नेकपाको आन्तरिक कलहमा बढ्दो वैदेशिक हस्तक्षेप
काठमाडौं, असार २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहमा वैदेशिक हस्तक्षेप बढ्दै गए

काठमाडौं, असार २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहमा वैदेशिक हस्तक्षेप बढ्दै गएको छ।
‘एक व्यक्ति, एक पद’को मागले पार्टी विभाजन र सरकार हेरफेरसम्मको स्तरमा बहस भएपछि नेकपाको आन्तरिक कलह समाधानका लागि चीन बढी सक्रिय भएको छ।
कम्युनिष्ट विचारधाराको शक्तिशाली पार्टी र सरकारमा समस्या देखापरेपछि वैचारिक हिसाबले निकट चीन नेकपाको कलह समाधानका लागि खुलारुपमा सक्रिय छ।प्राध्यापक डाक्टर लोकराज बराल आफूसँग वैचारिक रुपमा निकट पार्टीमा समस्या हुने बित्तिकै चीनले सक्रियता बढाउने गरेको बताउँछन्।
‘नेकपा फुट्न लाग्यो भन्ने बहस हुन थालेपछि चिनियाँ राजदूत होउ यान्छीले शीर्ष नेताहरुलाई भेटिरहेकी छिन्। चीनसँग निकट सरकार र पार्टीमा अस्थिरता उत्पन्न नहोस् भन्ने उसको साहानुभूति र अन्य स्वार्थका लागि चीनले नेकपाको विवाद समाधानमा खुलेरै मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ,’ बरालले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र पार्टी सञ्चालन शैलीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल रुष्ट बन्दै गएपछि नेकपाभित्र ‘एक व्यक्ति, एक पद’को माग राख्दै शक्ति संघर्ष भइरहेको छ। प्रचण्ड–नेपाल समूहले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एकबाट राजीनामा दिन ओलीलाई दबाब दिइरहेका छन्। गत वैशाख ८ गते दल विभाजन अध्यादेश ल्याएपछि चर्किएको विवाद हालसम्म समाधान उन्मुख छैन।
वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेकी चिनियाँ राजदूत यान्छीले असार २३ गतेसम्म नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसँग भेट गरी विवाद समाधानमा सहजीकरण गरेकी थिइन्।
भेटमा राजदूत यान्छीले चिनियाँ कम्युनिष्ट पार्टीको सद्भाव सुनाएको नेता खनालले बताएका छन्। ‘हतारमा निर्णय लिनुभन्दा संवादबाट समाधान गर्नुस् भन्ने राजदूत यान्छीको सन्देश थियो,’ खनालले काठमाडौंप्रेससँग भने।
नेकपाको विवादमा चिनियाँ राजदूतको यो तहको सक्रियता चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रशिक्षणपछि स्थापित निकट सम्बन्ध कारक रहेको परराष्ट्र मामिलाका जानकार निश्चलनाथ पाण्डे बताउँछन्।
‘पार्टी र सरकार सञ्चालन कसरी गर्ने भन्ने प्रशिक्षण चिनियाँ कम्युनिष्ट पार्टीबाट लिएपछि नेकपा विवादमा चीनको यो किसिमको उपस्थिति स्वभाविक छ’, पाण्डेले भने।
लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको संस्थापन पक्ष ओली नेतृत्वको सरकारसँग रुष्ट छ। भारतीय पक्षले केपी ओलीलाई प्रधानमन्त्रीबाट पदच्यूत गराउन खोजेको कुरा भारतीय सञ्चार माध्यममा आएका खबरले पुष्टि गर्ने नेकपा नेता खगराज अधिकारी बताउँछन्। भारतीय संस्थापन पक्षको अभिष्ट अनुसार काम गर्न गुप्तचर निकायका मानिसहरु राजधानीमा रहेको कुरा आफूले पनि सुनेको उनको भनाइ छ।
‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि बारम्बार कदम चालेपछि भारतले ओलीलाई हटाउने चाहाना राखेको प्रष्ट छ,’ अधिकारीले भने। आफ्नो आन्तरिक मामिला समाधानमा वैदेशिक हस्तक्षेप बढ्दै गएपछि नेकपाका नेताहरुले अध्यक्षद्वयलाई व्यक्तिगत स्वार्थमा भन्दा पनि पार्टी एकताको मर्म अनुसार अघि बढ्न सुझाव दिएका छन्।
आन्तरिक कलह समाधानमा बाह्य शक्तिको सहजीकरण आवश्यक नभएको उनीहरुको भनाइ छ। ‘हाम्रो पार्टीभित्रको विवाद समाधान गर्न हाम्रा अध्यक्षहरु सक्षम हुनुहुन्छ उहाँहरुले बाह्य शक्तिको सहजीकरण स्वीकार गर्नु वाञ्छनीय हुँदैन,’ कृषिमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले भने।
आफ्नो आन्तरिक मामिलामा बाह्य हस्तक्षेप बढ्दै गएपछि नेकपा नेताहरुले त्यसको विरोध पनि गरेका छन्। नेता नारायणकाजी श्रेष्ठ ट्वीटमा लेख्छन्,‘एउटा सार्वभौम राष्ट्रका रुपमा हामी आफैँ निर्णय लिन सक्षम छौँ। हाम्रो मामिलामा हस्तक्षेप गर्ने कुनै पनि प्रवृत्ति अस्वीकार्य छ।’
एक व्यक्ति एक पदको माग गर्दै आएका प्रचण्ड–नेपाल समूहलाई प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाउँदा भारतपरस्त भइने भन्ने त्रास छ। यता चीनले हतारमा अप्रिय निर्णय लिनुभन्दा संवादबाट समाधानमा पुग्न दबाब दिइरहेको छ। आन्तरिक मामिलामा बाह्य हस्तक्षेप बढ्दै गएपछि नेकपाका दोस्रो तहका नेताले आबेगमा अप्रिय निर्णय नलिन नेतृत्वलाई दबाब दिएका छन्।
आफ्नै पार्टीका दोस्रो पुस्ताका नेताको दबाब र अप्रिय निर्णय नलिन चीनले बारम्बार दिएको सुझावपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच विवाद समाधानका लागि ‘वान टू वान’ वार्ता चल्दै आएको छ। तर, छलफल भइरहे पनि दुई अध्यक्षबीच ठोस् सहमति भने हुन सकेको छैन।




-1792226847.jpeg)






-1792226847.jpeg)