कोरोनाले संसारभर ७८ नेपालीको मृत्यु, ५ हजार संक्रमित
काठमाडौं, वैशाख २८ : कोरोना भाइरसको संक्रमणबाट संसारभर ७८ जना गैर आवासीय नेपालीको मृत्यु भएको छ। गैर

काठमाडौं, वैशाख २८ : कोरोना भाइरसको संक्रमणबाट संसारभर ७८ जना गैर आवासीय नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ।
यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो।
यस्तै संयुक्त अरब इमिरेट्स (युएई)मा ६ तथा आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताए।
कोरोना भाइरसका कारणले यो हप्ता मात्रै पाँच जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा बेलायतका दुई तथा स्वीडेन, बहराइन र युएईका एकएक रहेका छन्।
संयोजक डा.सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार चार सय ७२ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन्। संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको समितिले जनाएको छ। विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति कम हुँदै गएको छ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार नौ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने २० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा दुई सय ४५ जना संक्रिमत रहेका छन्।
त्यस्तै, युएइमा एक सय ४९, नेपालमा एक सय नौ, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्यान्डमा २२, स्पेन र अष्टे«लियामा १२–१२, जापान र क्यानडामा १०–१०, बेल्जियममा ६, स्विट्जरयान्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानरमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ। (रासस)











