सरकारले ल्याएका अध्यादेश संविधानको मर्म विपरीत : कांग्रेस
काठमाडौं, वैशाख ८ : प्रमुख विपक्षी दल कांग्रेसले सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद्

काठमाडौं, वैशाख ८ : प्रमुख विपक्षी दल कांग्रेसले सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको भावना विपरीत भएको भन्दै गम्भीर असहमति जनाएको छ।
सोमबार साँझ विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले नागरिक जीवन संकटमा रहेको बेला सरकारले अध्यादेश ल्याएको र र राष्ट्रपतिले हतारमा प्रमाणीकरण गरिनु दुःखद भएको बताएका छन्।
सरकारले सोमबार संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। त्यसको केही घण्टाभित्रै राष्टपतिले उक्त अध्यादेश जारी गरेकी थिइन्।
विज्ञप्तिमा विपक्षी दलका नेताविना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको पनि विरोध गरिएको छ। सरकारले सिफारिस गरेको दुवै अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रमाणीकरण गरेकी छन् ।
देउवाले विश्व एक भएर कोरोनाको संक्रमणसँग लडिरहेको बेला यसरी अध्यादेश ल्याउनु सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको प्रमाण भएको बताएका छन्।
‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’ विज्ञप्तिमा भनिएको छ, ‘यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो।’
संविधान निर्माण गर्दा राजनीतिक स्थिरता र संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वका लागि गरिएका व्यवस्थाहरु सरकारले अध्यादेशमार्फत संशोधन गरेर लत्ताएको उल्लेख छ। ‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
सभापति देउवाले अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई अपीलसमेत गरेका छन्।





-1792762148.jpeg)





