Kathmandu Press

योग्यलाई पन्छाएर ‘भक्तिगान’ गर्नेलाई पदको पगरी

काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत क्षमता र गुणलाई अवमुल्यन गर्दै आफ्नो सेव

योग्यलाई पन्छाएर ‘भक्तिगान’ गर्नेलाई पदको पगरी

काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत क्षमता र गुणलाई अवमुल्यन गर्दै आफ्नो सेवा र प्रसंशा गर्नेलाई धमाधम आकर्षक पदमा नियुक्ति गरेका छन्। 

यसअघि नै पदमाथि पद पाएकी प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्यासिंह शाहलाई त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा संस्थानको डिन नियुक्त गरेपछि ओलीको शासनकालमा ‘चाकडी र चाप्लुसी’ मात्रै पुरस्कृत हुन्छ भन्ने पुष्टि भएको छ।

डा.गोविन्द केसीले पटकपटक अनशन बसेर थिति बसालेको वरिष्ठताका आधारमा आईओएमको डिन नियुक्त गर्ने परम्परालाई कुल्चदै ओलीले निकै कनिष्ट निजी चिकित्सक शाहलाई नियुक्त गरेका छन्। 

Hardik ivf

ओलीकै निर्देशनमा त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता मिचेर शाहलाई बुधबार आईओएमको डिन नियुक्त गरेको हो। 

संस्थानमा वरिष्ठताका आधारमा ग्यास्ट्रो सर्जन प्रा. डा प्रदीप वैैद्य, प्रा. डा वाइपी सिंह र प्रा.डा सुशीलकुमार शिल्पकारमध्ये एक जनालाई डिन नियुक्त गर्नुपर्ने थियो। तर, सिंह र शिल्पकारको नाम सर्च कमिटीले शीर्ष तीन दाबेदारको सूचिमै राखेन। सर्च कमिटी डा. शाहले आफ्नो अनुकुलतामा आफ्नै टिमका चिकित्सकहरुलाई ‘सेटिङ’ मिलाएर रोखेकी थिइन्। 

सर्च कमिटीका संयोजक प्रेम ज्ञवालीले पनि एक महिनाअघि मात्रै कानुन विपरित मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको नियुक्ति पाएका थिए। आईओएमबाट केन्द्रमा कार्यकारी नियुक्त हुने ज्ञवाली पहिलो व्यक्ति हुन्। केन्द्रमा कार्यकारी निर्देशक भएको व्यक्ति आईओएमको सर्च कमिटीमा हुनुनै गैरकानुनी भनेर त्यहाँका वरिष्ठ प्राध्यापकहरुले विरोध गरेपनि त्यसको कुनै सुनुवाई भएन। ज्ञवालीले यसअघि त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियामा नेपालीतर्फका चिकित्सहरुको नेतृत्व गरेका थिए। सर्च कमिटीकै अर्का चिकित्सक सुवास आचार्य ओलीको एपेन्डिसाइटीसको अप्रेशन हुँदाका आईसियू इन्चार्ज थिए। 

डा.गोविन्द केसीको दशकौं लामो अभियानपछि मेडिकल शिक्षालाई व्यवस्थित गर्न बनेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा समेत डा. शाह सदस्य छिन्। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिस समितिमा रहेकी शाह पछि सोही आयोगको सदस्य पनि बनेकी छन्। वरिष्ठ चिकित्सकहरुले ‘आफैँ उपाध्यक्ष छान्ने अनि त्यो अन्तर्गतको सदस्यमा बस्ने’ भन्दै शाहले पदको दुरुपयोग गरेर व्यक्तिगत फाइदा लिएको आरोप लगाएका थिए।

यसअघि रेल विभागको महानिर्देशकमा पनि ओलीले वर्तमान सरकारलाई बचाउन ‘अरिङगाल’ को भूमिकामा बचाउ गर्नेलाई नियुक्त गरेका छन्।   

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गुरु भट्टराईलाई रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरेको थियो। महाप्रबन्धक नियुक्त भएसँगै भट्टराईको योग्यता र आचरणलाई लिएर प्रश्न उठिरहेका छन्। भट्टराई ओलीको सामाजिक सञ्जालमा भक्तिभजन, ओलीका आलोचकहरुलाई तल्लोस्तरमा उत्रिएर गाली गलौज गर्ने व्यक्ति हुन् । भट्टराईमा रेल सम्वन्धि कुनै ज्ञान, अनुभव र अध्ययन भएको देखिदैन। 

पछिल्ला केही महत्वपूर्ण पदमा प्रधानमन्त्री ओलीले गरेका नियुक्तिले मुलुकमा योग्यता भन्दा भक्तिगान मुख्य मापदण्डको रुपमा रहेकाे देखाएकाे छ। ‘ओलीले कुनै पनि पदमा नियुक्ति गर्दा त्यो पदको गरिमा र महत्वलाई होइन कि आफ्नो प्रशंसा गरेर भक्तिगान गाउनेलाई स्थान दिएको देखिन्छ’ नेकपाकै एक उच्च नेताले काठमाडौं प्रेससँग प्रतिक्रिया दिए, ‘लोकतन्त्रमा जब पद योग्यता र क्षमतामा नभई चाकडी र भक्तिगानमा साटिन्छ, तब जनताको विश्वास टुटेर सत्ता फेरवदल हुन्छ। ओली त्यही बाटोमा हिँडेको देखिन्छ।’

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्