काठमाडाैं, साउन १७ : सहमतिमा स्थायी कमिटीको बैठ" />काठमाडाैं, साउन १७ : सहमतिमा स्थायी कमिटीको बैठ" />काठमाडाैं, साउन १७ : सहमतिमा स्थायी कमिटीको बैठ">
Kathmandu Press

ओली-प्रचण्ड सम्वाद ठप्प, बालुवाटारको प्रस्ताव कुर्दै प्रचण्ड

काठमाडाैं, साउन १७ : सहमतिमा स्थायी कमिटीको बैठ

ओली-प्रचण्ड सम्वाद ठप्प, बालुवाटारको प्रस्ताव कुर्दै प्रचण्ड
फाइल

काठमाडाैं, साउन १७ : सहमतिमा स्थायी कमिटीको बैठक तोक्ने जिम्मेवारी दुई अध्यक्षलाई दिएपनि अध्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साउन १३ गते यता संवाद हुन सकेको छैन। 

दुई अध्यक्षबीच संवादहिनताको अवस्था अन्त्यका लागि दोस्रो तहका नेताहरु सक्रिय छन्। अध्यक्ष प्रचण्डले दोस्रो तहका नेताहरुलाई समाधानको प्रस्तावसहित ओली उपस्थित भएमात्रै संवादका लागि तयार हुने जवाफ दिएका छन्। 

बालुवाटारमा बहुमत स्थायी कमिटी सदस्य बोलाएर आफ्नो अध्यतामा बैठक गरी अध्यक्ष ओलीविरुद्धको निर्णय गरेपछि दुई जनाबीच थप तिक्तता बढेको हो। गत मंगलबारको स्थायी कमिटी बैठक ओलीले एकलौटी रुपमा स्थगित गर्नु विधान विपरीत रहेको निचोड प्रचण्डको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकले निकालेको थियो। त्यही बैठकलाई ओली समूहले अवैधानिक भनेको थियो।

ओली र प्रचण्डबीच मंगलबार यता कुनै छलफल भएको छैन। उनीहरुको संवादहीनताको अवस्था तोड्न महासचिव विष्णु पौडेल सक्रिय छन्। महासचिव पौडेलले बिहीबार अध्यक्ष ओली र प्रचण्डसँग छुट्टा-छुट्टै भेट गरी संवादलाई निरन्तरता दिन आग्रह गरेका थिए।

'पार्टीभित्र विवादका विषय टुंगो लगाउनका लागि बहस छलफल आवश्यक छ। दुई अध्यक्षबीच सहमति कायम गर्नुपर्ने अवस्थामा संवाद जरुरी रहेकाले संवादको वातावरण तयार पार्न केही साथीहरु लागिरहनुभएको छ,' महासचिव पौडेलले काठमाडौंप्रेससँग भने।

दुई अध्यक्षबीच हुने आगामी संवाद निष्कर्षविहीन नहोस् भन्नका लागि एजेण्डा तयार भइरहेको महासचिव पौडैलको भनाइ छ।  बिहीबार प्रचण्डलाई भेट गर्न पुगेका पौडेललाई अध्यक्ष प्रचण्डले विवाद समाधानको एजेण्डासहित ओली प्रस्तुत भएमात्रै संवादको अवस्था सिर्जना हुने जवाफ दिएका थिए। 

'विवाद समाधानको स्प्रिट अध्यक्ष ओलीमा हुनुपर्‍यो, आगामी संवाद निकास दिने गरी हुनुपर्छ,' प्रचण्डले महासचिव पौडेललाई भनेका  थिए।

यता अध्यक्ष ओलीले पनि आफ्ना विश्वासपात्रसहित माओवादीका नेताहरुसँग छलफल गरेका छन्। ओलीले महासचिव विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेलसहित पूर्व माओवादी समूहका सात स्थायी कमिटी सदस्यसँग छलफल गरेका थिए। उक्त छलफलमा ओलीले पनि संवादका लागि आतुरता देखाएको बैठकमा सहभागी नेता हरिबोल गजुरेलले जानकारी दिए।

'अध्यक्ष ओली पनि संवादका लागि आतुर हुनुहुन्छ। आगामी बैठक परिणामुखी बनाउनुपर्ने मनसाय उहाँको पनि रहेको छ,' गजुरेलले भने। ओलीले बामदेवको ६ बुँदे प्रस्तावले नै पार्टी विभाजन रोक्ने धारणा राखेका थिए। त्यही प्रस्तावमा आधारित भएर ओलीले प्रचण्डसँग छलफल गर्ने निधो गरेका थिए।

'अध्यक्ष प्रचण्डको असन्तुष्टि समाधान हुने गरी ६ बुँदे प्रस्तावमा केही परिमार्जन गर्नुपर्ने सुझाव केही साथीहरुको थियो,' गजुरेलले भने।

विभाजन रोक्न माथिल्लो तहमै सम्बन्ध सुदृढीकरण आवश्यक : प्रचण्ड

छलफलका लागि ओलीको प्रस्ताव कुरिरहेका प्रचण्डले माथिल्लो तहमै सम्बन्ध सुदृढीकरण आवश्यक भएको अभिव्यक्ति दिएका छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी विभाजन नहोस् भन्ने कार्यकर्ताको चाहना रहेकाले एकता कायम गर्नका लागि माथिल्लो स्तरमै सम्बन्ध सुदृढ बनाउनुपर्ने बताएका हुन्। 

‘आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने छ। त्यो चाहनालाई कदर गर्दै हामी पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नेछौं,' प्रचण्डले भने।
उनले नेकपाभित्रको विवाद पदका लागि नभएको पनि बताएका छन्। ‘बाहिर प्रचार गरिएजस्तो नेकपाभित्रको अहिलेको बहस पदको छिनाझपटी बिल्कुलै होइन। यो बहस पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने हो,' प्रचण्डले भने।

माथिल्लो तहमा सम्बन्ध सुदृढीकरणको आवश्यकता महसुस गरेका प्रचण्डले ओलीसँग असार १० गते यता १० पटक वान-टू-वान छलफल गरेका छन्। तर, प्रचण्ड-ओलीबीच सम्बन्ध सुदृढ हुन भने सकिरहेको छैन। उनीहरुबीचको सहमतिमा स्थायी कमिटी बैठकको मिति तोक्नुपर्ने माग नेताहरुको छ। 

प्रचण्ड-ओलीबीच संवाद नहुँदा स्थायी कमिटी पनि अनिर्णीत बन्दै गएको छ। यहीबीचमा १ सय ५२ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी विवाद समाधानका लागि तत्काल केन्द्रीय कमिटी बैठकको माग गरेका छन्। 
 

प्रकाशित मिति: १३:२४ बजे, शनिबार, साउन १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्