‘नेपालको अयोध्यामा राम मन्दिरको उद्घाटन भएरै छाड्छ’
काठमाडौं, साउन २६ : चितवनको कुसुम खोलामा रहेको चेपाङ वस्तीमा आगजनीका कारण चेपाङहरू घरबारब
काठमाडौं, साउन २६ : चितवनको कुसुम खोलामा रहेको चेपाङ वस्तीमा आगजनीका कारण चेपाङहरू घरबारबिहीन भएपछि माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चाहन्थे।
उनले निकै अघिदेखि चेपाङका समस्या समाधानका लागि प्रधानमन्त्री ओलीसँग भेट्न चाहिरहेका थिए। तर, समय पाएका थिएनन्। गत बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा राम मन्दिर निर्माणको शिलान्यास गरेपछि नगरप्रमुख ढकालले प्रधानमन्त्रीसँग भेटका लागि समय पाए। उनलाई शनिबार बालुवाटारमा बोलावट भयो। दुई घण्टाको छलफलमा जलाइएका चेपाङका घर बनाउने विषयमा कम, राम मन्दिर निर्माणका विषयमा बढी कुराकानी भयो।
चेपाङको घर आगजनी गर्नेमाथि कारबाहीको आश्वासन दिएका प्रधानमन्त्री ओलीले उनीहरुलाई राम मन्दिरका विषयमा कडा निर्देशन दिए-०७८ सालको रामनवमीमा अयोध्यामा ठूलो राम मन्दिरको उद्घाटन हुनुपर्छ। त्यसका लागि तयारी गर्नुस्।
प्रधानमन्त्री ओलीले अयोध्यापुरीलाई रामधामकै रुपमा विकास गर्न गुरूयोजना तयार गर्न र मन्दिर बनाउनका लागि डीपीआर तयार पार्न ढकाललाई निर्देशन दिएका छन्। असार २९ गते भानुजयन्तीका अवसरमा रामको जन्मभूमि नेपाल रहेको दाबी गरेका प्रधानमन्त्री ओलीले फेरि त्यही कुरा दोहोर्याएका छन्।
उनले छलफलका क्रममा केही रोचक कुरा अघि सुनाए। प्रधानमन्त्री ओलीले भेटघाटका क्रममा माडी नगरपालिकाका सदस्यहरुलाई प्रश्न गरेका थिए-'धर्मग्रन्थमा व्याख्या गरे अनुसार रामले दिनदिनै नुहाउने ठाउँ हो पर्शुराम कुण्ड। त्यो माडी नगरपालिकामै अवस्थित छ। भारतको अयोध्यादेखि नुहाउन राम त्यहाँ दिनदिनै आइपुग्नु भएन होला त?'
प्रधानमन्त्रीको प्रश्न सुनेर आफूहरु नाजवाफ भएको मेयर ढकाल बताउँछन्। 'प्रधानमन्त्रीले धर्मशास्त्रीय ढंगबाट र पुरातात्विक ढंगबाट विभिन्न प्रश्न उठाउनुभयो। बाल्मिकी आश्रम, सीता गुफा, पर्शुराम कुण्ड लगायतको दृष्टान्त दिँदै दुई घण्टासम्म छलफल गर्नुभयो। प्रधानमन्त्रीको तर्कका अगाडि हामी नाजवाफ भयौँ,' ढकालले भने।
प्रधानमन्त्री ओलीले भारतको अयोध्या रामको जन्मभूमि नभएको प्रशस्त आधार र कारण रहेको बताएका थिए। भारतको सर्वोच्च अदालतले विवादास्पद विषयको फैसला गरेर राम मन्दिर निर्माणको सुरुवात भएपनि त्यो वास्तविक जन्मभूमि नरहेको ओलीको भनाइ रहेको ढकालले जानकारी दिए।
'भारतको सर्वोच्च अदालतले फैसला गरेपनि अयोध्या अझै पनि विवादास्पद नै छ। त्यसमा उत्खनन् गर्दा रामकालीन भन्दा पनि बौद्धकालीन सामग्री भेटिएका छन्। त्यसैले रामको जन्मभूमि त्यो अयोध्या होइन,'प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ढकालले काठमाडौंप्रेससँग भने।
प्रधानमन्त्री ओलीले मन्दिर निर्माणका लागि निर्देशन दिएपनि मन्दिर बनाउन भने व्यहारिक कठिनाइ देखिएको छ। अहिले अवस्थित जग्गा सामुदायिक वनमा परेको छ। यो समस्या प्रस्तुत गर्दा प्रधानमन्त्री ओलीले जग्गा र पैसाको विषयमा कुनै चिन्ता नलिन र पुरातत्व विभागसँग समन्वय गरी कामको थालनी गर्न निर्देशन दिए।
'मन्दिर बनाउने कुरा पैसा र जग्गाका कारणले रोकिँदैन जग्गा मिलाउन सरोकारवाला निकायसँग म छलफल गर्छु। पैसा केन्द्रबाटै प्राप्त हुन्छ प्रधानमन्त्रीले भने,'तपाईंहरु ऐतिहासिक कुरामा असर नपर्ने गरी पुरातत्व विभागसँग समन्वय गरेर कामको थालनी गर्नुस्।'
प्रधानमन्त्रीको निर्देशनसँगै माडी नगरपालिकाले चरणबद्ध रुपमा कामको थालनी गर्ने भएको छ। सुरुमा नगरपालिकाले जानकारहरुसँग परामर्श गर्न थालेको छ। नगरपालिकाले संस्कृतिविद् जगमान गुरुङ, प्रधानमन्त्री ओलीलाई ठोरीको अयोध्याको विषयमा तथ्य दिएका लोकमणि पौडेलसँग छलफल गर्ने बताएको छ।
यस्तै, पुरातत्व विभागसँग आवश्यक समन्वयका लागि टोली गठन गर्ने र डीपीआरको थालनी गर्ने तयारी नगरपालिकाले गरेको मेयर ढकालले जानकारी दिए। 'सोमबार बैठक गरेर सरोकारवाला नियकाहरुसँग छलफल र समन्वयका लागि हामी टोली गठन गर्नेछौँ। प्रधानमन्त्रीले दिनुभएको समयावधिभित्रै काम सक्ने गरी हामी काम गर्छौँ,' उनले भने।
रामको जन्मभूमि ठोरीको अयोध्या रहेको प्रधानमन्त्रीको अभिव्यक्तिको नेकपाभित्रै विरोध भएको छ। यस्तै, यसले नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा समेत असर पुर्याउने र कूटनीति समेत प्रभावित हुने भन्दै आलोचना भइरहेको छ। तर, ठोरीको अयोध्याबारे प्रधानमन्त्रीको चासो र राम मन्दिर बनाउन दिएको निर्देशनपछि माडीबासी निकै उत्साहित बनेको मेयर ढकालले बताए।
'बाहिर विरोध भएको होला। तर स्थानीयबासी प्रधानमन्त्रीको चासो र मन्दिर बनाउन निर्देशन दिएका कारणले निकै हर्षित छन्,' उनले भने।
कसैले विरोध जनाएपनि अब राम मन्दिर निर्माण नरोकिने ढकालको भनाइ छ। २०७८ सालको राम नवमीमा साविकको अयोध्यापुरीमा राम, लक्ष्मण र सीताको भव्य मूर्तिसहित मन्दिर बन्ने ढकालको दाबी छ।
'२०७८ सालको रामनवमीमा अनावरण हुने गरी भव्य मन्दिर यही बन्छ। भव्य पूजापाठ गरी प्रसाद वितरण हुन्छ,' अन्तिममा जयश्री राम भन्दै ढकालले संवाद टुंग्याए।