६६ जना कोरोना संक्रमित आईसीयूमा, तीन जना भेन्टिलेटरमा
काठमाडौं, साउन २३ : नेपालमा लक्षणसहितका कोरोना संक्रमित थपिन थालेका छन्।
पछिल्ला केह

काठमाडौं, साउन २३ : नेपालमा लक्षणसहितका कोरोना संक्रमित थपिन थालेका छन्।
पछिल्ला केही साता देखि संक्रमितको उपचार आईसीयू र भेन्टिलेटरमा राखेर गर्नुपर्ने अवस्था आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार अहिले देशरभका ६६ जना संक्रमित आईसीयूमा रहेका छन्। तीमध्ये तीन जना भेन्टिलेटरमा छन्।
पहिलो चरणमा देखिएका संक्रमितहरु विदेशबाट फर्किएका रहेपछि पछिल्लो समय समुदायस्तरमा समेत संक्रमण देखिएको गौतमको भनाइ छ। ‘पहिलो संक्रमणको चरणमा अधिकांश विदेशबाट फर्किएका व्यक्तिहरुमा देखिएको थियो। लकडाउन खुलेसँगै समुदायस्तरमा समेत संक्रमण देखिन थालेको छ,’ गौतमले भने।
उपत्यकामा समेत केही दिन यता संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार मात्रै उपत्यकामा १०६ मा संक्रमण पुष्टि भएको छ। मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये बहुसंख्यक ७५ प्रतिशत भन्दा बढी २१ देखि ६० वर्ष उमेर समूहका छन्। ६० वर्ष भन्दा माथिको उमेर समूहका संक्रमित २.१ प्रतिशत मात्रै छन्।
संक्रमितमध्ये ४ प्रतिशत १० वर्षभन्दा मुनिका बालबालिका रहेको गौतमले बताए। शुक्रबारसम्म नेपालमा २२ हजार २१४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १४ हजार ८१४ जना निको भएर घर फर्किएका छन्। हालसम्म कोरोना संक्रमणका कारण ७० जनाले ज्यान गुमाएका छन्। जुन कुल संक्रमितमध्ये ०.३ प्रतिशत हो।
‘कुल संक्रमितको संख्या हेर्ने हो भने यो ज्यादै न्यून हो। तर, विगत केही दिन यता मृत्युदर बढ्दो क्रममा छ,’ गौतमले भने। लक्षणसहित संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले थप २४० आईसीयू थप्ने तयारी गरेको गौतमले जानकारी दिए।











