Kathmandu Press

विज्ञहरु भन्छन्,‘काठमाडौं कोरोनाको इपिसेन्टर बन्न सक्छ’

काठमाडौं, असार २६ : सार्वजनिक यातायात सञ्चालनमा ल्याउने सरकारी निर्णय जनस्वास्थ्यका हिसाबले घात

विज्ञहरु भन्छन्,‘काठमाडौं कोरोनाको इपिसेन्टर बन्न सक्छ’

काठमाडौं, असार २६ : सार्वजनिक यातायात सञ्चालनमा ल्याउने सरकारी निर्णय जनस्वास्थ्यका हिसाबले घातक रहेको विज्ञहरुले बताएका छन्। 

कोरोना परीक्षणको दायरा नबढाइकन आवतजावत सहज बनाउँदा उपत्यका कोरोनाको इपिसेन्टरमा परिणत हुने खतरा रहेको संक्रामक रोग विशेषज्ञहरुको चेतावनी छ।  सरकारले बिहीबार जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

जनजीवन सहज भएपछि भीडभाड बढ्ने भएकाले कोरोनाको संक्रमण अझै बढ्ने सक्ने विज्ञहरुको भनाइ छ। काठमाडौं उपत्यकाको जनजीवन सामान्य बनाउने निर्णय कार्यान्वयनमा पुग्नुअघि दैनिक १० हजार जनाको कोरोना परीक्षण गर्नुपर्ने उनीहरु बताउँछन्। तर, अहिले काठमाडौं उपत्यकामा दैनिक दुई हजारको मात्रै कोरोना परीक्षण हुँदै आएको छ।

डा शेरबहादुर पुन

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकु अस्पतालमा  दैनिक दुई हजारको हाराहारीमा परीक्षणका लागि मानिसहरु आउने गरेका छन्।  लकडाउन खुकुलो भएसँगै काठमाडौंमा संक्रमितको संख्या बढिरहेको हामीले पाएका छौँ। देशभरको संक्रमणको ग्राफ ओरालो लाग्दा काठमाडौं  उपत्यकामा भने संक्रमितको संख्या बढ्दै छ। 

कोरोना मानिसबाट मानिसमा सर्ने रोग हो। काठमाडौं उपत्यका बढी जनघत्व भएको क्षेत्र हो, त्यसैले पनि यो अन्य क्षेत्रभन्दा बढी जोखिमपूर्ण क्षेत्र हो। उपत्यकामा आवतजावत सहज बनाउँदा रोजगारीका लागि मानिसहरु आउनेक्रम सुरु हुनसक्छ। मानिसहरु हटस्पट क्षेत्रबाट आएका रहेछन् भने तिनीहरुले संक्रमण फैलाउन सक्छन्। लक्षण नदेखिएका मानिसहरुको परीक्षण गर्न परीक्षण निर्देशिका बाधक छ।

काठमाडौं उपत्यका भित्रिएकाहरुलाई अनिवार्य परीक्षण गर्ने, कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाएर मात्रै जनजीवन सहज बनाउने वातावरणतर्फ लाग्नुपर्छ। यी कुराको सुनिश्चितता नगरी आवतजावत मात्रै खुकुलो बनाइयो भने जनस्वास्थ्यका हिसाबले घातक हुन्छ। सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याउने निर्णय त गरिसकेको छ। यस्तो अवस्थामा दूरी कायम गर्ने, मास्कको सही प्रयोग गर्ने जस्ता सावधानीका उपायमा यात्रु, चालक र सहचालक सबैले ध्यान दिनुपर्छ।
 
डा अनुप सुवेदी

काठमाडौं उपत्यकाका अस्पतालमा संक्रमित बिरामीको संख्या बढिरहेको छ। स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण बढिरहेको छ। अहिले नेपाल बाहिरबाट आएकाहरुको परीक्षणमा मात्रै ध्यान दिँदा संक्रमितको संख्या कम भएको देखिएको हो। कोरोना भित्रैभित्रै फैलिसकेको छ।

परीक्षणको दायरा नबढाएर आवागमन सहज बनाउनुहुँदैन। यसले संक्रमण बढाउन मात्रै मद्दत गर्छ। अहिले नै जनजीवन सामान्य बनाउनेतर्फ लाग्नु हुँदैन। त्यो निर्णयमा पुग्नुअघि कम्तिमा पनि १० हजारको संख्यामा परीक्षण हुन जरुरी छ। सरकारले अहिले दबाबमा परेर सार्वजनिक यातायात खोल्नुभन्दा संकटमा परेकाहरुलाई राहत दिनेतर्फ ध्यान दिनुपर्छ। जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने  कार्य सरकारले गर्नु हुँदैन।
 
डा. समिरमणि दीक्षित 

उपत्यकामा मानिसहरुको आवतजावतको अनुपातमा परीक्षण निकै कम छ। कन्ट्याक्ट ट्रेसिङलाई बढाउँदै १० देखि १५ हजारसम्म दैनिक परीक्षण हुनुपर्छ। उपत्यका निकै संक्रमण जोखिमका हिसाबले निकै संवेदनशील छ। 

ढलमा कोरोनाको जीवाणु देखिनुले काठमाडौंमा कोरोना समुदायस्तरमै फैलिएको हो कि जस्तो देखिन्छ। काठमाडौं उपत्यकामा बढी संवेदनशील हुन जरुरी छ। विदेशबाट आउनेहरुलाई मात्रै बढी लक्षित गरेर परीक्षण गर्दा संक्रमितको संख्या कम देखिएको हो। विश्व स्वास्थ्य संगठनले नै कोरोनाको संकट निकै पछिसम्म रहने भनिसकेको छ। सधैँ मानिसहरुलाई घरभित्रै राख्नु समस्याको समाधान होइन।

जनजीवन सामान्य बनाउनेतर्फ पनि ध्यान केन्द्रित हुनुपर्छ तर उचित संख्यामा परीक्षण नगर्ने र आवतजावत मात्र सामान्य बनाउनेतर्फ लाग्यो भने यसले भयावह अवस्था पनि सिर्जना गर्न सक्छ। 
 

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्