सांसदहरुलाई प्रधानमन्त्री ओलीले भने- अध्यादेशबारे शंका नगर्नुस्, लकडाउन लम्बिनसक्छ
काठमाडौं, वैशाख १० : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका दुई वटा अध्यादेशबारे शंका गर्नु नपर्ने बताएका छन्।
बुधबार बालुवाटारमा पार्टीका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारले आवश्यक परेरै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको बताएका हुन्।
‘अध्यादेशबारे कोही पनि अन्योल र भ्रममा नपरे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने,‘सरकारले आवश्यक भएरै यी अध्यादेश ल्याएको हो। तपाईंहरुले कुनै शंका पालिराख्नु पर्दैन।’ प्रधानमन्त्री ओलीले दल विभाजनमा ४० प्रतिशत हुँदा र नहुँदा त्यतिधेरै फरक नपर्ने पनि बताएका थिए।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलले धेरै भाग खोजेका कारण गर्नुपर्ने धेरै नियुक्ति रोकिएकाले संवैधानिक अध्यादेश ल्याइएको जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले भने,‘गर्नुपर्ने धेरै नियुक्तिहरु बाँकी छन्। तर, प्रतिपक्षी दलले जे कुरामा पनि भाग खोज्न थाल्यो। त्यसैले काम गर्नका लागि यो अध्यादेश ल्याइएको हो।’
छलफलका क्रममा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिन सक्ने बताएका थिए। उनले भारतसँगको नाका पनि तत्काल नखुल्ने र नेपालभित्रको लकडाउन पनि लम्बिन सक्ने बताए।
प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति प्रयोग गरिरहेको बताएका थिए।
प्रदेशगत सांसदहरुसँगको छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरूङ पनि सहभागी छन्।





-1792762148.jpeg)





