नेपाल एयरलाइन्सको घाटा एक अर्ब ६९ करोड
काठमाडौं, असार ३१ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम एक अर्ब ६९ करोड घाटामा रहेको देखिएको छ।<

काठमाडौं, असार ३१ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम एक अर्ब ६९ करोड घाटामा रहेको देखिएको छ।
महालेखा परीक्षकको ५७ औं प्रतिवदेनमा निगमको घाटा १ अर्ब ६९ करोड ५३ लाख रूपैयाँ रहेको देखिएको हो। सरकारको पूर्ण स्वामित्वमा रहने गरी २०१४ सालमा स्थापना भएको निगमले अहिले १४ विमानबाट २५ आन्तरिक र ९ अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। त्यसका साथै अतिरिक्त निगमले चार्टर्ड उडान, कार्गो र ग्राउन्ड ह्याडिलिङ सेवा समेत प्रदान गर्ने गरेको छ।
तर, गत वर्ष नाफामा रहेको निगमले यो वर्ष ठूलो घाटा व्यहोरेको हो। गत वर्ष निगम १८ करोड ३ लाख नाफामा रहेको थियो। गत वर्ष निगमको नेटवर्थ ७ अर्ब १८ करोड ४० लाख रहेकोमा यस वर्ष ५ अर्ब ४ करोड ३९ लाख रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। सञ्चालन आम्दानी गत वर्ष १० अर्ब ७८ करोड २५ लाख रहेकोमा यस वर्ष ४८.९ प्रतिशत बढेर १६ अर्ब ५ करोड ५१ लाख पुगेको छ।
यस्तै सञ्चालन खर्च गत वर्ष १० अर्ब ८ करोड १ लाख रहेकोमा यस वर्ष ४६.२५ प्रतिशतले बढेर १४ अर्ब ७४ करोड २९ लाख पुगेको छ। अन्य आम्दानी गत वर्षभन्दा यस वर्ष १२.८९ प्रतिशतले घटेर ३६ करोड ५१ लाख भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। वित्तीय खर्च गत वर्षभन्दा यस वर्ष १९९.४८ प्रतिशतले बढेर ३ अर्ब ४६ करोड २७ लाख रूपैयाँ पुगेको छ।
निगममा गत वर्षको तुलनामा सञ्चालन आम्दानी बढेको भए पनि उच्च वित्तीय खर्चले गर्दा खुद नाफा घटेको देखिएको छ। ‘विमानको प्रकृति, किसिम तथा उडानको क्षेत्र (आन्तरिक र बाह्य) अनुसार सञ्चालन मुनाफा र नोक्सानी विश्लेषण गरेर रणनीति तय गर्नु पर्नेमा सो अनुसार विश्लेषण गरिएको छैन,’ प्रतिवेदनमा भनिएको छ।
यस्तै, निगमले भुक्तानी लिनुपर्ने रकम समेत भुक्तानी नलिएको देखिएको छ। १ अर्ब ४४ करोड ६१ लाख ट्राभल एजेन्सीसँग एक वर्षभन्दा पुरानो १७ करोड ६० लाख र अन्यसँग ३ करोड २० लाख निगमले असुल नगरेको देखिएको हो।
यस्तै, निगमले साुह तथा अन्य भुक्तानी दिनुपर्ने ५ अर्ब २७ करोड मध्ये अर्थ मन्त्रालयलाई भन्सारबापत १० करोड र अन्य ५ करोड समेत १५ करोड भुक्तानी दिन बाँकी देखिएको छ।
उडानमा भद्रगोल
यस्तै, निगमका अन्तर्राष्ट्रिय र आन्तरिक उडानको स्थिति भद्रगोल रहेको महालेखाले औंल्याएको छ। निगमका अन्तर्राष्ट्रिय तर्फ ०.८० प्रतिशत र आन्तरिकतर्फ ३१ प्रतिशत गरी समग्रमा १८ प्रतिशत उडान रद्द भएको देखिएको छ।
कमर्सियल विभागको तथ्यांक अनुसार विभिन्न ८ अन्तर्राष्ट्रिय स्टेशनमा उडान रद्द भएका कारण स्टपओभर र रि–रूटिङ खर्चबापत ४ करोड ५ लाख ३५ हजार खर्च भएको छ। दोहामा १ करोड ७२ लाख, मलेसियामा ८३ लाख ६३ हजार, दुबई स्टेशनमा ८ लाख खर्च भएको छ। महालेखाले उडान रद्द हुँदा यात्रुलाई असुविधा हुने, निगमको आम्दानी घट्ने र साखमा गिरावट आउने अवस्था रहने भन्दै काबु बाहिरको परिस्थितिबाहेक निर्धारित तालिका अनुसार उडान गर्न सुझाएको छ।
यस्तै, निगम सञ्चाल समितिले दुई वटा वाइडवडी विमान सञ्चालनको व्यवसायिक योजना २०७३ असोज ८ गते स्वीकृत गरी गरिद गरिएका जाहज निगमको स्वीकृत कार्यक्रम अनुसार जापान, साउदी अरब, चीनको गोन्जाओ र दक्षिण कोरियामा २०७५ चैतसम्म उडान गरी सक्ने लक्ष्य रहेमा अहिलेसम्म पनि थप सेक्टरमा उडान गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
विमानको दैनिक उडान क्षमता १६ घण्टामा रहेकोमा हाल ९ घण्टामात्रै उडान गरेकाले निगमको व्यवसायिक योजना अनुसार आम्दानी हुन नसकेको प्रतिवेदनमा औंल्याइएको छ। निगमले ग्राउन्ड ह्यान्डलिङ गर्दा सेवा प्रदायकसँग भएको सम्झौता बमोजिम न्यूनतम दुई महिनाको विक्री थाम्ने गरी बैंक ग्यारेन्टी राख्नुपर्ने सम्झौता भएकोमा ६ विदेशी एयरलाइन्स र एक स्वदेशी एयरलाइन्सले दुई महिनाको भन्दा कम हुने गरी बैंक ग्यारेन्टी राखेको देखिएको छ।




-1792226847.jpeg)






-1792226847.jpeg)