Kathmandu Press

प्रहरीमा पनि कोरोनाको उच्च जोखिम, कार्यालय सरुवामा कडाइ 

काठमाडौं, जेठ १ : देशभर कोरोना भाइरसको संक्रमण बढेपछि फ्रन्टलाइनमा काम गरिरहेका सुरक्षा निकाय थप सतर

प्रहरीमा पनि कोरोनाको उच्च जोखिम, कार्यालय सरुवामा कडाइ 

काठमाडौं, जेठ १ : देशभर कोरोना भाइरसको संक्रमण बढेपछि फ्रन्टलाइनमा काम गरिरहेका सुरक्षा निकाय थप सतर्क बनेका छन्।

सीमा सुरक्षादेखि अस्पताल र लकडाउन पालना गराउन फिल्डमा खटिएका सुरक्षाकर्मीमा जोखिम बढ्न सक्ने आँकलन गर्दै सर्तकता अपनाइएको हो। 

नेपाल प्रहरीले कोरोनाबाट बच्ने उपाय स्वरुप एक युनिटबाट अर्को युनिटमा सरुवा भएका प्रहरीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने नीति अबलम्बन गरेको छ। प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीका अनुसार सरुवा भएर आउने बित्तिकै ड्युटी गर्न नपाउने गरी सर्कुलर जारी गरिएको छ।

Hardik ivf

‘सरुवा भएर आउने प्रहरीलाई देशभर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौँ,’ प्रवक्ता शाहीले काठमाडौं प्रेससँग भने, ‘कोरोनाको जोखिम कम गर्न क्वारेन्टाइन अवधि सकिएपछि मात्रै ड्युटीमा खटाउने गरिएको छ। यसले एक युनिटबाट अर्को युनिटमा भाइरस प्रवेश गर्नबाट रोक्न सहयोग गर्छ भन्ने हाम्रो विश्वास हो।’

प्रहरीले देशभरका युनिटमा विश्व स्वास्थ्य संगठनले सुझाएका सजगताका उपाय र सरकारको निर्देशनका आधारमा गाइडलाइन्स बनाएर सर्कुलर जारी पनि गरेको छ। ‘केन्द्रको सर्कुलर पालना भए नभएकोबारे अनुमगन गर्ने र त्यसलाई अनिवार्य कार्यान्वयन गराउन निर्देशन दिएको छ’, शाहीले भने।

यस्तै, कोरोनाका लागि आवश्यक मास्क, पन्जा, स्यानिटाइजर लगायतका सामग्री समेत देश भर पठाएको शाहीले बताए। उनले अस्पताल र क्वारेन्टाइनको सुरक्षा गर्ने जिम्मा समेत प्रहरीको भएकाले जोखिम बढ्न सक्ने तर्फ सतर्कता पनि अपनाएको बताए। ‘अस्पताल, क्वारेन्टाइनको बाहिरी घेरामा रहेर सुरक्षा दिने हो। तर, कोही भागे भने हाम्रा लागि जोखिम बढ्छ,’ उनले भने।

यस्तै, प्रहरीलाई कोरोना संक्रमण भइहालेमा उपचारका लागि देशभरका अस्पतालमा दुई सय बेडको व्यवस्था पनि मिलाइएको छ। ‘प्रहरीलाई संक्रमणको उच्च जोखिम छ। त्यसैले देशभर प्रहरीको उपचारका लागि दुई सय बेडको व्यवस्था मिलाएका छौँ,’ शाहीले भने।

सीमामा खटिएका साढे २२ हजार सशस्त्र प्रहरी पनि जोखिममै

लकडाउनका समयमा छिमेकी मुलुक भारतबाट हुने अनाधिकृत आवगमनलाई नियन्त्रण गर्न साढे २२ हजार सशस्त्र प्रहरी अहिले सीमा क्षेत्रमा खटाइएको छ। भारतबाट नेपाल प्रवेश गर्नेहरुको संख्या बढी देखिएकाले उनीहरु जोखिममा रहेको सशस्त्र प्रहरीको बुझाइ छ।

पछिल्ला रिपोर्टले भारतबाट आउनेहरुमा कोरोना संक्रमण देखिएपछि सशस्त्रले पनि कोरोनाको सचेतना आफ्ना गण, गुल्म लगायत सबै निकायमा उच्च बनाएको छ।
यसअघि एक जनामा सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण देखिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रविनकुमार श्रेष्ठले सीमामा खटिएका साढे २२ हजार जनशक्ति उच्च जोखिममा रहेकाले सतर्कता अपनाइएको बताए।

‘अहिले सीमामा हाम्रो साढे २२ हजार जनशक्ति तैनाथ छ। एक हजार २ सय १३ अस्थायी चेकपोस्ट बनाएर काम गरेका छौँ,’ उनले भने, ‘सीमामा हुने घुसपैठ रोक्ने, लुकिछिपी आउनेलाई समन्वय गरेर क्वारेन्टाइनमा राख्ने जिम्मा हाम्रै हो। त्यसैले जोखिम उच्च छ।’

उनले संक्रमणबाट जोगिने उपायबारे देशभरका युनिटलाई सचेत बनाइएको बताए। ‘लक्षण देखिएकालाई ब्यारेकभित्रै क्वारेन्टाइन र आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘संक्रमितको उपचारका लागि सरकारले व्यवस्था गरे अनुरुप नै हो। त्यसका लागि समन्वयय गरिन्छ।’
 

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, जेठ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्