‘संरचनागत दोहोरो पितृसत्ताको मारमा दलित महिला’
-लैङ्गिक समानताका दृष्टिकोणबाट दलित महिलाहरुको अवस्था तपाईंले कस्तो पाउनुभएको छ?
विश्वमै ल

-लैङ्गिक समानताका दृष्टिकोणबाट दलित महिलाहरुको अवस्था तपाईंले कस्तो पाउनुभएको छ?
विश्वमै लैङ्गिक समानताको पूर्ण कार्यान्वयनका लागि एक सय वर्ष लाग्ने स्तब्धपूर्ण अध्ययन त सार्वजनिक भइसकेको छ। यस्तो अवस्थामा दलित तथा सीमान्तकृत समुदायका महिलाहरुको प्रतिनिधित्व समानताको आशय अनुसार हुनका लागि त अर्को सय वर्ष लाग्न सक्छ। यस्तो अवस्थामा हामी कसरी आइपुग्यौँ भन्ने बुझ्नका लागि हामीले विगतका पृष्ठभूमि हेर्न जरुरी छ।
लैङ्गिक विभेदका कारण महिलाहरु शदियौँदेखि पिछडिएकै थिए। अझ जात र वर्गका आधारमा हुने विभेदका कारण स्वभाविक रुपमा दलित समुदायका मानिसहरु त पछि पर्ने नै भए। दलित महिलाहरु पिछडिनुका कारण शिक्षामा राम्रो पहुँच नपाउनु र शिक्षित भए पनि रोजगारीमा पहुँच नहुनु हो। यो अवस्था सुधार नभएसम्म दलित महिलाले लैङ्गिक समानताको अनुभूति गर्न पाउने छैनन्।
-दलित समुदायका महिलाहरुले लैङ्गिक समानताको महशुस गर्न नपाउनुका कारण के-के हुन् ?
दलित समुदायका महिलाहरुलाई पहिलेदेखि नै शिक्षामा सहज पहुँच दिइएको थिएन। जब दलित समुदायका महिलाहरुले आवश्यकता महशुस गरेर माग गर्न थाले, उनीहरुमाथि हिंसाका घटना हुन थाल्यो। कुटपिट तथा बलात्कार जस्ता कु-कृत्य अपराधका शिकार दलित महिलाहरु भए। भारतमा पाँच वर्षयताको अवधिमा दलित महिलामाथि १ लाख ४५ हजार घटना प्रतिवर्ष दर्ता भएका छन्। जसमध्ये ५ हजार बलात्कारका घटना छन्। यो तथ्यांकलाई हेर्दा प्रतिदिन पाँच जना दलित महिला बलात्कृत भएको देखिन्छ। यो निकै स्तब्धपूर्ण अवस्था हो। यस्तो अवस्था अन्त्य नभएसम्म दलित महिलाहरुले समानता महशुस गर्छन् भन्ने कुरा कल्पना गर्न पनि सकिँदैन।
-महिलाहरुलाई नियाल्ने समरुपी दृष्टिकोणले दलित महिलाको अवस्था प्रभावकारी रुपमा उजागर हुन नसकेको हो ? तपाईंको अनुभूति के छ?
अन्तर्राष्ट्रिय स्तरमा महिलाहरुको अवस्थाको कुरा गर्दा समरुपमा कुराकानी गरिन्छ। सबै महिलाहरुको अनुभूति समान नहुने भएकाले महिलाहरुको समरुपी व्याख्या न्यायोचित हुँदैन। भारतको नारीवादी अभियानको कुरा गर्ने हो भने दलित महिलाको अनुहार त्यहाँ देख्न पाइँदैन। पाँच दशकदेखिको नारीवादी आन्दोलनको चर्चा हुने भारतमा त्यस आन्दोलनमा दलित महिलाको सहभागिता किन देख्न पाइँदैन? के दलित महिलाको प्रतिनिधित्व हुन जरुरी छैन?
जातीय व्यवस्थामा माथिल्लो जातमा पर्ने महिलाहरुले त वर्ग जात र लिङ्गसँग बहस गरिरहनु पर्दैन? दलित महिलाहरुले त त्यसको सामना गर्नुपर्छ। दुःखको कुरा के छ भने नारीवादी आन्दोलनको नेतृत्व गर्ने समूहले नै दलित महिलाहरुमाथि विभेद गरिरहेका हुन्छन्। त्यसैले त्यो आन्दोलनमा सहभागी गराउने चाहना राख्दैनन्। दलित महिलाहरुलाई धर्ना तथा जुलुसमा मुखडामात्रै बनाइन्छ। तर, नारीवादी आन्दोलनको नेतृत्वमा उनीहरुलाई पहुँच दिइँदैन। अब हामीले प्रश्न गर्न सक्नुपर्छ हामी धर्ना र जुलुसको लागि मात्रै होइन नेतृत्वको लागि पनि समक्षम छौं। हामीलाई अवसर किन दिँदैनौ?
-जात र वर्गका आधारमा हुने घटनालाई न्यूनीकरण गर्न अन्तरजातीय विवाह एउटा उपाय हो भनिन्छ, यसमा तपाईंको मत के छ?
अन्तरजातीय विवाह नै पूर्ण समाधान होइन तर यस्ता समस्या निराकरण गर्ने एउटा उपाय भने हो। विवाहलाई पारिवारिक प्रतिष्ठासँग जोड्ने, पुरातनवादी संस्कारले अन्तरजातीय विवाहलाई सहजै स्वीकार गर्दैन। अन्तरजातीय विवाह गरेका दलित महिला वा पुरुष दुवैले हिंसा ब्यहोर्नु पर्ने दुःखद अवस्था छ। एक-दुई जनाले विवाह गर्दा समाजनै उत्रेर निकृष्ट व्यवहार प्रस्तुत गर्छन्। त्यस्ता निकृष्ट व्यवहार परिवर्तन गर्नका लागि अन्तरजातीय विवाहलाई अझै प्रोत्साहन गर्नुपर्ने अवस्था छ।
सबैले आफ्ना जीवनसाथी सहजताका साथ चयन गर्न पाउनुपर्छ। कुनै प्रभाव वा दबाबमा आएर आफ्नो प्रेमलाई अन्त्य गर्नुपर्ने अवस्था समाजमा सिर्जना हुनुहुँदैन। नयाँ पुस्ताले जातको प्रतिष्ठालाई अघि सार्ने कु-संस्कारको प्रतिवाद गर्न सके भने अन्तरजातीय विवाह बढ्नेछ। यो समस्या समाधानका लागि एउटा उपाय हो। तर, सम्पूर्ण समस्याको समाधान अन्तरजातीय विवाह नै हो भन्ने चाहिँ होइन।
-गैरदलित मानिसहरुले दलितका समस्या समाधानका लागि कसरी कस्तो भूमिका निर्वाह गर्न सक्छन्?
सीमान्तकृत तथा दलित समुदायका हक हितका लागि काम गर्ने भनेर दर्ता भएका संघसंस्था हेर्ने हो भने गैरदलितहरुले नै प्रतिनिधित्व गर्ने संस्था धेरै छन्। तिनीहरुले सही ढंगले दलित समुदायका हकहित र अधिकारका लागि काम गरेका भए दलितहरुको समस्या निराकरण भइसक्ने थियो। ती संस्थाहरुले इमान्दारितापूर्वक काम गर्ने हो भने हाम्रा अधिकार प्राप्तिका लागि धेरै हदसम्म सुधार हुनेछ।
हाम्रा अधिकार प्राप्तिको लडाइँमा गैरदलित समुदायका मानिसहरुको पनि ऐक्यबद्धता आवश्यक छ। उनीहरुकै पुरातनवादी मानसिकताका कारण दलित समुदायका मानिसहरु पीडित भएका हुन्। त्यस्तो मानसिकता हटाउनका लागि गैरदलित समुदायकै मानिसहरुले अग्रसरता लिनुपर्छ। दलित समुदायका मानिसहरुको अधिकार प्राप्तिको आवाज उठाउन दलितलाई नै दिनुपर्छ। तर, त्यस्तो आन्दोलन र समाजमा व्याप्त कुरीतिप्रति लड्न गैरदलितको भूमिका पनि जरुरी छ।
-बाहुन पितृसत्ता र दलित पितृसत्ताको चपेटामा महिलाहरु कसरी परेका छन्?
दलित महिलाहरु दुवै पितृसत्ताका कारण पीडित छन्। बाहुन पितृसत्ताका कारण उनीहरु यौनशोषणमा पर्ने गरेका छन्। दलित पितृसत्ताका कारण घरेलु हिंसा खेप्न बाध्य छन्। दलित महिलाहरु दुवै पितृसत्ताबाट प्रताडित भएकाले दुवैविरुद्ध लड्न जरुरी छ। महिलाको अधिकारबारे सचेतना जगाउँदै, पितृसत्ताबाट प्रताडित अवस्थामा कसरी कानूनी प्रतिवाद गर्ने भन्ने कुरा सिकाउन जरुरी छ। पितृसत्ताको त्रासका कारण महिलामाथि हुने गरेका हिंसा र शोषणका घटना बाहिर आइरहेका हुँदैनन्। त्यसलाई निरुत्साहित गर्न अब ढिलाइ गर्नु हुँदैन। पितृसत्ताविरुद्धको प्रतिरोध सशक्त रुपमा अघि बढाउनुपर्छ।
-जात वर्ग र लिङ्गका आधारमा हुने भेदभावबाट दलित महिलाहरु निकै पीडित छन्। यस्ता गतिविधि रोक्न राज्यको भूमिका कस्तो हुनुपर्छ?
यस्ता भेदभाव रोक्न राज्यसँग प्रशस्तै कानूनहरु छन्। तिनीहरुको कार्यान्वयनको प्रभावकारी रुपमा भयो भने भात्रै भेदभाव रोक्न सकिन्छ। अहिलेको समस्या के हो भने जात र वर्गको अभ्यासले उपल्लो वर्गका मानिसहरुलाई घमण्डी बनाइरहेको छ। दण्डहिनताका कारण उनीहरु कानूनसँग पनि डराउँदैनन्। पहिला हामीले मानसिकतामा परिवर्तन गर्न जरुरी छ। त्यसपछि कानूनको प्रभावकारितामा जोड दिनुपर्छ। राज्यले कानून त बनाएको छ तर त्यसको कार्यान्वयनको दायित्वबाट पन्छिएन भने विभेदका घटना निर्मुल पार्न त समय लाग्छ। तर, त्यस्ता घटनाको संख्या न्यूनीकरण भने अवश्य हुन्छ।
-तपाईं आफूले पनि १० वर्षअघि मात्रै आफ्नो जात थाहा पाउनुभएको थियो। आफ्नो जात थाहा पाएपछि तपाईंको अनुभूति कस्तो रह्यो?
मेरो घरमा जात र वर्गको बहस हुँदैन्थ्यो। मलाई भने मेरो जात के हो भन्ने खुलदुली भई नै रह्यो। त्यसपछि मैले बुवाआमासँग सोध्दा म समाजले दलितका रुपमा परिभाषित गर्ने जातको रहेछु भन्ने पत्ता लाग्यो। मेरो आमाबुवाले जातको कारणले खेप्नुपर्ने तनाव छोराछोरीले भोग्नु नपरोस् भनेर वास्तविक पहिचान खुलाउन चाहानुभएको रहेनछ। जब मैले आफ्नो जात थाहा पाएँ त्यसपछि मेरो जिन्दगी र समाजप्रतिको दृष्टिकोण परिवर्तन भयो।
मेरो पहिचानसँगै मैले मेरो वंशले जातीय पहिचान खुलाउँदा व्यहोर्नु परेका विभेदबारे चाल पाएँ। त्यसपछि आफ्नो पहिचान खुलाएरै छुवाछूत तथा जातीय विभेदका घटनाप्रति लड्न मलाई प्रेरणा मिल्यो। मेरो पहिचान खुलेसँगै अझ सशक्त रुपमा म जातीय विभेदविरुद्ध आवाज उठाउने अभियानमा सक्रिय छु। दलित महिलाहरुलाई लैङ्गिक समानताको अनुभूति गराउनका लागि लडिरहेको छु।
-दलित अधिकारकर्मीका रुपमा काम गर्दा तपाईंले के-कस्ता चुनौती व्यहोर्नुपर्यो?
वित्तीय व्यवस्थापन र मानवअधिकारमा मेरो विज्ञता छ। सभा-सम्मलेनमा सहभागी हुँदा जातकै कारणले मेरो विज्ञतामाथि प्रश्न उठाउने काम हुन्थ्यो। म एकल महिला पनि भएकाले मेरो चरित्रमा पनि मानिसहरु प्रश्न उठाउँथे। म सही मार्गमा थिएँ, त्यसैले म त्यस्ता गतिविधिबाट निरुत्साहित भइनँ। दलित समुदायका महिलाहरुको हकअधिकारका लागि निरन्तर अभियानमा संलग्न भएँ।
हाम्रो अभियानका कारण राज्यको नीतिमा भएका परिवर्तन, थोरै भएपनि मानिसमा जातीय विभेदविरुद्ध पलाएका चेतनाका कारणले मलाई सन्तुष्टि प्राप्त हुन्छ। चुनौतीहरु निश्चय पनि आउँछन्। त्यसलाई पन्छ्याउँदै मेरो मूल अभियानमा म सक्रिय छु।
(दलित लाइभ्स म्याटर नेपालमा समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले दलित मानव अधिकार राष्ट्रिय अभियान भारतकी महासचिव बिना जे पालिकलसँग गरेको काष्ट कन्भरसेशन सिरिजको अन्तर्वार्ता)











