Kathmandu Press

यी ७ विवाद, जसले गांगुलीलाई अहिले पनि सताउँछ

काठमाडौं, असार २५ :  अन्तर्राष्ट्रिय क्रिकेटका लेजेन्ड ब्याट्स म्यान तथा भारतीय टिमका पूर्वकप्त

यी ७ विवाद, जसले गांगुलीलाई अहिले पनि सताउँछ

काठमाडौं, असार २५ :  अन्तर्राष्ट्रिय क्रिकेटका लेजेन्ड ब्याट्स म्यान तथा भारतीय टिमका पूर्वकप्तान सौरभ गांगुली बुधबारबाट ४८ वर्ष लागेका छन्। लामो समय भारतीय टिमको नेतृत्व गरेका गांगुली अहिले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को नेतृत्वमा छन्।

गांगुलीका क्रिकेट करिअरमा सफलताका कथा धेरैले सुनेका र पढेका छन्। धेरै क्रिकेट प्रेमीले गांगुलीका कथा कन्ठस्थ गरेका छन्। गांगुलीको क्रिकेट करिअरमा सफलता मात्रै छैनन्, उनी थुप्रै पटक मैदानभित्र र बाहिरका घटनाले विवादमा तानिएका थिए। ती विवाद उनको सफलताको छायाँमा परे।

अरुले बिर्सिए पनि गांगुलीले भने बिर्सिने छैनन्। बीसीसीआई अध्यक्ष तथा भारतीय टिमका पूर्वकप्तान सौरभ गांगुलीलाई सताउने सात विवाद :

१. टसका लागि मैदानमा ढिला आउनु

अष्ट्रेलिय क्रिकेट टिमका पूर्वकप्तान स्टिभ मैदानभित्र र बाहिर खुलेर बोल्छन्। तत्कालीन अष्ट्रेलियन टिमका कप्तान स्टिभ र भारतीय कप्तान सौरभ गांगुलीबीच सन् २००१ मा ठूलो विवाद भयो। त्यो विवादको मुख्यकारण थियो, टसका लागि गांगुली मैदान ढिला आउनु।

स्टिभ वाको भनाइ थियो– जानीजनी गांगुली मैदान ढिला आउँछन्। उनले आफ्नो आत्मकथामा लेखेका छन्, ‘हामीलाई तनाव दिन गांगुली टसका लागि ढिला गरी मैदान आउँथे।’ सो सिरिजका क्रममा गांगुली सात पटक टसका लागि मैदानमा ढिला आएको उनले उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र होइन, घरेलु क्रिकेटमा पनि गांगुली टसका लागि ढिला आउँथे। आईपीएल अन्तर्गत राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्सबीचको खेलका क्रममा पनि टसका लागि गांगुली ढिला मैदान आएका थिए। गांगुलीको यो व्यवहारले राजस्थानका तत्कालीन कप्तान शेन वार्न निकै रिसाएका थिए। खेल सकिएपछि वार्नले गांगुलीको व्यवहारको विरोध गरेका थिए। 

कतिपय क्रिकेटरले आफ्नो राजशी व्यवहार देखाउन लागि गांगुल मैदान ढिला आउने गरेको बताएका छन्। यही व्यवहारका कारण कमेन्टेटरले गांगुलीलाई ‘प्रिन्स अफ कोलकाता’ भनेर बोलाउँथे।  सन् २००० काउन्टी क्रिकेटका क्रममा पनि गांगुलीले राजसी व्यवहार देखाएको इंग्लिस बलर एन्ड्रयू फ्लिन्टफले बताएका छन्। दुवै लंकासायरबाट काउन्टी क्रिकेट खेलेका थिए। फ्लिन्टफका अनुसार त्यतिबेला गांगुली अभ्यासका लागि ढिला पुग्ने र आफ्नो किट पनि अरु खेलाडीहरुलाई उठाउन लगाउँथे।

२. गांगुली–च्यापल विवाद

ग्रेग च्यापलको भारतीय टिमको प्रशिक्षण करिअर निकै विवादित रह्यो। सोही क्रममा कप्तान गांगुली र प्रशिक्षक च्यापलबीचको विवादले भारतीय टिमलाई नै दुई भागमा विभाजन गरिदिएको थियो। 

च्यापल कप्तान रहेका गांगुलीको सिफारिसमै भारतीय टिमको प्रशिक्षक बनेका थिए। च्यापलसँगको विवादकै कारण बीसीसीआईले सन् २००५ मा गांगुलीलाई भारतीय टिमको कप्तानीबाट हटाएको थियो। राम्रो सम्बन्ध नभएकै कारण च्यापलले गांगुलीलाई एकदिवसीय टिमबाट हटाएका थिए।

सन् २००५ देखि सुरु भएको च्यापल विवादले सन् २००७ को एकदिवसीय विश्वकपका क्रममा व्यापक रुप लिएको थियो। सन् २००७ को विश्वकपमा भने गांगुलीले एकदिवसीय टिममा कमब्याक गरेका थिए।

सन् २००७ को विश्वकपमा भारत सुपर ८ मा पुग्यो। च्यापल–गांगुली विवादकै कारण विश्वकपमा भारतीय टिमले राम्रो प्रदर्शन गर्न नसकेको बताइन्छ। गांगुलीसँग मात्र होइन, अन्य खेलाडीसँग पनि च्यापलको सम्बन्ध राम्रो थिएन। विश्वकपका क्रममा नेटमा अभ्यास गरिरहेका खेलाडीसँग पनि च्यापलले पटक–पटक विवाद गरेका थिए। विश्वकपमा खराब प्रदर्शनपछि बीसीसीआईले च्यापललाई बर्खास्त गरेको थियो।

३. द्रबिड–गांगुली विवाद

बीसीसीआईका अध्यक्ष गांगुलीलाई झस्काउने अर्को विवाद हो, सहकर्मी राहुल द्रबिडसँगको विवाद। जब गांगुली–च्यापल विवाद चलिरहेको थियो, सोही समयमा द्रबिड गांगुलीको स्थानमा भारतीय टिमको कप्तान बनेका थिए। च्यापलको विषयमा द्रबिड चुपचाप बसेपछि द्रबिड–गांगुलीबीच विवाद सुरु भएको थियो। 

सन् २०११ मा एक अन्तर्वार्ताका क्रममा गांगुलीले टिममा भइरहेको गलत व्यवहारमा पनि द्रबिडले साथ दिएको आरोप लगाएका थिए। उनले भनेका थिए, ‘राहुल यस्ता व्यक्ति हुन्, जो सबै चिज ठीक होस् भन्ने चाहन्छन्, तर गलत व्यवहारको साक्षीमात्र बन्छन्।’ प्रशिक्षक च्यापलको गलत व्यवहारका विषयमा द्रबिड बोल्न नसक्दा टिम बिग्रिएको गांगुलीको आरोप थियो।

गांगुलीको आरोपमा द्रबिडले पनि जवाफ दिएका छन्, ‘गांगुली भनिरहेका छन्, म च्यापललाई कन्ट्रोल गर्न सक्दिनँ भनेर। उनलाई आफ्नो विचार राख्न छुट छ। उनले भारतीय क्रिकेटका लागि लामो समय योगदान दिएका छन्। उनी आरोप मात्र लगाइरहेका छन्, यही कुरा मेरा सामुन्ने भन्न सक्दैनन्। यो विषयमा हामीबीच कुनै कुरा भएको छैन।’

४. मैदानमा अम्पायरसँग टकराव

गांगुलीले भारतीय क्रिकेट टिमको कप्तान बनेपछि उनले टिमलाई आक्रामक त बनाए, सँगै मैदानमा यही आक्रामक व्यवहारका कारण टिम कारबाहीको भागिदार बन्नु परेको थियो।

सन् १९९८ मा भएको बैंग्लोरमा भएको अष्ट्रेलियाविरुद्धको टेष्टमा अम्पायरले गांगुलीलाई आउट दिएपछि उनी मैदानमै रिसाए। त्यसपछि उनलाई एक खेल प्रतिबन्ध लाग्यो। सन् २००० मा गांगुली फेरि मैदानमै अम्पायरसँग विवादमा उत्रिए। जिम्बाबेविरुद्धको खेलका क्रममा गांगुलीमाथि अम्पायरलाई धम्काएको आरोप लाग्यो, उनी फेरि प्रतिबन्धमा परे।

सन् २००१ मा फेरि गांगुलीले अम्पायरको निर्णयमा आपत्ति जनाउँदै विवादमा उत्रिए। श्रीलंकाविरुद्धको एकदिवसीय खेलमा गांगुलीलाई अम्पायरले एलबीडब्लू आउट दिएपछि रिसाउँदै अम्पायरलाई आफ्नो ब्याट देखाएका थिए। त्यो व्यवहारपछि उनलाई एक खेल प्रतिबन्ध लागेको थियो। यस्तै, २००५ मा ढिलो ओभर गराएको भन्दै आईसीसीले गांगुलीलाई जरिवाना तिराएको थियो। 

त्यही घटनाको केही समयपछि गांगुली भारतीय टिमको कप्तानबाट बर्खातीमा परेका थिए। कप्तानी छाडेपछि पनि गांगुलीले पटक–पकट अम्पायरसँग विवाद गरेका थिए।

५. माइक डेनिससँगको विवाद

म्याच रेफ्री माइक डेनिससँगको विवाद गांगुलीको मात्र थिएन, यो पुरै भारतीय टिमसँगकै थियो। भारतीय टिम र माइड डेनिसबीचको चर्को विवादपछि नै भारतीय टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दबदबा कायम गरेको बताइन्छ।

सन् २००१ मा पोर्ट अफ एलिजावेथमा भारत–दक्षिण अफ्रिकाबीचको टेष्ट सिरिजको दोस्रो टेष्ट चलिरहेके थियो। खेलका क्रममा विवाद यति बढेको थियो कि अम्पायर डेनिस भारतीय खेलाडीलाई कारबाही गर्ने स्थितिमा पुगेका थिए। 

सालिन क्रिकेटरका रुपमा चिनिएका सचिन तेन्दुलकरमाथि पनि बल बिगारेको आरोप लगाइएको थियो। सो खेलका क्रममा भारतीय कप्तान गांगुलीमाथि खेलाडीलाई सम्हाल्न नसकेको आरोप लगाइएको थियो। खेलकै दौरान अम्पायर डेनिसले गांगुलीलाई हप्काएका थिए।

सो खेलका क्रममा आवश्यकताभन्दा बढी अपिल गरेको भन्दै आईसीसीले अम्पायर डेनिसको सिफारिसमा वीरेन्द्र सेहवाग, दीप दासगुप्ता, हरभजन सिंह, शिवसुन्दर दासमाथि पनि कराबाही भएको थियो। तर, भारतीय क्रिकेट अधिकारी, मिडियामा अम्पायर डेनिस र आईसीसीको निर्णयको व्यापक विरोध भएपछि सेहवागलाई मात्र कारबाही गरिएको थियो। यो घटनामा कप्तान गांगुलीले खुलेर टिमको बचाउ गर्दै अप्पायर डेनिसको आलोचना गरेका थिए। 

६. लर्ड्समा सर्ट खोलेर खुशीयाली

सन् २००२ को नेटवेष्ट सिरिजको फाइनल लर्ड्स  मैदानमा भइरहेको थियो। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले भारतलाई ३२६ रनको लक्ष्य दिएको थियो। त्यतिबेला यो असम्भव जस्तै विशाल लक्ष्य थियो। धेरैले खेल भारतको हातबाट उम्किएको अनुमान लगाएका थिए।

गांगुलीको कप्तानीमा रहेको युवा भारतीय खेलाडीहरुले असम्भवलाई सम्भवमा परिणत गरे। खासगरी त्यो खेलमा युवराज सिंह र मोहम्मद कैफको ब्याटिङक खुबै चल्यो। यी दुईले अविस्मरणीय पारी खेलेपछि भारतले सिरिज जित्यो। 

फाइलन सकिए लगत्तै कप्तान गांगुली लड्र्सको बाल्कोनीमा गए, र सर्ट फुकालेर जितको खुशीयाली मनाए। खेलअघि सबै खेलाडीसँग गांगुलीले जितपछि सबैले लड्र्सको बाल्कोनीमा गएर सर्ट फुकालेर खुशीयाली मनाउने सल्लाह गरेका थिए। तर, दब्रिडले अन्य सबैलाई यस्तो गर्न रोकेपछि गांगुली एक्लैले खुशीयाली मनाएका थिए।
त्यति बेला भारतीय टिमको प्रशिक्षक जोन राइट थिए। राइट–गांगुलीको जोडीलाई भारतीय टिम परिवर्तनको सुत्राधार मनिन्छ।  

७. रवि शास्त्रीसँग टकराव

सन् २०१६ मा राष्ट्रिय टिमको प्रशिक्षक चयनका लागि बीसीसीआईले एउटा समिति गठन गर्‍यो। जसमा सचिन तेन्दुलकर, सौरभ गांगुली र भिभिएस लक्ष्मण थिए। सो समितिको सिफारिसमा अनिल कुम्बले प्रशिक्षक बनेका थिए। 

प्रशिक्षकका लागि वर्तमान प्रशिक्षक रवि शास्त्रीले पनि अन्तर्वार्ता दिएका थिए। तर, शास्त्रीको अन्तर्वार्तामा गांगुली उपस्थित थिएनन्। कुम्बले प्रशिक्षक बनेपछि शास्त्रीले गांगुली अन्तर्वार्तामा उपस्थित नभएर आफ्नो अपमान गरेको बताएका थिए। शास्त्रीको यस्तो प्रतिक्रियापछि गांगुलीले ‘यदि म उपस्थित थिइँन भने उनी पनि उपस्थित’ नभएको जवाफ दिएका थिए। 

गांगुलीले शास्त्रीले बैंककमा छुट्टी मनाउनुको सट्टा अन्तर्वार्ताका लागि भारतमै हुनुपर्ने बताएका थिए। कुम्बलेले प्रशिक्षक छाडेपछि शास्त्री भारतीय टिमको प्रशिक्षक बनेका छन्।

-बीबीसीबाट साभार

प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्