Kathmandu Press

बिच्किएका प्रचण्डलाई फकाउँदै ओली पक्ष

काठमाडौं, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग चिढिएका अध्यक्ष पुष

बिच्किएका प्रचण्डलाई फकाउँदै ओली पक्ष
फाइल

काठमाडौं, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग चिढिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन ओली पक्ष सक्रिय बनेको छ।

प्रचण्डलाई फकाउन आफ्ना पक्षका नेतासँगै पूर्वमाओवादी समूहकै नेताहरुलाई ओली पक्षले खटाइरहेको छ। अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरेरै सरकारी नियुक्ति, स्थायी कमिटी बैठक टार्ने रणनीति र केन्द्रीय कमिटी बैठक नराख्ने ओलीको मनस्थितिका कारण निकै चिढिएका छन्।

बुधबार राजधानीमा पत्रकार भेला आयोजना गर्दै अध्यक्ष प्रचण्डले ओलीप्रति आक्रोश व्यक्त गरेका थिए। उनले ओलीलाई सच्याउने प्रयास असफल भएकाले पार्टीले विभाजनको खराब अवस्थाको सामना गर्न पनि कार्यकर्ता तयार रहनुपर्ने अभिव्यक्ति दिएका थिए। 

प्रचण्डले ओलीले निषेधात्मक राजनीति गरेको आरोप लगाउँदै उनकै कारण पार्टीले विभाजन व्यहोर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए। 'मैले गरेका निर्णयहरु उल्ट्याउने, मसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भयो। निषेधात्मक सोच र अरुलाई अपमानित गर्दा आनन्द मान्ने प्रवृत्ति थियो,' प्रचण्डले भने,'राम्रोभन्दा राम्रो परिस्थिति तयार गर्न हामी लाग्नुपर्छ। हामी कम्युनिष्टहरू खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार चाहिँ हुनुपर्छ।'

उनको आक्रोशपूर्ण अभिव्यक्तिपछि बिहीबारका लागि तय भएको दुई अध्यक्षबीचको छलफल अनिश्चित भयो। प्रचण्डको मुड बुझ्न बिहीबार बिहानै अध्यक्ष ओलीले नेता सुवासचन्द्र नेम्वाङलाई खुमलटार पठाएका थिए। खुमलटारमा प्रचण्ड र नेम्वाङबीच आधा घण्टा छलफल भएको  थियो।

छलफलपछि प्रचण्डको मुड सकारात्मक पाएको नेम्वाङले जानकारी दिए। 'हिजो आक्रोशपूर्ण अभिव्यक्ति दिएपनि उहाँसँग कुराकानी गर्दा पार्टी एकता बचाउने सवालमा सकरात्मक पाएँ,' नेम्वाङले भने।

खुमलटारमा अध्यक्ष प्रचण्डले नेम्वाङलाई पार्टी विवाद समाधानका लागि भूमिका निर्वाह गर्न सक्ने नेता भएकाले त्यसका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। 'तपाईंले विवाद मिलाउन सक्नुहुन्छ। विवाद मिलाउन सक्रिय हुनुहोस्,' प्रचण्डको भनाइ उदृत गर्दै नेम्वाङले भने।

ओली पक्षले आफ्नो पक्षका नेतामात्रै होइन पूर्वमाओवादी समूहका नेताहरुलाई समेत पठाएर प्रचण्डलाई मनाउने कोशिश निरन्तर गरिरहेको छ। अध्यक्ष ओलीले नेता रामबहादुर थापा बादल, जनार्दन शर्मा, हरिबोल गजुरेल, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, चक्रपाणी खनालसहितका सात नेतासँग पटक-पटक परामर्श गरी प्रचण्डलाई सहमतिमा ल्याउन पहल गर्न आग्रह गरेका थिए। 

ओलीको आग्रह अनुसार नै उनीहरुले तीन पटक खुमलटारमा प्रचण्डसँग भेटघाट गरिसकेका छन्। 'दुई अध्यक्षबीचको सहमतिविना केही हुन नसक्ने भएकाले प्रचण्डजीसँग सहमति कायम गर्नुपर्ने अवस्था छ। त्यसका लागि वातावरण निर्माण गर्न तपाईंहरु पनि लाग्नुस्,' ओलीको आग्रहबारे नेता हरिबोल गजुरेलले भने।
 
प्रचण्डलाई मिल्न दबाब

प्रचण्डलाई ओलीसँग मिल्न दबाब परिरहेको छ। उनलाई आफ्नै समूहले पनि अहिले माधव नेपाल पक्षसँग गठबन्धन गरी ओलीसँग नटाढिन पटक-पटक आग्रह गरेका छन्।

अध्यक्ष प्रचण्डलाई ओलीसँग मिल्न निकट नेता रामबहादुर थापा, जनादर्न शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, लेखराज भट्ट र मणि थापाले सल्लाह दिइरहेका छन्। नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डसँग एकल भेट गरी अध्यक्षबाट राजीनामा दिन समेत आग्रह गरिसकेका छन्। 

प्रचण्ड-नेपाल समूहमा रहँदै आएका पार्टी उपाध्यक्ष बामदेव गौतमले गत साउन १३ गते ६ बुँदे प्रस्ताव अघि सार्दै मझधारमा बस्ने संकेत गरे। मंगलबार भैँसेपाटी पुगेका प्रचण्डलाई गौतमले ६ बुँदे प्रस्ताव अनुसार नै अघि बढ्न सुझाव दिए। आफू कुनै पनि गुटमा नरहने सन्देश गौतमले प्रचण्डलाई दिएका थिए। 

यता सचिवालय सदस्य रामबहादुर थापाले गत साउन १५ गते आफू निकट नेताहरुलाई बोलाएर भेला गरे। उक्त छलफलमा ओलीलाई हटाउँदा प्रतिगमनको खतरा हुने बताउँदै दुई अध्यक्षबीच सहमति कायम गर्नै पर्ने ब्रिफिङ गरेका थिए। सचिवालयमा नेता गौतम र थापाले साथ नदिएको अवस्थामा प्रचण्ड-माधव समूह अल्पमतमा पर्नेछन्। 

दुई अध्यक्ष मिल्न प्रचण्डमाथि दबाब परेपनि उनले ओलीलाई सच्याउने पहल असफल भएको बताइसकेका छन्। सोमबार र मंगलबार छलफलमा बसेका प्रचण्ड र ओलीबीच कुनै सहमति जुट्न सकेको छैन। प्रचण्डले स्थायी कमिटी माग गर्दा ओलीले सचिवालयको बैठकबाटै ‍विवाद समाधान गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए।

मंगलबारको छलफलमा लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेको विषयमा विवाद भएको थियो। बुधबार प्रचण्डको अभिव्यक्तिले बिहीबार छलफल हुन सकेको छैन।
 

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्