के नेकपा विभाजनको मोडतिर अघि बढेको हो ?
काठमाडौं, असार २१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चुलिएको विवाद अन्तत: पार्ट

काठमाडौं, असार २१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चुलिएको विवाद अन्तत: पार्टी नै विभाजित हुने गरी अघि बढेको देखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर 'अबसँगै बस्न नसकिने भयो, तपाईंहरु पनि कता लाग्ने क्लियर गर्नु' भने पछि नेकपाको विवाद विभाजनको मोडतिर सोझिएको हो।
२०७४ सालमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको केही महिनाअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गर्दै चुनावपछि पार्टी एकीकरण गर्ने घोषणा गरेका थिए। उनीहरुको सहमति अनुसारनै चुनावपछि पार्टी एकीकरण भएपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै एकलौटी रुपमा चलाउन थालेपछि आन्तरिक विवाद बढ्दै आएको थियो
सरकार बनेदेखि नै प्रधानमन्त्री ओलीले मुल कामभन्दा पनि अनावश्यक काममा प्रतिक्रिया दिने र सर्वसाधरणलाई चिढाउने काम गर्दै आएको पार्टीभित्रको अर्को पक्षको आरोप छ।
उनी प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला प्रधानमन्त्रीलाई अझ बलियो बनाउने गरी राष्टिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग आफ्नो मातहत ल्याएका थिए। प्रधानमन्त्रीको कुर्चीबाट ओलीले विभिन्न विषयमा गर्ने टिप्पणी प्रतिपक्षी दलको तल्लो तहका नेताको जस्तो हुने गरेको थियो। कसैले सरकारविरुद्ध टिप्पणी गरे भने ओली आफैँ त्यसको प्रतिवाद गर्न अघि बढ्ने गरेका थिए र त्यो अहिलेसम्म पनि जारी राखेका छन्।
उनीले सरकार गठन भएको केही महिनाभित्रै सरकारको कामको विरोध हुन थालेपछि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो प्रतिवाद अरिंगालको रुपमा गर्न निर्देशन समेत दिएका थिए।
गुठीको जग्गामा वर्षाैंदेखि कायम हुँदै आएको समुदायका हक खोस्नेगरी गुठी विधेयक संशोधन गर्ने प्रक्रिया अघि बढाएपछि काठमाडौं उपत्यकाका विषेशगरी नेवार समुदायले त्यसको चर्को विरोध गरेका थिए। झण्डै एक हप्तासम्म उपत्यकामा हजारौं मानिसहरुले प्रदर्शन गरेपछि सरकारले बाध्य भएर उक्त विधेयक फिर्ता लिएको थियो।
प्रधानमन्त्री भएदेखि चुलिएको ओलीको घमण्ड गुठी विधेयकविरुद्ध काठमाडौंमा भएको उक्त आन्दोलनले केही हदसम्म तोडेको थियो।
झण्डै दुई तिहाइको बहुमतसहित प्रधानमन्त्रीको कुर्चीमा पुगेका ओलीले विधि विधान अनुसार थिति बसाल्नेभन्दा पनि शक्ति आफूमा केन्द्रित गरेर समाजमा आफ्ना पक्षमा भीडहरु खडा गरी त्यसको दुरुपयोग गर्न थालेपछि उनको पार्टीभित्र र बाहिरबाट विरोध हुन थालेको हो।
पछिल्लो समय कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको भूमिकालाई लिएर अधिकांश मानिस सरकारसँग रुष्ट छन्। काठमाडौं उपत्यकामा कोरोनाको दोस्रो केस देखिएपछि लकडाउन गरिएपनि त्यसबीचमा मेडिकल सामग्री खरिदमा भएको खुलेआम भ्रष्टचार र कोरोना नियन्त्रणमा सरकारको अप्रभावकारी कदमले पढे-लेखेका मध्यमवर्गीय युवाहरु समेत सरकारविरुद्ध सडकमा आएका थिए।
'इनफ इज इनफ' भन्ने नारासहित देशभरका युवाहरुले अहिले पनि सरकारविरुद्ध आन्दोलन जारी राखेका छन्। विषेश गरी उनीहरुले कोरोना नियन्त्रण गर्न पीसीआर परीक्षणको दायरा बढाएर क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने माग राखेका छन्। सरकारको नेतृत्वकर्ताको रुपमा एकपछि अर्को असफलता हात पार्दै आएका ओलीले पार्टीको आन्तरिक व्यवस्थापनमा पनि आफ्नो गुटलाई बढी च्याप्ने प्रवृत्तिका कारण विवाद थप चुलिँदै गएको हो।
सरकारको नेतृत्व गरेको २९ महिनामा ओलीले जनउत्तरदायी सरकारभन्दा पनि ओलीउत्तरदायी सरकार बनाउनतर्फ अघि बढेपछि पार्टीभित्र र बाहिर उनको विरोध सुरु भएको हो। पछिल्लो समय देखिएको विवादले नेकपा अब एक भएर अघि बढ्ने सम्भावना कम देखिन्छ। पार्टी र प्रधानमन्त्रीबीचको विवादलाई ओलीले अहिले राष्ट्रपतिलाई पनि विवादमा तानेर नेकपा एक हुन नसक्ने गरी विवादको बाटो कोरेका छन्।
नेकपाको विवादले कुन रुप लिन्छ ? के अब फुटको संघारमा पुगेको हो त ? भन्ने प्रश्नको औपचारिक जवाफ भने सोमबार बस्ने नेकपा स्थायी कमिटीको बैठकले दिनेछ।










