Kathmandu Press

युवा नेताहरू गीत रेकर्डिङदेखि ‘लक डाउन’को अभियानसम्म

काठमाडौं, चैत १० : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखिएको छ।&nbs

 युवा नेताहरू गीत रेकर्डिङदेखि ‘लक डाउन’को अभियानसम्म

काठमाडौं, चैत १० : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखिएको छ। 

स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी १९ वर्षीया युवतीमा कोरोना भएको पुष्टि गरेको छ। नेपालमा कोरोना त्रास बढिरहँदा शीर्ष नेताहरुसँगै युवा नेताहरु पनि संगरोधमा छन्। 

तर, केही युवा नेताहरु भने कोरोनाबारे सचेतना फैलाउने काममा सक्रिय छन्। कोरोनासँग जुध्न आर्थिक सहयोग गर्नेदेखि रणनीति बनाउने काममा समेत उनीहरु सक्रिय छन्।  

Hardik ivf

कुन नेता के गर्दैछन्?

सक्रिय विश्वप्रकाश  

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पदीय जिम्मेवारीसँगै व्यक्तिगत काममा समेत सक्रिय छन्।

कोरोनाको त्रास बढेपछि उनले प्रवक्ताको हैसियतमा दुई पटक पत्रकार सम्मेलन गरेका छन्। ती पत्रकार सम्मेलनमा सरकार र जनताका नाममा १४ बुँदे अपील गरेका छन् भने पार्टीका सबै कार्यक्रम स्थगनको घोषणा समेत गरेका छन्। यस्तै, कोरोनाबारे सचेतना जगाउने चार मिनेट र एक मिनेटको भिडियो युट्युवमार्फत सार्वजनिक गरेका छन्।

यस्तै, शर्मा नै प्रमुख रहेको प्रचार विभागले बनाएको सन्देशमुलक विज्ञापन  टेलिभिजनबाट सोमबारदेखि नै प्रशारण हुन थालेको छ। 

व्यक्तिगतरुपमा भने उनी सामाजिक सञ्जालमा सचेतना फैलाउन सक्रिय छन्। सोमबार नै उनको शब्द र संगीत रहेको कोरोनासम्बन्धी गीत सार्वजनिक भएको छ। सोमबार नै उनले नेपाली जनसम्पर्क समिति साइप्रसको संयोजनमा साउदी र कतारका नेपालीहरुले पठाएको एक लाख ३५ हजार ४४१ रुपैयाँमा १० हजार थपेर महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई सहयोग गरेका छन्। उनी क्वारेन्टाइनमा बसेका छैनन्। 

‘म क्वारेन्टाइनमा छैन। आफ्नो र परिवारको स्वास्थ्यबारे सचेत छु,’ उनी भन्छन्, ‘यो बेला सामाजिक दूरीमा बस्ने होइन। व्यक्तिगत दूरीमा बस्ने हो। निरन्तर काममा छु।’

सचेतना र सहयोगमा सक्रिय गगन 

कांग्रेस युवा नेता गगनकुमार थापा कोरोना भाइरसबारे सचेतना जगाउन सक्रिय छन्।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका गगनले आफ्ना अनुभव साट्न सामाजिक सञ्जालको प्रयोग गर्दै आएका छन्। फेसबुक लाइभदेखि ट्वीटरमार्फत समेत गगनले सचेतना जगाउँदै आएका छन्। यस्तै, उनले केही समयअघि कोरोनाको जोखिमबारे संसदमै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।  

नेपाल टेलिकमलाई सचेतनामूलक रिङटोन (सिआरबीटी) बजाउन सुझाव समेत थापाले दिएका थिए। थापाले सरकारको कोरोना कोषमा प्रत्येक सांसदले एक महिनाको तलब जम्मा गर्न प्रस्ताव समेत गरेका छन्। काठमाडौंका सांसदहरुको भेला बोलाएर जोखिमसँग जुध्न आवश्यक रणनीति बनाउन समेत गगन  सक्रिय छन्।

यस्तै, सोमबार मात्रै फ्रान्सबाट फर्किएकी १९ वर्षीय युवतीमा कोरोनाको संक्रमण भेटिएपछि थापाले उनीसँग सम्बन्धित व्यक्तिको पहिचान गरेर तत्काल परीक्षण गर्न आग्रह गरेका छन्।‘अब ढिला नगरौं। भर्खरै पहिचान भएको संक्रमित व्यक्ति चढेका फ्लाइटका सबै विमानस्थलमा र त्यसपश्चात उनीसँग सम्पर्कमा आएका सबैलाई अविलम्ब पहिचान गरेर छुट्टै राखेर प्रत्येकको तत्काल परीक्षण गरिहालौं,’ उनले भनेका छन्। गगनले आइतबारदेखि भेटघाटलाई रोकेका छन्।

फुसर्दमा पढ्ने किताब सिफारिस गर्दै न्यौपाने  

नेकपाका युवा नेता लेखनाथ न्यौपान केही दिन यता घरमै बसेका छन्। उनका दुई सन्तान छन्। तीनको हेरचाहमै न्यौपानेको दिन बित्ने गरेको छ।

भेटघाट केही दिन यता पूर्णरुपमा बन्द छ। फुर्सदको समयमा पढ्ने र लेख्ने गरेका छन्। सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने मात्रै होइन घरमा बस्दा पढ्न उपयुक्त किताबबारे सुझाव समेत दिने गरेका छन्।

‘सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने कामसँगै घरमा बस्दा कुन किताब पढ्ने भनेर सुझाव समेत दिने गरेको छु,’ उनले भने।

फोन गरेर सचेत गराउँदै पौडेल

कांग्रेस युवा नेता प्रदीप पौडेल पनि केही दिन यता घरमै छन्। सामाजिक सञ्जालमा आजभोलि निकै सक्रिय छन् उनी। 

यस्तै, निर्वाचन क्षेत्रका जनतालाई फोनमार्फत सकेसम्म सचेत गराउँदै आएका छन्। पुस्तक पढ्ने कोशिश समेत जारी रहेको उनको भनाइ छ। ‘सामाजिक सञ्जालमा सक्रिय छु। अफवाह नफैलाउन आग्रह गरिरहेको छु। सरकारलाई सुझाव समेत दिँदै आएको छु,’ उनले भने, ‘सकेसम्म घरमै बस्न आग्रह गर्ने गरेको छु। किताब पढ्ने कोशिश गरेको छु।’

लक डाउन गराउन अभियान चलाएँ : गैरे  

नेकपाका युवा नेता ठाकुर गैरेले सरकारलाई समयमै लक डाउन गराउन अनुरोध गर्न अभियान नै चलाए। सीमा नाका बन्द गर्नुपर्छ भनेर अभियान चलाएको उनको भनाइ छ। यस्तै, कोरोनाबाट बच्ने उपायबारे सचेतना जगाउन समेत उनी सक्रिय थिए। सोमबारबाट भने उनले सबै भेटघाट बन्द गरेका छन्।

‘लक डाउन गर्न सरकारलाई दबाब दिन अभियान चलायौं। सीमा नाका बन्द गर्ने सन्दर्भमा पनि हाम्रो अभियान थियो,’ उनी भन्छन्, ‘सबैलाई घरमै बसेर सहयोग गर्न र कोरोनाबाट बच्न सकिने उपायबारेमा सचेतना जगाउने काममा सक्रिय छु।’

उनले टेकु अपस्तालमा कोरोना पोजेटिभको बिरामी फेला परेपछि अत्यावश्यक काममा बाहेक घरबाहिर ननस्किन अपिल गरेका छन्। पोजेटिभ देखिएकी युवती फ्रान्सबाट आउँदा त्यो फ्लाइटसँग जोडिएका र नेपाल आएपछि सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्न सरकारलाई सुझाव दिएको उनले बताए। ‘यो बेला हामी उत्तेजित र आतंकित हुनुहुँदैन। संयमित हुन सबैलाई अपिल गरिरहेको छु,’ उनले भने। 

नागरिक र सरकारबीच समन्वय गर्दै झाँक्री  

नेकपाकी नेतृ एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले सोमबारबाट भेटघाटलाई रोकेकी छिन्।

सामाजिक सञ्जालसँगै मिडिया हेर्ने, पढ्ने र विश्लेषण गर्ने गरेको उनी बताउँछिन्। ‘केही काम थिए। हिजो र आज गरेर सकेँ, अब घरबाट बाहिर निस्किन्न,’ उनी भन्छिन्, ‘खासगरी टोलमा सचेतना जगाउने काम गरिरहेकी छु।’

तीन तहका सरकारले गरिरहेको काममा समन्वय गरिरहेको उनको भनाइ छ। ‘केही दिनअघि विदेशबाट आएको परिवार निर्धक्क हिँड्यो। वडा र स्थानीय प्रशासनसँग समन्वय गरेर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम भयो,’ उनी भन्छिन्, ‘हाम्रो गाँउमा भारत जानेहरु धेरै छन्। उनीहरु गाँउ फर्किएपछि के गरिरहेका छन्? काठमाडौंबाट जानेहरुले के गरेका छन्। प्रशासन र स्थानीय तहसँग समन्वय गरिरहेको छु।’  

यस्तै, फोन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने काम समेत गरिरहेको उनी बताउँछिन्।

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, चैत १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्