Kathmandu Press

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- जनताको जीवन प्रधान कि सत्ताको राजनीति?

काठमाडौं, असार १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको दुवै सदनको अधिवेशन एकाएक अन्

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- जनताको जीवन प्रधान कि सत्ताको राजनीति?
फाइल

काठमाडौं, असार १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको दुवै सदनको अधिवेशन एकाएक अन्त्य गरेर घोर उदासीनता प्रकट गरेको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी संसद अधिवेशन अन्त्य गरिएको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पाँच बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेकी थिइन्। 

कांग्रेसले अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित प्रक्रिया अवलम्बन नगरी अन्त्य गरिनु दुःखद भएको बताएको छ। ‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्। तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग न त कुनै परामर्श गरिएको छ न त पूर्वसूचना दिइएको थियो।’

सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा रहेको तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक भएको कांग्रेसको निष्कर्ष छ।

‘विश्वव्यापी  रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएका बेला त्यसप्रति उच्च गम्भीरता साथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो,’ विज्ञप्तिमा भनिएको छ,‘तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ। जनताको जीवन प्रधान कि सत्ताको राजनीति? सम्माननीय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ।’

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्