देशभर बाढीपहिरो, १२ को मृत्यु, ६ बेपत्ता (अपडेट)
काठमाडौं, असार २६ : अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि १२ जनाको मृत्यु भए

काठमाडौं, असार २६ : अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि १२ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। कयौं घाइते भएका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार कास्की, लमजुङ र म्याग्दीमा आएको बाढी र पहिरोमा परि १२ जनाको मृत्यु भएको हो। कास्कीको पोखरा महानगरपालिकामा पहिरोले सात जनाको मृत्यु भएको छ।
गएराति पोखरा-१८ को गोठादीस्थित टंकबहादुर थापाको घर पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय टंकबहादुर थापा, उनकी पत्नी ४५ वर्षीया सोममाया, उनका नातिनातिनी ६ वर्षीय सुवान र ११ वर्षकी इसिका थापा छन्। अर्का एक बालकको सनाखत भएको छैन।
पहिरोमा परि आठ जना घाइते भएका छन्। घाइतेहरुको मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
त्यस्तै, पोखरा-२५ हेमजामा आएको पहिरोमा परि ७० वर्षीया हिमकली अधिकारीको मृत्यु भएको छ। पोखरा-२६, जिरेलमा पहिरोमा परि दुर्गाबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
त्यस्तै, गएराति लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बेंसीशहर नगरपालिका-७ सातबिसेमा पहिरोमा परि ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २६ वर्षीया बिमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति ११ बजे घरमाथिबाट पहिरो आएको थियो। स्थानीयवासिन्दा र प्रहरीले उद्धारको प्रयास गरेपनि सफल हुन सकेन। बिमायाको हिजै राति तथा दीपक र छेवाङको शव आज बिहान फेला परेको छ।
यस्तै, म्याग्दीमा गएको पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। मालिका गाउँपालिका ७ दुलेमा गएको पहिरोमा परि सोमनाथ पौडेलको घर बगाउँदा दुई जनाको मृत्यु भएको छ। उनीहरुको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
म्याग्दीकै धवलागिरी गाउँपालिका-६ रिखामा गएको पहिरोमा परेर दुई परिवारका ६ जना बेपत्ता भएका हुन्। पहिरोले भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको छ।
देशका विभिन्न स्थानमा बाढी र पहिराेले क्षति पुर्याएकाे छ। ठाउँ-ठाउँमा गएकाे पहिराेले सडक अवरुद्ध भएका छन्। वर्षा जारी रहेकाे छ।




-1792226847.jpeg)






-1792226847.jpeg)