नेपालले कहिले गर्ला उच्च राजनीतिक तहमा संवाद ?
काठमाडाैं, साउन १ : भारतसँगको तिक्तता मेट्नका लागि उच्च राजनीतिक तहमै संवाद सुरु गर्न विज्ञहरुल

काठमाडाैं, साउन १ : भारतसँगको तिक्तता मेट्नका लागि उच्च राजनीतिक तहमै संवाद सुरु गर्न विज्ञहरुले सुझाएका छन्। दुई देशबीचको संवादहीनताले नागरिकस्तरमा समेत असर पुग्न सक्नेतर्फ सचेत हुँदै संवादलाई जोड दिनुपर्ने राय विज्ञहरुको छ।
लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि चिसिएको नेपाल-भारत सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को विवादास्पद अभिव्यक्तिका कारण थप तिक्तता छाएको छ। नक्सा प्रकरणपछि नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक संवाद हुन सकेको छैन।
इतिहासमै पहिलो पटक नेपाल र भारतबीच यो हदको संवादहीनता कायम भएको पराष्ट्र मामिला जानकारहरुको भनाइ छ। यो चिसोपनले नागरिकहरुलाई असर पुर्याउने उनीहरुको मत छ। प्राध्यापक डा. लोकराज बराल सम्बन्ध सुधारमा लाग्नुपर्ने सरकारले उल्टै तिक्तताको वातावरण कायम गर्नु राम्रो नभएको बताउँछन्।
'नेपाल-भारत सम्बन्धमा अहिले चिसोपना छ सरकारले संवादमार्फत समाधान गर्नुपर्नेमा उल्टै दरार पैदा हुने काम गरेको छ परिपक्व कूटनीतिमा यस्तो हुँदैन,' उनले भने।
यस्तै, अर्का परराष्ट्रविद् भेषबहादुर थापा दुवै देशले यथासक्य संवाद सुरु गर्नुपर्ने बताउँछन्। 'संवादहीनताको अवस्था दुवै देशका लागि हितकर हुँदैन,' उनले भने,' सरकारी मौनताको भागिदार नागरिक हुन सक्छन् यसतर्फ सरकार सचेत हुनुपर्छ।'
सरकारलाई समाधानतर्फ उन्मुख हुन उनको आग्रह छ। संवादहीनताको अन्त्यका लागि परराष्ट्र मन्त्रालयले चार पटक पत्र लेखिसेकको छ। नेपालको पत्रमा भारतबाट कुनै जवाफ प्राप्त नभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताउँछन्।
'छिमेकीसँगको सम्बन्धमा तिक्तता ल्याउनु हुँदैन भन्नेमा हामी सचेत छौँ, उनले भने,'हामीले संवादहीनताको अवस्था तोड्न पहल गरिरहे पनि भारतीय पक्षबाट जवाफ पाउन सकिरहेका छैनौँ।''
नेपालले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेपछि प्रधानमन्त्री ओलीले दिएका तीन अभिव्यक्तिले भारत अझ चिढिएको छ।
पत्राचारमार्फत वार्तामा गरिएको आग्रहमा भारत सरकारबाट कुनै प्रतिक्रिया प्राप्त नभएको अवस्थामा उच्चस्तरीय राजनीतिक संवादको थालनी हुनुपर्ने परराष्ट्रविद् मदनकुमार भट्टराई बताउँछन्। दुई देशका प्रधानमन्त्रीबीच संवाद हुनुपर्ने उनको तर्क छ।
'मन्त्रालयस्तरको पहलमा भारतबाट कुनै प्रतिक्रिया नआएको अवस्थामा अब दुई देशका प्रधानमन्त्रीले संवादको सुरुवात गर्नुपर्छ,' उनले भने।
यी हुन् भारतलाई चिढ्याउने प्रधानमन्त्रीका तीन अभिव्यक्ति
१. रामको जन्मस्थल नेपालको अयोध्यापुरी
प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार भगवान रामको जन्मस्थल नेपालको अयोध्यापुरी भएको तर्क गरे। उनले दिएको अभिव्यक्तिलाई भारतीय जनता पार्टीले कडा शब्दमा प्रतिवाद गरेको छ। भारतीय जनता पार्टीका प्रवक्ता विजयशंकर शास्त्रीद्वारा जारी विज्ञप्तिमा खबरदारी शैलीमा लेखिएको छ-'धर्मलाई राजनीतिमा नमिसाउनु नै नेपालका लागि हितकर हुनेछ।'
रामको जन्मस्थल पर्साको अयोध्यापूरी हो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक रुपमा नलिन नेपालको परराष्ट्र मन्त्रालयले भनिसकेको छ। तर भारतमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ।
२. सत्यमेव जयते कि सिंहमेव जयते
नयाँ नक्सा जारी गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतको प्रतिकलाई लिएर दिएको अभिव्यक्तिका कारण पनि भारत चिढिएको छ। भारत सत्यको पक्षमा छ वा छैन भन्ने आशय राखेर उनले अभिव्यक्ति दिएको भएपनि उनको शब्दलाई लिएर भारतीय मिडिया र भारतीय सत्तारुढ दलले कडा आलोचना गरेका थिए।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने क्रममा भनेका थिए-'चारतिर फर्किएको भारतको एउटा प्रतिक चिन्ह छ, त्यसको मुनि सत्यमेव जयते लेखिएको हुन्छ। म सोध्नेवाला छु भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते?'
३. भारतले मलाई हटाउन खोज्यो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किँदै गइरहेको बेला एक व्यक्ति एक पदको माग अघि सारिएको थियो। प्रधानमन्त्री वा अध्यक्षमध्ये एकबाट राजीनामा दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उनलाई दबाब दिइरहेका थिए।
तर, प्रधानमन्त्री ओलीले भने नयाँ नक्सा जारी गरेपछि भारत आफूसँग असन्तुष्ट रहेको संकेत गर्दै भारतीय चाहनामा आफूलाई हटाउन खोजिएको बताएका थिए। उनले भनेका थिए,'नेपालकै नेताहरु लागि परेका छन् मलाई हटाउन बहस चलेको छ केपी ओलीलाई नहटाई हुँदैन, दिल्लीका सञ्चारमाध्यमहरु हेर्नुस् न सबै प्रष्ट हुन सकिन्छ।'
कार्यकारी प्रमुखले दिने यस्ता अभिव्यक्तिले कूटनीति र राजनीति दुवैमा असर पुग्ने भएकाले बोल्दा विचार पुर्याउनु पर्ने पराष्ट्रविद् मदनकुमार भट्टराई बताउँछन्।
'कूटनीतिमा एक-अर्काको विषयमा कुरा काट्ने (Talk at each other) वा एकअर्कासँग कुरा गर्ने (Talk to each other) भन्ने विषयको ज्याँदै महत्व हुन्छ,' भट्टराईले भने,'यस्ता विषयमा संयमित हुनुपर्छ।'
दिल्ली दूतावास कत्तिको सक्रिय?
दुई देशबीचको संवादहीनताको अवस्थालाई अन्त्य गर्न दूतावासको भूमिका अहंम हुन्छ। दिल्लीस्थित नेपाली दूतावासले सरकारको ड्यामेज कन्ट्रोलका लागि सकरात्मक भूमिका निर्वाह गरेपनि संवादका लागि प्रभावकारी पहल भने लिन सकेको छैन।
'संवादको च्यानल मिलाउन दूतावासको भूमिका अहंम हुन्छ त्यस मामिलामा दूतावास निकै फितलो देखिएको छ,'नेपालका लागि भारतीय राजदूत भइसकेका एक व्यक्तिले भने। दिल्लीस्थित नेपाली राजदूत डा. निलाम्बर आचार्यले भारतीय न्यूज च्यानलबाट सरकारबारे भइरहेको भ्रामक प्रचार रोक्न भने पहल गरेका थिए।
आफू दिल्लीमा चुप लागेर नबसेको भन्दै उनले ट्वीट समेत गरेका थिए-'बोल्नुपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो, त्यो भएको छ बोलिएको छ, भनिएको छ।'
नेपाल भारतबीच संवादहीनताको अवस्था अन्त्य भई राजदूत आचार्यको सक्रियताले सार्थकता पाउने क्षणको पर्खाइमा नेपाल छ।




-1792226847.jpeg)






-1792226847.jpeg)