Kathmandu Press

बामदेव प्रधानमन्त्री होइन, मन्त्री नै बन्न ‘अयोग्य’!

काठमाडौं, वैशाख १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सत्ता छोड्न दबाब बढेपछि अध्यक्ष एवं

बामदेव प्रधानमन्त्री होइन, मन्त्री नै बन्न ‘अयोग्य’!

काठमाडौं, वैशाख १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सत्ता छोड्न दबाब बढेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई ‘नहुने प्रधानमन्त्री’ को अफर गरेर अलमलाउने प्रयास गरेका छन्।

बुधबार बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका थिए। 
बैठकको सुरुमै बोलेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्री ओलीले कारोनाको महाव्याधि सकिएपछि आफूले छोड्ने र बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावसहितको नयाँ तुरुप फालेका हुन्।

गत साता राजनीतिक दल विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र ओलीको विकल्प खोज्न थालिएको छ। कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँगै उपाध्यक्ष गौतम समूह ओलीलाई प्रधानमन्त्रीबाट हटाउने निष्कर्षमा पुगेका छन्।

Hardik ivf

आफूलाई हटाउन पार्टीभित्रका शीर्ष नेताहरु एक भएपछि प्रधानमन्त्री ओलीले ‘लोभी’ बामदेवलाई प्रधानमन्त्रीको ललिपप देखाएर अलमलाउने प्रयास गरेका हुन्। प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेपछि  बैठकमै पुलकित भएका बामदेव ओलीको जालमा पर्न सक्ने संकेत समेत गरेका छन्।

२० जना स्थायी कमिटी सदस्यहरुले लिखित रुपमा बैठक बोलाउन मागदेखि दुवै पक्ष सांसदहरुको हस्ताक्षर संकलन अभियानसम्म पुगेपछि नेकपाको विवाद छताछुल्ल भएको छ।  सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल र खनालले ओलीको राजीनामा मागेका थिए। सुरुमा कार्यकारी अध्यक्ष प्रचण्ड बोलेपछि बोलेका प्रधानमन्त्री ओलीले कोरोना महाव्याधि पछि बामदेवलाई प्रधानमन्त्री बनाउने र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। जबकि बामदेवलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने दुवै विषय सजह छैनन्।

प्रतिनिधिसभाको निर्वाचन पराजित भएका गौतम संविधान अनुसार प्रधानमन्त्री त के मन्त्री पनि हुन पाउँदैनन्। उनी राष्ट्रियसभा सदस्य भएर संसद भवनभित्र प्रवेश गरेपनि संविधानको एउटा धाराले उनलाई मन्त्री बन्नबाट पनि रोक्छ। संविधानको धारा ७८ को उपधारा (४) मा प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ।  

बामदेव राष्ट्रियसभामार्फत सांसद बनेपनि संविधानतः उनी मन्त्री बन्न पाउँदैनन्। प्रधानमन्त्रीको उम्मेदवार बन्ने उनको एउटा बलियो बाटो  भनेको कुनै एक जना निर्वाचित सांसदलाई राजीनामा गराएर सिट खाली गर्ने र त्यही चुनाव लडेर जितेपछि मात्रै उम्मेदवार हुन सक्छन्। तर त्यो त्यति सहज बाटो छैन। बामदेवका लागि कसैले त्याग गरेर सांसदबाट राजीनामा गरेपनि त्यो सिटमा उनको जित्ने सम्भावना सतप्रतिशत हुँदैन।

नेकपाका सारा नेताले जितेका बेला आफ्नै गृह जिल्ला बर्दियामा चुनाव हारेका बामदेवले उपचुनाव जित्नेमा पार्टीभित्रकै नेताहरु ढुक्क छैनन्। त्यसमा पछिल्लो समय सरकारको खस्किएको छविले उनलाई चुनावमा मतदातासँग भोट माग्ने बलियो एजेण्डा समेत हँुदैन। त्यसैले बामदेवलाई प्रधानमन्त्रीको अफर ओलीको केटाकेटीलाई ललिपप दिएर खेलाए जस्तो हो।

संविधानविद् डा. पूर्णमान शाक्य बामदेव प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्री बन्न नसक्ने बताउँछन्। उनलाई प्रधानमन्त्री बनाउन सकिने दुवै बाटो तत्काल असम्भवप्रायः रहेको उनको भनाइ छ। 

‘प्रधानमन्त्रीले के आधारले भन्नुभयो थाहा भएन। तर, संवैधानिक व्यवस्थाले बामदेवलाई प्रधानमन्त्री बनाउन मिल्दैन,’ उनी भन्छन्, ‘प्रधानमन्त्री बन्न सबैभन्दा सुरुमा संसदीय दलको नेता हुनुपर्छ। त्यसका लागि प्रतिनिधिसभाको सांसद हुनुपर्छ। प्रतिनिधिसभाका कुनै एक सांसदलाई राजीनामा गराएर निर्वाचन पश्चात विजयी भएर आएमात्रै त्यो सम्भावना हुन्छ।’

उनी गौतमलाई राष्ट्रियसभाको सदस्य बनाएर प्रधानमन्त्री बनाउने बाटो झन् कठिन र असम्भव रहेको बताउँछन्। ‘राष्ट्रियसभा सदस्य बनाएर प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नुपर्छ। संविधान संशोधनका लागि संघीय संसदको  दुई तिहाइ मत आवश्यक पर्छ। जुन नेकपासँग छैन,’ शाक्य भन्छन्, ‘संविधान संशोधन गर्न औचित्य र आवश्यकता देखाउनुपर्छ, त्यसको विरोध हुन्छ र उल्टो नेकपालाई ब्याक फायर हुनेछ।’

बामदेवलाई प्रधानमन्त्री बनाउने कार्ड प्रयोग भएको यो पहिलो पटक भने होइन। अहिले प्रधानमन्त्रीले यो कार्ड खेलेका छन्, यो भन्दा अघि कार्यकारी अध्यक्ष प्रचण्डले खेलेका थिए। गत फागुनमा समेत बामदेवलाई प्रधानमन्त्री बनाउने कार्ड प्रचण्डले खेलेका थिए। गौतमलाई राष्ट्रियसभामा लैजाने र कानून संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनु पर्ने गरी संविधान संशोधन गर्नु पर्ने प्रस्ताव प्रचण्डले सचिवालय बैठकमा लगेका थिए।

तर, ओली भने अर्थमन्त्री डा. युवराज खतिवडाको निरन्तरता चाहन्थे। यो विषयले नेकपाभित्र बबण्डर नै मच्चिएको थियो भने नागरिक स्तरमा आलोचना भएको थियो।

राजनीतिशास्त्री डा.लोकराज बराल बामदेवलाई प्रधानमन्त्रीको लोभ ओलीको अलमलाउने खेलमात्रै भएको बताउँछन्। ‘ओलीले आफ्ना विरोधीलाई अलमलाउन र कमजोर बनाउनका लागि बामदेव कार्ड खेलेका हुन्,’ बराल भन्छन्, ‘संविधान संशोधन गर्ने, उपनिर्वाचन गराउने भन्ने अर्कै विषय हो। ओलीको रणनीति यो होइन अहिलेका लागि विरोधी थामथुम बनाउने उनको अभिप्राय हो। यो कुरा प्रचण्ड–नेपालले पनि बुझेको हुनुपर्छ।’

नेता नेपाललाई अध्यक्ष बनाउने ओलीको अर्को प्रस्ताव पनि सहज छैन। नेपाललाई अध्यक्ष बनाउन नेकपाको विधान संशोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउनुपर्छ। हालका लागि केन्द्रीय समितिको बैठक बोलाउने र त्यहाँबाट नेपाललाई अध्यक्ष बनाउन विधान संशोधन गराउने कुरा पनि सहज सम्भव हुने विषय होइन।

किनकि आफूविरुद्ध दबाब बढ्ने बुझेर स्थायी कमिटी बैठक टार्न खोजिरहेका ओलीले केन्द्रीय कमिटीको बैठक बोलाउने कुरै रहँदैन। ओलीले तत्काल आफूविरुद्ध रहेको समूहलाई कमजोर पार्न बामदेवलाई ‘नहुने प्रधानमन्त्री’ र नेपाललाई अध्यक्षको चारो फ्याँकेका हुन्।  
 

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, वैशाख १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्