Kathmandu Press

सभामुख-राष्ट्रियसभा अध्यक्षबीच मनमुटाव, योगीको खिलाफमा पूर्वएमाले

काठमाडौं, चैत ५ : संघीय संसदको महासचिव नियुक्तिका विषयमा सत्तासीन दल नेकपाभित्र असन्तुष्टि &nbs

सभामुख-राष्ट्रियसभा अध्यक्षबीच मनमुटाव, योगीको खिलाफमा पूर्वएमाले

काठमाडौं, चैत ५ : संघीय संसदको महासचिव नियुक्तिका विषयमा सत्तासीन दल नेकपाभित्र असन्तुष्टि  चुलिएको छ। मनोहरप्रसाद भट्टराईले अनिवार्य अवकाश पाएपछि महासचिव पद अहिले रिक्त छ। 

भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबारदेखि नै लागू हुनेगरी सचिव गोपालनाथ योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन्। सभामुख सापकोटाले योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेपछि सत्तासीन दल नेकपाभित्र रडाको मच्चिएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सापकोटालाई भेटेरै आपत्ति जनाइसकेका छन्।  चैत २ गते प्रतिनिधिसभाका सचिव योगीलाई ‘संघीय संसदको  महासचिव भई कामकाज गर्न तोकेको’ पत्र दिएका थिए। 

Hardik ivf

योगी पूर्वमाओवादीको सिफारिसमा संसद सचिवालयको सचिवमा नियुक्त भएका थिए। सोही कारण पूर्वएमाले समूहले पूर्वमाओवादीलाई महासचिव छोड्न नहुने अडानमा छ। तर, सभामुख सापकोटा भने योगीलाई नै महासचिव बनाउने रणनीतिमा छन्। 

पूर्वएमालेले योगीको उमेर नपुगेकाले नयाँ महासचिवको खोजी गर्नुपर्ने बताइरहँदा सभामुख सापकोटा भने तत्काल योगीलाई नै निरन्तरता दिने र उमेर पुगेपछि महासचिव बनाउने रणनीतिमा छन्। संघीय संसदको महासचिवको नियुक्ति तथा योग्यता सम्बन्धी कानूनमा महासचिव बन्न ४५ वर्ष पुग्नुपर्ने व्यवस्था छ।

तर, योगी ४५ वर्ष पुग्न अझै १५ महिना बाँकी छ। ‘सभामुखज्यू उहाँ (योगीलाई) १५ महिनासम्म कार्यवाहक दिने र त्यसपछि महासचिव बनाउने रणनीतिमा हुनुहुन्छ,’ सापकोटा निकट स्रोतले भन्यो, ‘महासचिवका लागि अन्यको समेत चर्चा भइरहेको छ। तर सभामुखको चाहना योगीकै निरन्तरता हो।’ 

तर, पूर्वएमाले भने कुनैपनि हालतमा पूर्वमाओवादीलाई महासचिव पद नछोड्ने पक्षमा छ। सोही नीति अनुरुप राष्ट्रियसभाका अध्यक्षले सापकोटालाई भेटेर आपत्ति जनाएका हुन्। उनले महासचिवको योग्यतामा उल्लेख भएको उमेरका विषयमा प्रश्न उठाएका थिए।

ओनसरीले नै गरेकी थिइन् योगीको सिफारिस 

तत्कालीन सभामखु ओनसरी घर्तीले २०७३ भदौमा संसदको सचिव नियुक्तिका लागि योगीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्। राजनीतिक रुपमा नियुक्ति हुने संसदको सचिव पद त्यो बेला लामो समय रिक्त थियो। 

०४८ सालपछि तत्कालीन सभामुख दमननाथ ढुंगानाले सूर्यकिरण गुरुङलाई संसदको सचिव बनाएका थिए। पछि गुरुङ संसदको महासचिव समेत बने। तर, त्यसपछि संसदको सचिव नियुक्ति हुन सकेको थिएन। ०६३ पछि सभामुख बनेका सुवास नेम्वाङ ९ वर्षसम्म सभामुख पदमा रहे। तर, उनले कसैलाई पनि सचिवमा नियुक्त गरेका थिएनन्।

घर्तीले योगीलाई सचिवमा सिफारिस गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी कार्यकर्ता भन्दै सदर गरेकी थिइनन्। घर्तीको कार्यकालभर योगीको नियुक्ति अड्किएको थियो। तर, तत्कालीन एमाले–माओवादी गठबन्धनले ०७४ निर्वाचन जितेपछि सभामुख बनेका कृष्णबहादुर महराले पुनः योगीको नाम सिफारिस गरे।

महराको सिफारिसमा योगी र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सिफारिसमा राजेन्द्र फुयाँल २०७५ वैशाखमा सचिव नियुक्त भएका हुन्।  संविधानको धारा १०६ (१) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रियसभा अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा राष्ट्रियसभाको सचिव नियुक्त गर्ने प्रावधान अनुसार उनीहरु सचिवमा नियुक्त भएका थिए।

तर, महासचिव बन्न दुवैको उमेर पुग्दैन। फुयाँल पनि ४५ वर्ष पुगेका छैनन्। उनी अहिले ४१ वर्षका मात्र भएका छन्।  

को–को छन् दौडमा ?  

सभामुख सापकोटाले योगीकै निरन्तरता चाहेका छन्। तर पूर्वएमाले पक्षधर भने महासचिवमा पूर्व माओवादीलाई रोक्न जुटेको छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको शक्ति संघर्षको असर महासचिव नियुक्तिमा समेत देखिएको छ। 

अहिले संसदको महासचिवको दौडमा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी समेत छन्। अधिकारीलाई महासचिव बनाउन राष्ट्रपतिले समेत नेताहरूसँग परामर्श थालेको स्रोतको दाबी छ।

यस्तै, संसद सचिवालयका दुई सचिव डा. भरतराज गौतम र ध्रुव घिमिरे, प्रधानमन्त्रीका कानूनी सल्लाहकार बाबुराम दाहाल र अधिवक्ता टिकाराम भट्टराईको समेत दौडमा रहेको स्रोतले जानकारी दियो। 
 

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्