लकडाउन खोलेकै दिन वीरगञ्जमा ८ जनामा लक्षणसहित कोरोना, दुई जनाको आईसीयूमा उपचार हुँदै
काठमाडौं, साउन ७ : सरकारले लकडाउन खोलेकै दिन पर्साको वीरगञ्जमा कोरोना भाइरस कडा लक्षणसहित समुदायस्तर
काठमाडौं, साउन ७ : सरकारले लकडाउन खोलेकै दिन पर्साको वीरगञ्जमा कोरोना भाइरस कडा लक्षणसहित समुदायस्तरमा फैलिएको भेटिएको छ।
ट्राभल हिस्ट्री नभएका र वीरगञ्ज महानगरपालिकाका फरक–फरक वडामा बसोबास गर्ने आठ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।
सरकारले मंगलबार रातिदेखि लागु हुनेगरी चार महिना लामो लकडाउन हटाएको थियो। तर, लकडाउन हट्न नपाउँदै समुदायस्तरमा कोरोना फैलिएको पुष्टि वीरगञ्जको नयाँ केसले गरेको छ।
‘वीरगञ्जमा देखिएको पछिल्लो कोरोनाका बिरामीको ट्राभल हिस्ट्री नभएको र विभिन्न क्षेत्रमा बसोबास गर्ने भएकाले यहाँ समुदायस्तरमा भाइरस फैलिएको पुष्टि भएको छ’, नारायणी कोरोना अस्थायी अस्पतालका कोभिड संयोजक डा. उदयराज सिंहले काठमाडौं प्रेससँग भने,‘यसले वीरगञ्जमा कोरोना समुदायस्तरमा फैलिएको पुष्टि भएको छ।’
अस्पतालका अनुसार बारास्थित एक औषधि उद्योगमा काम गर्न गएका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो। उनीहरु साउन २ गते ज्वरो आएर स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा निको नभएपछि नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षणका लागि आएका थिए।
उनीहरु सबै उच्च ज्वरो, श्वास फेर्ने अप्ठ्यारो हुने र रिङ्गटा लाग्न थालेपछि स्वेच्छिक कोरोना परीक्षणका लागि आएका थिए।
‘उनीहरु वीरगञ्जकै बासिन्दा हुन्। उद्योग खुलेपछि काम गर्न गएका रहेछन्। ज्वरो, खोकी, श्वाप्रश्वासमा समस्या आएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा ठीक नभएपछि स्वेच्छिक परीक्षण गराउन आउनु भएको थियो। रिपोर्ट पोजेटिभ आएको छ,’ सिंहले भने, ‘उनीहरुको लक्षण पनि अलि कडा नै देखिएको छ। यसले हामी थप सतर्क हुनपर्ने देखाएको छ।’
कोरोनाका दुई जना सिकिस्त, आईसीयूमा उपचार हुँदै
डा. सिंहका अनुसार अहिले अस्पतालमा दुई जना कोरोना संक्रमितको आइसीयूमा राखेर उपचार भइरहेको छ।
मंगलबार वीरगञ्जकै एड्भान्स मेडिकेयर अस्पतालमा उपचाररत बिरामीलाई रिफर गरी आईसीयूमा राखेर उपचार गरिराखिएको छ। अर्का एक मुटु रोगीसमेत रहेका संक्रमितको पनि आईसीयूमा राखेर उपचार भइरहेको छ।
मास टेस्टिङका लागि अस्पतालले मन्त्रालय गुहार्यो
समुदायस्तरमा कोरोना फैलिएपछि अस्पतालले मास टेस्टिङका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गुहारेको छ।
नारायणी अस्पतालका प्रमुख डा. मदन उपाध्यायले मंगलबार मन्त्रालयलाई पत्र लेखेर मास टेस्टिङ गर्नुपर्ने देखिएको जानकारी गराएका हुन्।
‘समुदायस्तरमा कोरोना फैलिएकोमा कुनै शंका छैन। त्यसैले डा. उपाध्यायले मन्त्रालयलाई मंगलबार रिपोर्ट बुझाउनुभएको छ’, सिंहले भने, ‘यहाँ मास टेस्टिङ गर्नुपर्ने देखिएको छ। मन्त्रालयले अहिलेसम्म जवाफ दिएको छैन।’