ओलीको आत्मरती, आचारसंहिता उल्लंघन गर्दै जन्मदिनमा ‘अशोभनीय तडकभडक’
काठमाठौं, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आचरसिंहतालाई लत्याउँदै तडकभड
काठमाठौं, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आचरसिंहतालाई लत्याउँदै तडकभडकरुपमा आफ्नो जन्मदिनलाई बनाएका छन्। २००८ फागुन ११ मा जन्मिएका ओलीले आफ्नो ६९ औं जन्मदिन तडकभडकका साथ मनाएका हुन्।
आइतबार बिहान बुवा मोहनप्रसाद ओली, श्रीमति राधिका शाक्य, पार्टीका नेताहरुसका साथमा बालुवाटारमै केक काटेका उनी दिँउसो हेलिकोप्टर चढेर जन्मस्थल पुगे। तेह्रथुमको आठराईमा उनको जन्मदिन भव्यरुपमा मनाउन गाँउपालिकाले सार्वजनिक विदा समेत दियो। जहाँ तीन हजार देखि पाँच हजार मानिसका लागि भव्य भोजको आयोजना गरिएको छ। नेकपाको संगठन विभागले बनाएको आचारसंहितालाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले ‘हाइफाइ’ जन्मदिन मनाएका हुन्।
नेकपाले आफ्ना नेता–कार्यकताका नाममा सर्कुलर जारी गर्दै भोजभतेरलाई तडकभडकपूर्ण नबनाउन निर्देशन जारी गरिरहँदा पार्टीका अध्यक्ष नै त्यसको उल्लंघन गर्न तत्पर देखिएका छन्। नेकपाको आचारसंहितामा जन्मदिन ब्रतबन्ध पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा सीमित गर्नुपर्ने उल्लेख छ। ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ आचारसंहितामा भनिएको छ।
तर, प्रधानमन्त्रीको जन्मदिन मनाउन राज्यसंयन्त्रनै प्रयोग भएको छ। ओलीको जन्मदिन मनाउन उनको घर देखि ५० मिटरको दुरीमा हेलिप्याड निर्माण भएको छ। उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी छन्। आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्मदिन मनाउन सार्वजनिक विदा समेत दिइएको छ। त्यहाँ रहेका कर्मचारीहरुलाई प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य सहभागी हुन गाउँपालिकाले निर्देशनात्मक पत्र पठाएको छ।
राज्यसंयन्त्रनै परिचालित गराएर प्रधानमन्त्रीले जन्मदिन मनाउनु अशोभनीय भएको नेकपा नेताहरुको भनाई छ। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आन्तरिक आचारसंहिताको उल्लंघन गरी स्वेच्छारी ढंगले चल्नु खेदजनक रहेको नेकपाका एक स्थायी समिति सदस्यले काठमाडौं प्रेससँग भने, ‘आफूले पार्टी सुदृढीकरण गर्न नेतृत्व लिनुपर्ने ठाउँमा आफैँ स्वेच्छारी ढंगले अघि बढ्ने कार्य आपत्तीजनक छ। जन्मदिनको अवसरमा प्रधानमन्त्रीको तडकभडक ज्यादै अशोभनीय छ,’ उनले भने।
देशमा दुर्घटना हुँदा समेत वालुवाटारमा भोज
प्रधानमन्त्री केपी ओलीले राज्यसंयन्त्रको प्रयोग गरी भोजको आयोजना गरेको यो पहिलोपटक भने होइन। उनले प्रधानमन्त्री निवास वालुवाटरालाई ’पार्टी प्यालेस’ नै बनाएका छन्। वालुवाटारमा २३ भदौ २०७५ मा बालुवाटारमा ओली वंशको भेलाको अवसरमार भोज आयोजना गरिएको थियो । उनले वंश भेला देखि नेकपा सांसदहरुलाई पार्टी दिन भ्याएका छन्। ओलीले माघ १९ गते केन्द्रीय समितिको बैठक सकिएपछि सांसद तथा केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा बोलाएर भोज खुवाएका थिए। त्यो बेला केही नेताहरुले ओलीले सरकारी निवासलाई पार्टी प्यालेस बनाएको भन्दै भोज बहिस्कार गरेका थिए।
यस्तै तत्कालिन एमाले र माओवादी केन्द्रबीच फागुन २०७४ मा पार्टी एकिकरणको घोषणा हुँदा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमा भोज गरेका थिए। त्यसको तीन दिनपछि ११ फागुन ०७४ मा प्रम ओलीको ६७ औँ जन्मदिन थियो । ओलीको जन्मदिनमा पनि बालुवाटारमा भव्य भोज आयोजना भएको थियो। यस्तै ८ मंसिर २०७६ मा बालुवाटारमा मन्त्री र मन्त्रीका परिवारका लागि ओलीले रात्री भोज गरेका थिए। नाकाबन्दीले मुलकु आक्रान्त रहेका बेला ओलीले १२ कात्तिक ०७२ मा देशले नयाँ सरकार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पाएको भन्दै बालुवाटारमा भोज आयोजना गरेका थिए।
देशमा २४ जनाको ज्यान जानेगरी ३० चैतमा दुर्घटना भएको थियो। तर बालुवाटारमा नयाँवर्षको अवसर भन्दै ९ लाख ६७ हजार रुपैयाँ राज्यकोषबाट खर्च गरी भोज आयोजना भएको थियो।