Kathmandu Press

प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै बाबुरामले भने- घोडालाई खोलासम्म लैजान सकिन्छ, पानी पियाउन सकिन्न

काठमाडौं, वैशाख २६ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई र

प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै बाबुरामले भने- घोडालाई खोलासम्म लैजान सकिन्छ, पानी पियाउन सकिन्न
फाइल

काठमाडौं, वैशाख २६ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर रोगले जीर्ण भएको शरीरलाई आराम दिन सुझाव दिएका छन्।

शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको छैठौं अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले उचाइमा पुगेको आफ्नो छविलाई बचाएर रोगले जीर्ण भएको शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन्। 

‘प्रधानमन्त्री ओलीजीले जुन खालको उचाइ हासिल गर्नु भएको छ। त्यो बचाउन उहाँले पद छोड्नुपर्छ,’ उनले भने,‘पदमा बस्दैमा कोही महान हुँदैन।’

उनले कुर्चीमा बस्दैमा मान्छे महान नहुने पनि बताए। ‘रोगले जीर्ण भएको शरीरलाई अब तपाईँले आराम दिनुपर्छ,’ उनले भने,‘राजीनामा दिएर आफ्नो छवि र उचाइँलाई बचाइराख्नुस्। त्यसपछिमात्रै देशले नयाँ दिशा लिन सक्छ।’ 

उनले सत्ताको प्रयोग गरेरमात्रै महान नभइने बताए। पूर्वप्रधानमन्त्री भट्टराईले बल अब प्रधानमन्त्री ओलीको कोटमा रहेको बताए। 

उनले शिखरमा चढ्न सजिलो भएपनि त्यहाँ टिकराख्न गाह्रो हुने बताए। ‘भनिन्छ शिखरमा चढ्न सजिलो हुन्छ तर शिखरमा टिक्न गाह्रो हुन्छ। उहाँ अहिले शिखरमा हुनुहुन्छ। कसरी र कति त्यहाँ टिक्ने हो त्यो उहाँले सोच्नु होला। हामीले त सुझाव दिने हो,’ प्रधानमन्त्री ओलीप्रति व्यंग्य गर्दै भट्टराईले भने,‘किनकि घोडालाई खोलासम्म लैजान सकिन्छ, पानी पियाउन सकिन्नँ।’ 

उनले ६५ वर्ष नाघेका नेताहरु प्रत्यक्ष कार्यकारी भूमिकामा नरहने प्रतिबद्धता जनाउन पनि पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गरे। ‘प्रधानमन्त्रीको राजीनामा पछि के हुने भन्ने विषय होला,’ उनले भने,‘ मेरो निजी विचार के छ भने हामी पूर्वप्रधानमन्त्री भइसकेकाहरु त्यसका लागि दाबेदार नबनौं। ६५ नाघेका प्रत्यक्ष कार्यकारी भूमिकामा नरहने गरी मुलुकको नेतृत्व गर्ने जिम्मेवारी नयाँ पुस्तालाई दिएर दिशा निर्देश गरौं।’

भट्टराईले सांसद अपहरण जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीसमेत मुछिनु दुःखद भएको टिप्पणी गरे। ‘सांसद अपहरण जस्तो आपराधिक क्रियाकलापमा प्रधानमन्त्रीको समेत नाम जोडिनु दुखद हो,’ उनले भने,‘ आफ्नो छविलाई बचाउन तत्काल राजीनामा दिन म सुझाव दिन्छु।’

भट्टराईले सत्तामा बसेरमात्रै जनताले नसम्झिने बताए। ‘हामी ३८ जना यो मुलुकको प्रधानमन्त्री भइसकेका छौं। सत्तामा बसेर कति काम ग¥यौ ? सत्तामा कति समय बस्यौं भनेर मान्छेले मूल्यांकन गर्दैन,’उनले भने,‘प्रधानमन्त्रीमध्ये वीपी कोइरालाको नाममात्रै एकाध मान्छेले सम्झिन्छन्। मान्छेले सम्झिराख्न सत्तामै बस्नु पर्छ भन्ने छैन।’
 

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, वैशाख २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्