पाटनमा १२६ दिपंकर बुद्धको भेला (फोटोफिचर)
पाटन, फागुन १६ : पाटनमा दिपंकर बुद्धको भेला गराइएको छ। बहाः बहीबाट बाहिरिएका दिपंकर बुद्धहरूको भेला

पाटन, फागुन १६ : पाटनमा दिपंकर बुद्धको भेला गराइएको छ। बहाः बहीबाट बाहिरिएका दिपंकर बुद्धहरूको भेला गराइएको हो।
सम्यक महादान पर्वमा पाटन क्षेत्रमा रहेका दिपंकर बुद्धहरुलाई एकै ठाउँमा भेला गराइन्छ। यो पाँच वर्षमा आयोजना हुने गरेको छ।
यसवर्ष बुधवार साँझबाट दिपंकर बुद्धहरुलाई पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर अगाडी भेला गराइएको हो। परम्परागत बाजाका साथ दिपंकरहरुलाई ठाउँठाउँमा नचाउँदै कृष्ण मन्दिर पुर्याइएको थियो। सबै बुद्धहरु ल्याएपछि सम्यक महादान हुने स्थान नागबहाःमा लगिएको थियो। यसपटक एक सय २६ जना दिपंकर बुद्धहरु महादानमा सहभागी थिए।
बिहीबार बिहान महाविहारका २० जना स्थवीर आजुले विशेष पूजा गरेका थिए। दिनभर दिपंकर बुद्धहरुलाई महादान दिने गरिन्छ। यससँगै महाद्वीप प्रज्वलन, महायज्ञसमेत गरिन्छ।
पहिले यो पर्व प्रत्येक वर्ष आयोजना गरिन्थ्यो। तर, रणबहादुर शाहले गुठीको जग्गा सरकारीकरण गरेपछि पर्व सञ्चालन गर्न आर्थिक अभाव भएको थियो।
जसले गर्दा सम्यक महादान प्रत्येक पाँच वर्षमा आयोजना गर्न थालिएको स्थानीय वासिन्दा बताउँछन्। त्यहि परम्परा अहिले पनि जारी छ।
नागबहालमा राखिएका दिपंकरहरुलाई भक्तजनहरुले धान, नुन, गहुँ, भटमान, फलफूल, सुनचाँदी, वस्त्र, नगद इत्यादी दान गर्ने परम्परा रहेको छ। लिच्छवीकालदेखि सुरु भएको यो पर्वमा दान गर्न दिपंकर बुद्ध रहेका स्थानमा मानिसहरुको घुइँचो लाग्ने गर्छ।
यसरी दान गर्दा समाजमा शान्ति, भाइचारा फैलिने र दान गर्ने भावनाको विकास हुने जनविश्वास रहेको छ।











