलाई कोरोना संक्रमण पुष्टि भयो। कोरोना पुष्टि भएसँगै वीरगञ्जको राधेमाई टोलस्थित आफ्नै निवासमा आइसोलेशनमा बसेका थिए। यादवले ९ दिनमै कोरोनालाई जिते।
सोमबार परीक्षणका लागि स्वाब दिएका उनले मंगलबार कोरोना नेगेटिभ भएको रिपोर्ट पाएका छन्। '९ दिनमा मैले कोरोनालाई पराजित गरेँ। अझै सात दिन आइसोलेसनमा बस्छु,' यादवले भने। स्वस्थकर खानकी र नियमित व्यायामले कोरोनालाई पराजित गर्न सफल भएको उनको अनुभव छ। भिटामिन सीयुक्त खानेकुरा, प्रोटिनयुक्त खानकी खाएका कारण शरीर तागतिलो भएको उनी बताउँछन्।
यस्तै तुलसी, मरिच, अजवाइन, अदुवा, खुर्कुट, मिसाएर उमालेको पानीले शरीरलाई निकै फाइदा पुगेको उनको भनाइ छ। 'मेरो शरीरमा कोरोना बाहेक अरू कुनै रोग नै थिएन। त्यसैले घरेलु विधिबाटै उपचार गर्दा पनि म निको भएँ। तर अन्य रोग भएका मानिसहरुमा संक्रमण देखिएमा चिकित्सकसँग नियमित परामर्श गर्नुहोला,' यादव भन्छन्।
शारीरिकसँगसँगै मानसिक सबलिकरण पनि यस्तो बेलामा आवश्यक पर्ने सांसद यादवको भनाइ छ। आफूलाई कमजोर नठान्न र हिम्मत नहार्न उनी संक्रमितहरुलाई सल्लाह दिन्छन्। संक्रमणको जोखिम निकै बढेकाले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न उनको सुझाव छ।
'मैले जस्तै हेल्चेक्र्याइँ गर्नुभयो भने त संक्रमित हुनुको विकल्प नै छैन। त्यसैले मास्क, स्यानिटाइजर र सामाजिक दूरीको कडा पालना गरौँ,' यादव सर्वसाधरणलाई अपील गर्छन्। साउन १४ गते उनी वनको अवस्थामा बुझ्न टोलीसहित सिन्धुली पुगेका थिए। उनको क्लोज कन्ट्याक्टमा रहेका संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई पनि कोरोना पुष्टि भएको छ।
आफूलाई पहिले नै कोरोना संक्रमण भएर लक्षण पछि देखिएको हुनसक्ने यादव बताउँछन्। पाण्डेलाई कोरोना संक्रमण भएकोमा दु:ख प्रकट गर्दै सांसद यादवले संसदीय समितिको अनुगमन बैठक वा अन्य किसिमका भेला यस्तो बेला पूर्णरुपमा निषेध गर्नुपर्ने पाठ संक्रमणपछि सिकेको बताउँछन्।
'१४ गते अघिसम्म कोरोना संक्रमणको छनक केही पनि थिएन। १५ गते बिहानबाट मात्रै गाह्रो भएको थियो। मसँगै अनुगमनमा जानुभएका प्रवक्ता पाण्डेलाई पनि कोरोना पुष्टि भएकोप्रति ज्यादै दु:खी छु। संक्रमणको जोखिम बढेका बेला कुनै पनि बैठक वा भेला पूर्णरुपमा निषेध नै गर्नु पर्ने रहेछ,' यादवले भने।
घरमै आइसोलेसनमा बसेका कारण यादवलाई खानपानको कुनै पनि समस्या भएन। नरिवल पानी, मौसमको जुस, अण्डा लगायतका पौष्टिक खान्की उनले सहजै पाए। तर, सरकारी क्वारेन्टिनमा बसेकाहरुको खानपिन, बसाइ र सरसफाइ नाजुक रहेको समाचार आइरहेका छन्। यस्ता खबरबाट यादव पनि बेखबर भने छैनन्।
आइसोलेसनबाट निस्किएपछि उनी पर्साका क्वारेन्टिनको गुणस्तर सुधारमा केन्द्रित हुने बताउँछन्। 'कोरोना बिरामीलाई आवश्यक पर्ने पौष्टिक खाना र सरसफाइका लागि अब मेलै ध्यान केन्द्रित गर्नेछु। पर्साका क्वारेन्टिनलाई नमूना बनाउने अभियानमा क्रियाशील हुनेछु,' यादवले काठमाडौं प्रेससँग भने।
अब कहीँ कतै सेल्फी नखिच्ने उनको प्रण छ। 'अब भिडभाडमा कुनै हालतमा पनि सेल्फी खिच्दिनँ। सामाजिक दूरी तोड्ने र मास्क फुकाल्ने काम भुलेर पनि गर्दिँन,' यादवले भने।