पर्साकी प्याडवुमन मुन्नी, जो कोरोनासँगै अन्य संक्रमणबाट महिलालाई बचाइरहेकी छिन्
पर्सा, साउन २७ : गाउँमा कोरोनाको त्रास छ। अभिभावकहरु उनलाई घरबाट बाहिर नजान अनुरोध गर्छन्। तर,

पर्सा, साउन २७ : गाउँमा कोरोनाको त्रास छ। अभिभावकहरु उनलाई घरबाट बाहिर नजान अनुरोध गर्छन्। तर, मुन्नी गुप्ता आवश्यक सजगता अपनाउँदै गाउँ-गाउँ ढुल्छिन्। गाउँ जानुको उद्देश्य हो- महिलालाई सेनेटरी प्याड बनाउन सिकाउनु।
लकडाउनका कारण सेनेटरी प्याडको अभाव हुन थालेको र भाउ बढेपछि कतिपयले प्रयोग गर्न समेत छाडेकाले उनले घर-घरमा पुगेर प्याड बनाउन सिकाउन थालेकी हुन्।
'अहिले सेनेटरी प्याडको भाउ आकाशिएको छ। कतिपयले खरिद गर्न सक्दैनन्। यसको प्रयोग नगर्दा संक्रमणको जोखिम हुने भएकाले महिलालाई प्याड बनाउन सिकाइरहेको छु,' मुन्नीले भनिन्।
![]()
पुराना सफा कपडाको प्रयोगबाट मुन्नीले गाउँका महिलालाई प्याड बनाउन सिकाइरहेकी छिन्। मुन्नीले प्याड बनाउन सिकाएपछि धेरै फाइदा भएको अन्जली पटेलको अनुभव छ।
'लकडाउनका कारण प्याडको अभाव भएको थियो। मुन्नी दिदीले प्याड बनाउन सिकाएपछि अब प्याड किन्न पसल जानु नपर्ने भयो। पैसा पनि जोगियो, संक्रमणको जोखिम पनि हट्यो,' अन्जलीले आफ्नो अनुभव सुनाइन्।
कोरोना संक्रमणको जोखिम रहेपनि मुन्नीले आफ्नो अभियान छाडेकी छैनन्। प्याड बनाउने सीप सिकेपछि गाउँका महिलाहरुको अनुहारमा झल्किएको खुशीले उनलाई थप उर्जा दिएको छ। त्यसैले उनी निरन्तर यो काममा सक्रिय छिन्। वरपरका सात गाउँका महिलालाई प्याड बनाउन सिकाउने उनको योजना छ।
![]()
'गाउँका महिलाहरुको खुशीले मलाई उर्जा दिएको छ। आफ्नो गाउँका महिलालाई त प्याड बनाउन सिकाइसकेँ। अब नजिकका सात गाउँका महिलाहरुलाई पनि प्याड बनाउन सिकाउने मेरो लक्ष्य छ,'मुन्नी भन्छिन्,' कोरोनाको संक्रमण त कायमै छ। प्याड नभएर महिलाहरुले अन्य संक्रमण भोग्नु नपरोस्। मेरो चाहना यत्ति हो।'
गाउँ-गाउँ पुगेर उनले कोरोनाबारे पनि सचेतना फैलाइरहेकी छिन्। मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न र साबुन पानीले हात धुन मुन्नीले सिकाउँछिन्।
यस्तै, उनले बालबालिकाको अध्ययनमा समेत सहयोग गरिरहेकी हुन्छिन्। 'कोरोनाका कारण विद्यालय बन्द छ। नानीबाबुहरुले पढ्न पाएका छैनन्। घर वरिपरिका भाइबहिनीलाई अध्ययनमा पनि सहयोग गरिरहेको छु,' मुन्नीले भनिन्।
![]()
मुन्नीसँगै यो अभियानमा जोया पनि सक्रिय छिन्। युवतीमा महिनावारी स्वास्थ्यको ज्ञान भएपनि प्याड महँगो भएकाले प्रयोग गर्न छाडेको उनको भनाइ छ। प्याड बनाउन सिकाएपछि युवतीहरु समेत उत्साहित भएको उनले बताइन्।
'आफ्नो स्वास्थ्यबारे उनीहरु त सचेत नै थिए। तर, पैसा अभावका कारण प्याड प्रयोग गर्न नपाएको बाध्यता थियो। अब त आफैँ बनाउन सिकेपछि युवतीहरु उत्साहित छन्,' जोयाले खुशी व्यक्त गरिन्।
मुन्नी र जोयाले प्याड बनाउने सीप करिब ५ सय जनालाई सिकाएका छन्। कोरोना संक्रमणसँगसँगै अन्य संक्रमणबाट महिला तथा युवतीहरुलाई जोगाउने अभियानमा क्रियाशील हुन पाउँदा खुशी महसुस हुने मुन्नी र जोयाको भनाइ छ।
![]()
उनीहरुलाई भीएसओ नामक संस्थाले पनि सहयोग गरिरहेको छ। 'हामीले सीप सिकाउँदा युवती तथा महिलाहरुले प्याड प्रयोग गर्न नपाउने बाध्यताबाट त मुक्ति पाएका छन्। यसबाट हामी निकै खुशी छौँ,' उनीहरुले भने।
![]()
![]()
![]()
-इनडिपेन्डेन्ट न्यूजबाट अनुवादित











