बजेटअघि नै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी, खनाल-बामदेवको अभिव्यक्तिले प्रचण्ड शशंकित
काठमाडौं, वैैशाख १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका असन्तुष्ट नेताहरुले बजेटअघ
काठमाडौं, वैैशाख १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका असन्तुष्ट नेताहरुले बजेटअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने गरी आन्तरिक छलफल अघि बढाएका छन्।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्छ। तर, त्यसअघि नै प्रधानमन्त्री फेर्ने निष्कर्षमा पूर्वमाओवादीसँगै पूर्वएमालेका माधवकुमार नेपाल र झलनाथ खनाल समूह पुगेको स्रोतको दाबी छ।
‘ओलीबाट अब सरकार र नेकपा दुवै अघि बढ्न सक्दैन भन्ने निष्कर्षमा हामी पुगका छौँ,’ नेकपाका एक स्थायी कमिटी सदस्यले काठमाडौंप्रेससँग भने, ‘त्यसका लागि निरन्तर छलफल भइरहेको छ, केही दिनमा परिणाम आउँछ।’
खासगरी वैशाख ८ गते सरकारले राजनीतिक दल फुटाउन सहज हुने र संवैधानिक परिषद्ले विपक्षी दलको नेताको उपस्थितिविनै पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएपछि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने आन्तरिक तयारी सुरु भएको हो।
गत बिहीबार उपाध्यक्ष बामदेव गौतम निवास भैँसेपाटीमा बसेको सचिवालयका ९ मध्ये ६ सदस्यको बैठकले ओलीलाई हटाउने गोप्य निर्णय समेत गरिसकेको उक्त स्रोतका दावी छ। तर, बाहिर भने स्थायी कमिटी बैठक माग गरेर समस्या समाधान गर्ने भनिएको छ।
सोही बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेपछि प्रधानमन्त्री ओलीले दुई अध्यादेश फिर्ता लिएका थिए। नेकपाभित्र अहिले अध्यादेश फिर्ता लिँदैमा ओलीलाई जोगाएर राख्ने पक्षमा प्रचण्ड–नेपाल समूह छैन। ‘भैँसेपाटी बैठकको मुख्य निर्णय भनेकै ओलीलाई हटाएर नयाँ प्रधानमन्त्री बनाउने हो,’ ती स्थायी कमिटी सदस्यले भने, ‘तर, बाहिर चाहिँ स्थायी कमिटीको बैठक बोलाएर समस्या समधान गर्ने भनिएको छ।’
उनका अनुसार बजेट अघि नै प्रधानमन्त्री फेर्न चरणबद्ध छलफल भइरहेका छन्। आइतबारमात्रै वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा बसेको उनको समूहको भेलाले ओलीको विकल्प खोज्न विलम्ब गर्न नहुने निष्कर्ष निकालेको थियो। ‘अहिले चरणवद्धरुपमा छलफल भइसकेको छ। अवस्था नाटकीय रुपमा परिवर्तन नभए बजेट अघि नै मुलुकले नयाँ प्रधानमन्त्री पाउनेछ,’ उनले भने।
ओलीपछि प्रधानमन्त्री को हुने टुंगो लागि नसकेपनि पूर्वएमालेबाट हुन सक्ने पूर्वमाओवादी निकट एक नेताको दाबी छ।
त्यसका लागि प्रचण्डले नेपाललाई बचन दिइसकेको ति नेताको दाबी छ। ‘पूर्वएमालेलाई नै दिने हो। तर, नेपाल, खनाल वा अरु कोही भन्ने चाहिँ निश्चित भइसकेको छैन,’ उनले भने।
ओली हटाउने कस्तो छ रणनीति?
यसअघि नै स्थायी कमिटीका २० सदस्यले बैठकको माग गरिसकेका छन्। प्रचण्ड–नेपाल समूहको जोड स्थायी कमिटी बैठक नै हो। सोही बैठकपछि ओली हटाउने आधार तयार गर्ने उनीहरुको तयारी छ।
‘त्यही बैठकले ओली हटाउने म्यान्डेट तयार गर्नेछ। उहाँ (ओली) आफैँले मार्ग प्रस्तुत गर्नुभयो भने अर्कै कुरा,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले स्थायी कमिटी बोलाउनुभएन भने के गर्ने? यो विषय गर्भमै छ। तर, केही न केही उपाय त निस्किहाल्छ।’
ओलीले बैठक बोलाउन ढिलो गरे निरन्तर दबाब दिने रणनीति समेत बनिसकेको छ। ओली हटाउने पक्षमा रहेका सचिवालय सदस्य, स्थायी कमिटी सदस्यसँगै केन्द्रीय सदस्यहरुले समेत दबाब दिने रणनीति तयार गरिएको नेपाल निकट एक नेताले बताए।
झलनाथ र बामदेवसँग शशंकित
ओलीलाई हटाउने तयारी तीव्र हुँदै जाँदा वरिष्ठ नेता झलनाथ खानल र उपाध्यक्ष गौतमको अभिव्यक्तिले पूर्वमाओवादी शशंकित बनेको छ। आइतबार गौतमले ओलीलाई मार्ग प्र्रशस्त गर्न भनेको समाचार आएका थिए। तर, गौतमले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेका थिए।
यस्तै, ओलीलाई हटाउनुपर्ने पक्षमा सबैभन्दा चर्कोरुपमा आवाज उठाउँदै आएका खनालले सोमबार दिएको अन्तर्वार्तामा टोन परिवर्तन गरेको पूर्वमाओवादीको निष्कर्ष छ। ‘गौतमको विज्ञप्ति र खनालको अभिव्यक्तिमा देखिएका परिवर्तनले शंका उब्जिएको छ,’ प्रचण्ड निकट ति नेताले भने, ‘खनाल ओलीविरुद्धमा सबैभन्दा चर्को आवाज उठाउने व्यक्ति हुन्। तर, उहाँको पछिल्लो अभिव्यक्ति धेरै लचक देखिएको छ।’
त्यसलाई पूर्वमाओवादी समूहले ओलीले पूर्वएमालेमा गरेको चलखेलका रुपमा लिएको छ। ‘ओली यत्तिकै चुप लागेर बस्ने नेता होइनन्, यी दुवै विषय ओलीको चलखेल समेत हुनसक्छ,’ उनी भन्छन्।
ओली र नेपालबीच एक्लाएक्लै भेट
सोमबार ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता पनि भएको छ। आइतबार नेपालले आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग छुट्टै छलफल गरेका थिए।
नेपालले आफ्नो समूहको छुट्टै भेला राखेपछि प्रधानमन्त्री ओलीले सोमबार उनलाई फेरि बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्री ओलीले नेता नेपाललाई फकाउने प्रयास स्वरुप बालुवाटार बोलाएर एक्लाएक्लै भेटेको बालुवाटार स्रोतले जनाएको छ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले पूर्वएमाले समूह एकढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिएको स्रोतको दाबी छ।