Kathmandu Press

म्याग्दीमा पहिरोले पुरिएर २९ जना वेपत्ता

म्याग्दी, असार २६ : म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको वि

म्याग्दीमा पहिरोले पुरिएर २९ जना वेपत्ता
रासस

म्याग्दी, असार २६ : म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा आज बिहान गएको पहिरोमा परी २९ जना बेपत्ता भएका छन्। 

धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन्। मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले बताए।

उनका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका छन्। सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन्।

परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ। परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ।  

यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन्। वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छिन्। नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ।

बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँच जना बेपत्ता भएका छन्। भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताए। मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ।

धवलागिरि गाउँपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले बताए। ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ।

हिलापोखरीमा रेशम फगामीको घर भत्किएको छ। मानवीय क्षति भने भएको छैन। ताकमकै देउबुजामा ६ घर पहिराको जोखिममा परेका स्थानीय गोपाल आचार्यले बताए।

यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ।  नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ। रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ।

रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन्। सो बस्ती कटानको उच्च जोखिममा परेको छ। स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको उनले बताए।

गलेश्वरका स्थानीय दीपक कार्कीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए। बेलिब्रिजको छेउमा पक्की पुल निर्माणका क्रममा छ।

पहिरो प्रभावित ठाउँमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ।

वर्षा भइरहेको र बादल लागेको तथा ठाउँठाउँमा पहिराले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले जानकारी दिए। प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनको भनाइ ।

बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगङ्गा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।

म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका–४ सिञ्गा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ। मङ्गला–३ का २४ वर्षीय दलबहादुर घर्ती (मिलन) र ४८ वर्षीय सूर्य थापा दाउरा छोप्ने क्रममा खोलामा एक्कासी बाढी आएपछि पसेका थिए।

प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए। (रासस)

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्