केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर अभियान
काठमाडौं, असार २१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक

काठमाडौं, असार २१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु भएको छ।
पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गइरहेका बेला नेकपाका युवा नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका हुन्।
पार्टी विभाजनको खतरा भएपछि केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठकबाट समस्याको समाधान गर्न माग गर्दै बैठक बोलाउन अभियान थालिएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।
केन्द्रीय सदस्य गैरेले केन्द्रीय कमिटीले नै पार्टी एकताका पक्षमा दबाब दिन सक्छ भन्ने मान्यताका साथ बैठक बोलाउन दबाब दिन हस्ताक्षर थालिएको बताए।
नेकपाको विधानमा २५ प्रतिशत सदस्यले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरे केन्द्रीय कमिटी बैठक आह्वान गर्नु पर्ने व्यवस्था छ।
उनका अनुसार अहिले हस्ताक्षर अभियान चलिरहेको छ। अहिलेसम्म करिब १०० जना केन्द्रीय कमिटी सदस्यले हस्ताक्षर गरिसकेका छन्। काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरुले हस्ताक्षर गरिसकेपछि पार्टी नेतृत्वलाई बुझाइने उनले बताए।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय पेचिलो बन्दै गएपछि नेकपाभित्रको विवाद चुलिएको छ। स्थायी कमिटीको बैैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायत अधिकांश नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।
तर, प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने बरु, आइपर्ने सबै चुनौतीको सामना गर्ने बताएपछि पार्टी विभाजनको संघारतिर पुगेको छ।











