नेकपामा भेटघाट बन्द, कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित
काठमाडौं, साउन २४ : कोरोना भाइरसको संक्रमण बढेसँगै राजनीतिमा पनि त्यसको प्रभाव देखिन थालेको छ।

काठमाडौं, साउन २४ : कोरोना भाइरसको संक्रमण बढेसँगै राजनीतिमा पनि त्यसको प्रभाव देखिन थालेको छ।
विवाद समाधानका लागि वार्ता र संवादमा जुट्नु पर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको भेटघाट बन्द भएको छ भने महाधिवेशनको तयारीमा लागेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको काम अलपत्र परेको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले भेटघाट तथा छलफल केही समयका लागि स्थगित गरेका छन्।
प्रधामन्त्री तथा नेकपा अध्यक्ष ओली कोरोनाबाट संक्रमित प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवको क्लोज कन्ट्याक्टमा आएपछि कोरोना परीक्षण गरेका थिए। उनको रिपोर्ट नेगेटिभ आएको थियो।
यस्तै, अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटिएका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि उनले पनि कोरोना परीक्षण गराएका थिए। प्रचण्डको पनि रिपोर्ट नेगेटिभ पाइएको छ। नेकपाका दुवै अध्यक्षले अहिले राजनीतिक भेटघाटलाई स्थगित गरेको उनीहरुको सचिवालयले जनाएको छ।
यता वरिष्ठ नेता खनाल पनि निवास बाहिर निस्कन तथा निवासमा हुने राजनीतिक भेटघाट दुवैलाई स्थगित गरेका छन्। यस्तै, वरिष्ठ नेता नेपाल पनि उच्च सतर्कतासहित निवासमै बसिरहेको उनको सचिवालयले जनाएको छ।
कोरोना रिपोर्ट नेगेटिभ आएपनि अहिले वार्ता तथा संवादका लागि उपयुक्त वातावरण नरहेको वरिष्ठ नेता झलनाथ खनाल बताउँछन्।
'पार्टीको विवाद समाधानका बैठक संक्रमणको जोखिमलाई ध्यानमा राखेर केही दिन रोकिएको हो। पूर्णरुपमा स्थगित भएको वा संवादहिनताको अवस्थामा पुगेको भने होइन,' खनालले काठमाडौंप्रेससँग भने।
अध्यक्षद्वय ओली र प्रचण्डको बिहीबार तय भएको भेटघाट समेत कोरोनाको जोखिमलाई देखाउँदै स्थगित भएको थियो। यस्तै, शुक्रबार प्रचण्ड-माधव समूहका नेताहरुले सम्पादहरुसँगको छलफल पनि स्थगित गरेका थिए।
नेकपाभित्रको विवाद समाधानका लागि सचिवालय र स्थायी कमिटी निष्प्रभावी रहेकाले १ सय ५२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरी केन्द्रीय कमिटीको बैठक माग गरेका थिए। अध्यक्ष ओलीले कोरोना संक्रमणको जोखिम बढेकाले ४ सय ५० जनाको भेला गर्न नसकिने जवाफ दिइसकेका छन्।
'सरकारले २५ जना भन्दा बढी भेला नहुने भनेको छ। साथीहरु ४ सय ५० जनाको भेला आजै चाहियो भोलि नै चाहियो भनिरहेका छन्। अहिले बैठक बस्न सम्भव छैन,' ओलीले भनेका थिए।
साउन ७ गतेबाट लकडाउन हटेपछि सुरक्षा निकायमा संक्रमण फैलिएको छ। प्रदेशका मन्त्री, संघीय सांसद तथा उच्च तहका सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिएका छन्। कोरोना संक्रमणका कारण महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा पनि यसको असर देखिएको छ।
क्रियाशील सदस्यता नवीकरण तथा वितरण जारी राखेको कांग्रेसको कार्यतालिका प्रभावित हुने देखिएको छ। कार्यतालिका अनुसार साउन मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण सक्नुपर्ने भएपनि त्यसलाई तीव्रता दिन कांग्रेसले सकेको छैन।
झन्डै पाँच लाख क्रियाशील सदस्यता रहेको कांग्रेसमा त्यसलाई दोब्बर पार्ने निर्णय पनि भएको छ। 'साउन मसान्तसम्म क्रियाशील सदस्यताको नवीकरण तथा वितरण टुंगो लगाउने भनिएको थियो। यसका लागि भेला बैठक गर्नुपर्ने भएकले संक्रमणको जोखिमका कारण केही समय स्थगित हुन सक्छ। यसको समय थप हुनसक्छ,'केन्द्रीय सदस्य गुरुराज घिमिरले भने।
संक्रमणको जोखिम बढेसँगै कांग्रेसका शीर्ष नेताहरुले आफ्नो भेटघाट शैली परिमार्जन गर्न थालेको उनका सहयोगी भानु देउवाले बताए। पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा आएकालाई दूरी कायम गरी भेट गर्न थालेका छन्।
संक्रमणको जोखिम बढेसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल सम्पर्क कार्यालय जान छाडेको उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए।











