ओलीको चुनौती पाएका प्रचण्ड परामर्शमा, माधव नेपाल शंकामा
काठमाडाैं, असार २५ : पार्टीको आन्तरिक विवाद समाधानमा एकजुट हुनुपर्ने नेताहरुले एकअर्कालाई विश्व

काठमाडाैं, असार २५ : पार्टीको आन्तरिक विवाद समाधानमा एकजुट हुनुपर्ने नेताहरुले एकअर्कालाई विश्वास नगर्दा नेकपा विवाद छिट्टै समाधान हुनेमा शंका उत्पन्न भएको छ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच विश्वासको वातावरण निर्माण नहुँदा विवाद तत्काल समाधान हुनेमा पार्टीभित्रकै नेताहरु नै शशंकित बनेका हुन्।
नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेशकुमार भट्टराई शीर्षस्थ नेताहरुबीच समझदारी नभएसम्म विवादको निरुपण नहुने बताउँछन्। 'अहिले शीर्ष नेताहरुबीच अन्तरविरोध छ। उहाँहरुबीचको अन्तरविरोधको अन्त्य नै समस्याको समाधान हो। संवाद चलिरहेको छ समाधानका लागि समय लाग्न सक्छ,' उनले भने।
विवाद समाधानका लागि त्रिपक्षीय छलफल गर्नुपर्ने भए पनि ओली, प्रचण्ड र नेपालसहितको बैठक बिरलै बसेको छ। असन्तुष्ट नेता नेपाललाई आफ्नो पक्षमा ल्याएर आ-आफ्नो अभिष्ट पूरा गर्न ओली र प्रचण्ड लागिपरेका छन्। विवाद समाधानका लागि हुने बैठकमा आफूलाई उचित स्थान नदिएपछि नेता नेपाल ओली र प्रचण्ड दुवैसँग सशंकित छन्। स्थायी कमिटी बैठक नै स्थगित गरी ओली-प्रचण्डबीच ६ पटक वार्ता भएको छ।
प्रचण्ड परामर्शमा
वान टू वान वार्तामा ओलीबाट निरन्तर चुनौती पाएपछि अध्यक्ष प्रचण्ड आफू निकट नेताहरूसँग परामर्शमा व्यस्त छन्। अध्यक्ष प्रचण्ड पार्टी एकतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरु जनार्दन शर्मा, विष्णु पौडेल लगायतसँग निरन्तर परामर्शमा रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
'पार्टीको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष प्रचण्ड निरन्तर छलफलमा हुनुहुन्छ। स्थायी कमिटी बैठक बस्ने वातावरण निर्माण गर्ने विषयमा उहाँको परामर्श केन्द्रित छ,' प्रचण्डका सहयोगी विष्णु सापकोटाले भने।
प्रधानमन्त्री ओलीले नेपाल पक्ष वा आफूतर्फ कता हो कित्ता क्लियर गर्न, प्रधानमन्त्री बन्ने भए अर्को संसदीय निर्वाचन र शक्तिशाली अध्यक्ष बन्ने भए महाधिवेशन कुर्न लगायतको चुनौती दिएपछि अध्यक्ष प्रचण्ड बढी चिढिएका छन्। ओलीको अहंकारको ग्राफ बढिरहे स्थायी कमिटी बैठकमार्फत ठेगान लगाउने प्रचण्डको तयारी छ।
'स्थायी कमिटी बैठकको वातावरण निर्माण गर्न हामी लागिरहेका छौँ सकरात्मक ढंगले अघि बढ्ने हाम्रो प्रयत्न हो प्रधानमन्त्री नसुध्रिएको अवस्थामा के गर्ने भन्ने विषयमा आन्तरिक परमार्शमै छौं,' नेता जनार्दन शर्माले काठमाडौँ प्रेससँग भने।
माधव नेपाल शंकामा
एक व्यक्ति एक पदको माग राख्दै आएका नेपाल आफ्नो अभिष्ट पूरा गर्ने स्थितिमा बाहेक अरु बेलामा खासै स्थान नदिएपछि प्रचण्ड र ओली दुवैसँग सशंकित छन्।
माधव नेपाललाई आफ्नो पक्षमा ल्याउन अध्यक्षद्वयले निरन्तर कसरत गरिरहेका छन्। स्थायी कमिटी बैठकमार्फत ओलीलाई कारबाही गर्न बहुमत जुटाउनका लागि प्रचण्डले उनलाई विभिन्न अफर गरेका छन् भने आफ्नो पक्षमा नेता नेपाललाई उभ्याउन ओलीले सात वटा अफर गरिसकेका छन्।
ओली र प्रचण्डबीच कहिले आलोपालो सरकार चलाउने विषयमा छलफल हुने, कहिले पाँच वर्ष ओली प्रधानमन्त्री हुने र पार्टीको शक्तिशाली अध्यक्ष प्रचण्ड हुने विषयमा छलफल हुँदा नेता नेपाल बढी सशंकित भएका हुन्। आफ्नो स्वार्थका लागि मात्रै आफूलाई भ्यालू दिइएको हो कि भन्ने दोधारमा नेता नेपाल देखिन्छन्।
'माधव नेपाल अहिले दोधारमा पर्नु भएको छ उहाँ अध्यक्षद्वयको स्वार्थपूर्तिका लागि मोहडा बन्ने पक्षमा हुनुहुन्न,'' एमाले स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने।
कसैको स्वार्थपूर्तिका लागि नभई पार्टी एकता जोगाउन नेता नेपालले बुद्धिमतापूर्वक निर्णय लिने नेता भुसाल बताउँछन्। एक व्यक्ति एक पदको एजेण्डाबाट पछि नहट्ने र बाँकी विषयमा दुई अध्यक्षबीचको छलफलको निष्कर्षपछि औपचारिक धारणा पेश गर्ने नेपाल पक्षको तयारी छ।
आनन्दमा ओली
प्रधानमन्त्री ओलीकै कार्यशैलीलाई लिएर नेकपामा विवाद चुलिएको हो। विवाद निरुपण गर्न अग्रसरता देखाउनुपर्ने ओली भने आनन्द लिएर बसेका छन्।
नेकपाभित्र मुख्य विवाद एक व्यक्ति एक पदको माग रहे पनि ओलीले दुवै पद कायम राख्ने प्रष्ट बताइसकेका छन्। अध्यक्ष प्रचण्डसँगको वान टू वान वार्तमा उनले भनेका थिए-''प्रधानमन्त्री बन्ने रहर भए संसदीय निर्वाचन कुर्नुस्, शक्तिशाली अध्यक्ष हुने भए महाधिवेशन कुर्नुस्।''
ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा अहंकार प्रस्तुत गरेको भन्दै प्रचण्ड र नेता नेपाल रुष्ट छन्। सरकार र पार्टी सञ्चालनमा स्वेच्छारी शैली नबदलिएको भन्दै गत असार १६ गतेको स्थायी कमिटी बैठकमा प्रचण्ड-नेपाल पक्षधरका नेताले ओलीको चर्को आलोचना गरे। एक व्यक्ति एक पद माग राखेका उनीहरुले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट ओलीको राजीनामा आउनुपर्ने माग राखे।
प्रचण्ड र नेपाल समूहले संसदीय दलमा अल्पमतमा पार्ने र अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको बुझेपछि असार १८ गते ओलीले संसदको अधिवेशन अन्त्य गरिदिए। संसदको अधिवेशन अन्त्य गरेपछि संसद फेस गर्नु नपर्ने भएकाले ओली हाइसन्चोमा छन्। प्रचण्ड-नेपाल समूह एक भएको अवस्थामा स्थायी कमिटीले कारबाही प्रस्ताव पारित गर्ने हुँदा सकभर स्थायी कमिटी बैठक नबसाल्ने नियतमा ओली छन्।
बहुमत र अल्पमतको खेल पार्टीको अन्तरिम विधानले रोकेको र आफ्नै अध्यक्षतामा पार्टीले बहुमत ल्याएको हुनाले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा नदिने अडानमा ओली छन्। विवादको तुक नभएकाले विवाद गर्नेहरुले नै उपयुक्त समाधान गर्नुपर्ने तर्क प्रधानमन्त्रीको रहेको उनी निकट नेताहरुको भनाइ छ।
'पार्टीभित्र बहस छलफल राम्रो हो यसलाई निषेध गर्नुहुँदैन बहुमत देखाएर प्रधानमन्त्री र अध्यक्षबाट केपी ओलीको राजीनामाको माग सान्दर्भिक छैन। असान्दर्भिक मागलाई सम्बोधन गर्ने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्न,' स्वास्थ्यमन्त्री तथा नेकपाका नेता भानुभक्त ढकालले भने।
नेकपाको अन्तरिम विधानले पनि सहमतिको म्यान्डेट दिएकाले दुई अध्यक्ष एकमत भएर अघि बढ्नुपर्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन्।
'महाधिवेशन नहुँदासम्म पार्टीमा बहुमत र अल्पमतको खेल नहुने हाम्रो अन्तरिम विधानले स्पष्ट भनेको छ। विधानले निर्देश गरेबमोजिम सहमति कायम गरेर निर्णयमा पुग्नुबाहकेको विकल्प छैन,' उनले भने।
नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच सहमति नहुँदा असार १६ गतेदखि स्थगित भएको स्थायी कमिटी बैठक हालसम्म बस्न सकेको छैन। दुई नेताबीच सहमति कायम नभए असार २६ गतेका लागि तय भएको बैठक बस्नेमा पनि नेताहरु सशंकित छन्।




-1792226847.jpeg)






-1792226847.jpeg)