Kathmandu Press

परराष्ट्रविद् भन्छन्, ‘मुलुक बिगार्ने दिशातर्फ प्रधानमन्त्री !’

काठमाडौं, असार ३० : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अयोध्या नेपालमा पर्छ र राम नेपाली हुन्&rsq

परराष्ट्रविद् भन्छन्, ‘मुलुक बिगार्ने दिशातर्फ प्रधानमन्त्री !’

काठमाडौं, असार ३० : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अयोध्या नेपालमा पर्छ र राम नेपाली हुन्’ भन्ने अभिव्यक्ति प्रधानमन्त्रीको कुर्चीमा बसेर बोल्न नमिल्ने भन्दै विरोध भएको छ।

सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले त्रेतायुगका राम नेपालकै पर्साको अयोध्यापुरीमा जन्मिएको र भारतले नक्कली अयोध्यया खडा दाबी गरेका थिए।

कुनै पनि एतिहासिक दस्तावेजले प्रमाणित नगरेको विषयमा अध्ययन बिनै प्रधानमन्त्रीले फरक धारणा राख्नु अनावश्यक विवाद थप्नु मात्रै भएको परराष्ट्र मामिलाका जानकारहरुको भनाई छ। 

Hardik ivf

‘प्रधानमन्त्रीको यो अनुत्तरदायी अभिव्यक्ती हो। अयोध्याको विषय अहिले अनावश्यक कुरा हो। त्रेतायुगको विषय अहिले उठाउन आवश्यक छैन,’ भारतका लागि नेपालका पूर्वराजदूतसमेत रहेका प्रा.डा लोकराज बरालले काठमाडौं प्रेससँग भने, ‘अहिलेको हाम्रो प्राथमिकता के हो। त्यो हेर्नुपर्छ, तेत्रायुगका कुरा उठाएर समस्या समाधान हुँदैन। यो भारतलाई चिढाउने बेला होइन।’

नेपाल–भारतबीच सीमा विवाद चलिरहेका बेला प्रधानमन्त्रीले विवादित अभिव्यक्ती दिनु कुनैपनि कोणबाट उचित मान्न नसकिने परराष्ट्र मामिला विज्ञहरुको भनाइ छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई लिएर दुई देशबीच अहिले विवाद छ। भारतसँग सीमा विवाद सुल्झाउन वार्ता गर्नुपर्ने बेला प्रधानमन्त्री नै भारतलाई चिढाउने गरी प्रमाणबिना अभिव्यक्ति दिनु अनुचित भएको  परराष्ट्रविद् डा. दिनेश भट्टराईको तर्क छ।

‘नक्सा जारी गर्दा उहाँलाई संसदीय इतिहासमै पहिलो पटक राष्ट्रिय सहमति प्राप्त भयो। अहिले उहाँले भारतसँग वार्ता गर्नुपर्ने हो। तर, भारतसँग वार्ता गर्न सकिरहनुभएको छैन। उहाँको कुनैपनि च्यानलले काम नगर्दा चिढाउने तर्फ लाग्नुभएको जस्तो देखिन्छ,’ डा. भट्टराईले भने, ‘प्रधानमन्त्रीको पदमा बसेको व्यक्तिले यसरी जथाभावी बोल्नु राम्रो होइन।’

प्रधानमन्त्रीले कूटनीतिक विषयमा बोल्दा भाषासमेत सही चयन गर्नुपर्ने हो। मुलुकलाई यस्तो अभिव्यक्तिले हित गर्दैन, मुलक बिगार्ने दिशा तर्फ प्रधानमन्त्री जानुभएको छ।  - प्रा. डा.लोकराज बराल

प्रधानमन्त्रीले पछिल्ला अभिव्यक्तिले मुलुकलाई संकटमा धकेल्न सक्ने राजनीतिशास्त्री डा. बरालको टिप्पणी छ। ‘प्रधानमन्त्रीले कूटनीतिक विषयमा बोल्दा भाषासमेत सही चयन गर्नुपर्ने हो। तर, उहाँले त्यसमा ख्याल गर्नुभएको छैन। हजारौं वर्ष पहिलेको कुरा उठाउनु भएको छ। त्यो बेला कहाँ कुन देश थियो वा थिएन। यस्तो कुराले नेपाल–भारत सम्बन्ध बिग्रन्छ,’ उनले भने, ‘मुलुकलाई यस्तो अभिव्यक्तिले हित गर्दैन, मुलक बिगार्ने दिशातर्फ प्रधानमन्त्री जानुभएको छ।’

प्रधानमन्त्रीको अभिव्यक्ति देशको ‘फाइनल भ्वाइस’ हो। त्यसले देशको प्रतिनिधित्व गर्छ। तर, प्रधानमन्त्री ओलीले त्यसलाई ख्याल नगरेको भट्टराईको भनाई छ। ‘कूटनीतिक मामलामा प्रधानमन्त्रीको अभिव्यक्ति अन्तिम हुन्छ। तौलिएर बोल्नुपर्छ। बोलेका कुरामा तथ्य हुनुपर्छ,’ डा. भट्टराईले भने, ‘तर, उहाँ कहिले सत्यमेव जयतेलाई उडाउनुहुन्छ, कहिले रामका कुरा निकाल्नुहुन्छ। प्रधानमन्त्रीले हल्का टिप्पणी गरेर अहिले जे समस्या देखिएका छन्, त्यसलाई समधान गर्न थप कठिनाइ हुन्छ। समस्या सुल्झाउने तर्फ लाग्नु भन्दा राम मेरै हुन भन्नुभएको छ। प्रमाण त देखाउनु पर्ला नी?’

सोमबार भानु जयन्तीका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको दाबी गरेका थिए। भगवान रामको राज्य अयोध्याय नेपालको वीरगञ्जबाट पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई थियो।

प्रधानमन्त्रीको अभिव्यक्ति देशको ‘फाइनल भ्वाइस’ हो। त्यसले देशको प्रतिनिधित्व गर्छ। तर प्रधानमन्त्रीले हल्का टिप्पणी गरेर अहिले जे समस्या देखिएका छन्, त्यसलाई समाधान गर्न थप कठिनाइ हुन्छ। - डा.दिनेश भट्टराई, परराष्ट्रविद्

‘हामी अहिले पनि ठानिरहेका छौँ सीता भारतका राजकुमार रामलाई दियौं। भारतका होइन, अयोध्याकालाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो। भारतले अहिले खडा गरेको अयोध्या होइन,’ ओलीले भनेका थिए।

प्रधानमन्त्री ओलीले जेठ ६ गते संसदमा भारतको प्रतीक चिन्हको विषयमा समेत हल्का टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ। त्यसको मुनि सत्यमेव जयते लेखेको छ। सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु। हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ। म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते?’

नेपालमा आलोचना, भाजपाको आपत्ति

प्रधानमन्त्री ओलीको अयोध्या सम्बन्धि टिप्पणीको नेपालमा चौतर्फी आलोचना भइरहेको छ। नेपालका राजनीतिक दलका नेता, कूटनीतिक मामलाका जानकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरेका छन्। कूटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डले ट्वीट गर्दै भनेका छन्, ‘धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो एक उच्च मानवात्मक मुद्दा हो। उपहासपूर्ण बयानले अप्ठयारो मात्र पर्छ। यदी अयोध्या वीरगञ्ज नजिक पर्छ भने सरयू नदी कहाँ छ?’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई छाडा छोडे खतरनाक हुने बताएका छन्। ‘अति गरे खती हुन्छ भन्छन्! प्रधानमन्त्रीका वचन/कर्मले सीमा नाघ्दैछन्! संसदमा ‘सिंहमेव जयते’ र बेसार–पूराणदेखि अयोध्या–पूराणसम्म आउँदा उहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न। संसद स्थगन गरेर अध्यादेश÷संकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ। अब उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ! उपचार खोजौं!’

राप्रपा अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको स्तरबाट यस्ता अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त नभएको बताएका छन्। ‘प्रमको स्तरबाट यस्ता उट्पट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुत्तः छैन। भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गए जस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन,’ थापाले ट्वीट गर्दै भनेका छन्। 

ओलीको अभिव्यक्ति प्रति नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले समेत आलोचना गरेका छन्। उनले अप्रमाणित कुरा गरेर विद्वान नभइने बताएका छन्। ‘पदमा बसेर बेतुकका र असान्दार्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ। अप्रमाणित, पौराणिक र विवादस्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो। फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ,’ उनले ट्वीट गर्दै भनेका छन्। 

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले प्रधानमन्त्रीको ओलीको अभिव्यक्तिको निन्दा गरेको छ। भाजपाले ‘राजनीतिक विवाद उक्साउने र भारतलाई चोट पुर्याउने आश्चर्यजनक कदम’ भन्दै निन्दा गरेको हो। भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको अभिव्यक्तिको निन्दा गरेका छन्। ‘भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्यससँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही’ शास्त्रीले भनेका छन्।

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, असार ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्