के केपी ओलीले देलान् त प्रचण्डलाई एकल अध्यक्ष ?
काठमाडाैं, असार ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल

काठमाडाैं, असार ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको नोकझोक चलिरहेको अवस्थामा नयाँ प्रस्ताव अघि सारिएको छ।
एक व्यक्ति एक पदको मागमा प्रधानमन्त्री ओली टसमस नभएपछि वरिष्ठ नेता माधव कुमार नेपाललाई साथ लिएर प्रधानमन्त्रीबाट समेत हटाउने रणनीतिमा लागेका अध्यक्ष प्रचण्डले अहिले नरम बनेका छन्।
प्रचण्डले आफूनिकटहरुसँगको छलफलमा ओलीसमक्ष शक्तिशाली एकल अध्यक्षको प्रस्ताव लिएर जाने विषयमा छलफल सुरु गरेका छन्। 'अध्यक्ष प्रचण्ड अहिले स्थायी समाधानको पक्षमा हुनुहन्छ नेकपा विवादको स्थायी समाधान भनेको शक्तिशाली एकल अध्यक्ष रहेको उहाँको निष्कर्ष छ,' नेकपा नेता हरिबोल गजुरेलले भने।
सरकारको नेतृत्वमा आलोपालो गर्दा स्थायित्व कायम नहुने भएकाले प्रचण्ड सरकारको पूर्णकार्यकाल ओलीलाई सुम्पिने र पार्टी सञ्चालनमा कुनै हस्तक्षेप नहुने गरी शक्तिशाली अध्यक्ष बन्ने पक्षमा रहेको नेता जनार्दन शर्मा बताउँछन्।
'सरकारको नेतृत्व पटक-पटक फेर्दा स्थायित्वमाथि प्रश्न उठ्ने भएकाले पार्टीभित्रै शक्तिशाली बन्ने अध्यक्षको मनसाय छ,' शर्माले भने। ओली नेतृत्वको सरकारले सीमा सम्बन्धी विवाद समाधान, कोरोना महामारीसँग जुधिरहेकाले सरकारको नेतृत्वका लागि हतार गर्न नहुने प्रचण्डलाई उनी निकटका नेताहरुले सुझाव दिएका छन्।
'पार्टी एकताका बेला सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएपनि सरकार सञ्चालनमा अध्यक्ष ओलीलाई सम्पूर्ण सहयोग गर्न हामीले अध्यक्षलाई सुझाएका छौँ,' नेता हरिबोल गजुरेलले भने।
आइतबार गृह जिल्ला पुगेका प्रचण्डले आफू सम्हालिएका कारण नेकपाभित्र ठूलो दुर्घटना टरेको टिप्पणी गरेका छन्। पार्टी एकतालाई बचाउन दुवै पक्ष लचिलो हुनुको विकल्प नभएको प्रष्ट पारेका छन्।
'हामी कुनै न कुनै समझदारीमा पुग्छौं। अप्ठ्यारो भए पनि हामीले जनता र देशलाई अगाडि राखेर प्रतिवद्धता गरेर सोच्यो भने हल निस्किन्छ,' प्रचण्डले भने। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले शक्तिको बाँडफाँड गर्नु नै नेकपाको विवाद समाधानको कसी भएको प्रचण्डको संकेत छ।
ओलीले देलान् त शक्तिशाली अध्यक्ष ?
प्रचण्डले माग्दैमा उनलाई शक्तिशाली अध्यक्ष दिने पक्षमा ओली छैनन्। वान टू वान वार्तामा उनले प्रचण्डलाई स्पष्ट भनेका छन्,'शक्तिशाली अध्यक्ष बन्ने भए अर्को महाधिवेशन कुर्नुस्।'
ओली इतरका नेताहरु प्रचण्डले एकल अध्यक्षको माग गर्नु सहमति विपरीत रहेको बताउँछन्। पार्टी एकताका बेला दुई अध्यक्ष रहने भन्ने विषयमा लिखित सहमति भएको र अन्तरिम विधानले समेत एकल अध्यक्षको परिकल्पना नगरेकाले शक्तिशाली अध्यक्ष बन्न महाधिवेशन कुर्नुको विकल्प नभएको रक्षामन्त्री ईश्वर पोखरेलको तर्क छ।
'पार्टी भनेको विधिले चल्ने हो कसैले माग्दैमा छोडिहाल्नुपर्ने भन्ने हुँदैन। एकल अध्यक्षको परिकल्पना अन्तरिम विधानले गर्दैन,' उनले भने।
ओलीको व्यक्तिगत स्वभावका कारणले पनि उनले प्रचण्डलाई शक्तिशाली अध्यक्ष नबनाउने राजनीतिक विश्लेषकहरु बताउँछन्। पार्टी बचाउने ध्यानमा भन्दा पनि शक्ति आर्जनको खेलमा अध्यक्षहरु रहेकाले सहमतिको सम्भावना एकदमै कम रहेको वाम विश्लेषक खगेन्द्र प्रसाइँको भनाइ छ।
'नेकपाका दुवै अध्यक्ष पार्टीलाई शक्तिशाली बनाउने भन्दा आफू शक्तिशाली हुने पक्षमा हुनुहुन्छ। यो अलोकतान्त्रिक आचरणले सहमतीय आधारमा सहकार्यको सम्भावनालाई टार्छ,' प्रसाइँले भने।
यस्तै, अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ओली र प्रचण्ड दुवैको स्वभाव दबिएर बस्न नचाहने भएकाले यो सम्भावना न्यून रहेको तर्क गर्छन्।
'एउटै कोटरीमा दुई सिंह राजा भएर बस्न सक्दैनन्। नेकपाभित्रको अहिलेको समस्या यही नै हो,'श्रेष्ठले भने,' दुवै दबिएर बस्न नचाहने भएकाले आफू निरीह भएर प्रचण्डलाई ओलीले शक्तिशाली बनाउन सक्दैनन्।'
पार्टी एकता कायम गर्न यी दुई नेताको उचित व्यवस्थापन भने जरुरी रहेको नेकपा नेताहरुको समेत मत छ।
किन चाहन्छन् शक्तिशाली अध्यक्ष बन्न प्रचण्ड ?
आफ्नो राजनीतिक करियरमा कहिल्यै पनि दोस्रो पदमा चित्त नबुझाएका नेता हुन् प्रचण्ड।
आफू शक्तिशाली बन्न पार्टी विभाजनदेखि विलय गराउनेसम्मको काम उनले गरेका छन्। तत्कालीन माओवादी केन्द्रलाई एमालेमा विलय गरेर गठित हुने शक्तिशाली कम्युनिष्ट पार्टीको शक्तिशाली अध्यक्ष बन्ने चाहना प्रचण्डको थियो। सहमति कायम हुन नसकेपछि नेकपामा दुई अध्यक्ष रहने व्यवस्था गरियो।
आफ्नो भूमिका सेरोमोनियल भएको महसुस गरेपछि प्रचण्ड चिढिएको विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 'दबिएर बस्ने प्रचण्डको स्वभाव होइन पार्टी अध्यक्ष भएपनि डोमिनेट महसुस गरेकाले प्रचण्डले शक्तिशाली अध्यक्षको दाबी गरेका हुन्,'श्रेष्ठले भने।
शक्तिशाली अध्यक्षको मुद्दालाई आगामी वार्तामा अघि सार्ने प्रचण्डको तयारी छ। प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादका लागि भन्दै स्थायी कमिटी बैठक स्थगित भएपनि विगत चार दिनदेखि उनीहरुबीच संवाद भएको छैन।




-1792226847.jpeg)






-1792226847.jpeg)