Kathmandu Press

नयाँ वर्षका दिन सुदूरपश्चिममा यसरी मनाइन्छ बिसु तिहार 

काठमाडाैं, वैशाख १ :

छोरी : नै रे हाम्री इजा जिउ रनपुत
माल पोइल म जाँदैन रनपुत
मालको घामटिपी खाला रनपुत

....
नयाँ वर्षका दिन सुदूरपश्चिममा यसरी मनाइन्छ बिसु तिहार 

काठमाडाैं, वैशाख १ :

छोरी : नै रे हाम्री इजा जिउ रनपुत
माल पोइल म जाँदैन रनपुत
मालको घामटिपी खाला रनपुत

इजा : पोइल नगइ नहुने भयो रनपुत
माल पोइल जानै पर्‍यो रनपुत 
तम्रा बाबा त्याँई पुगन्ना रनपुत

यी हरफ पुतलामा गाइने गीतका हुन्। बिहे गर्नेबारे आमा र छोरीको गीतमार्फत नै यसरी कुराकानी हुन्छ। आमा छोरीलाई बिहे गर्न अनेक कुरा लगाएर फकाउने कोशिश गर्छिन् भने छोरी तराई मधेसमा बिहे गर्न राजी हुँदिनन्। 

यी आमा छोरीका बिरहका कहानी सुदूरपश्चिममा नयाँ वर्षको दिन गाइन्छन्। नयाँ वर्ष २०७६ साललाई सुदूरपश्चिमबासीले यसैगरी भित्र्याउँछन्। नयाँ वर्षको आज तामझामका साथ नेपालीले स्वागत गर्दैछन्। फरक–फरक चालचलन संस्कृति अनुसार एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई स्वागत गरिन्छ। यसरी सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्व अथवा बिसु तिहार भन्ने गरिन्छ। 

सुदूरपश्चिमको अछाम, बझाङ, बाजुरा, डोटी लगायत ९ वटै जिल्लामा पुतला खेल्दै नयाँ वर्षमा रमाइलो गरिन्छ। पुतला खेलले महिलाहरूको मार्मिक, पिर व्यथा झल्काउँछ। महिला भएर जन्मिसकेपछि बिहे गर्नै पर्ने बाध्यता, बिहे नगर्दा कुल खानदानको इज्जत रहँदैन भन्ने सोच र बिहे पश्चात खेप्नुपर्ने हजारौं दुःख कष्टहरूका मार्मिक गाथाहरूलाई गित जस्तै लयबद्ध तरिकाले पुतला खेल खेलिन्छ। 

अछाम र बाजुराको संगममा परापूर्वकालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा परेका बेला पुतला नाच सुरु गराएको भन्ने भनाइ छ। तराईमा विवाह गरी गएकी छोरीको मृत्यु शोकमा रहेका राजाले उनको सम्झना गर्दै पुतला खेल खेल्न लगाएपछि यो परम्परा बसेको सुदूरपश्चिम लोकसंस्कृतिका जानकार नवल उपाध्यायले बताए।

घेम्पोकी छोरी रनमैयाको सर्पको टोकाइबाट ज्यान गएको थियो। इच्छा विपरित विवाह गराइएकी छोरीले सर्पले टोक्नुभन्दा पहिले तराई मधेसमा पाएको गर्मी, सर्प, बिच्छीको डरबारे माइतीमा सन्देश पठाएकी थिइन्। छोरीको सर्पले टोकेर मृत्यु भएको शोकमा राजाले पुतला खेल खेलाएको र त्यसपछि पुतला खेल सुरु भएको जानकारहरू बताउँछन्। यो पर्वमा बिहे गरेर पराइ घर गएकी छोरीचेली माइतीमा आएर पुतला खेल्दै आफ्ना दुःख सुखका कुराहरू साटासाट गर्ने गर्दछन्।

सँगै ३३ कोटी देवीदेवतालाई साँची राख्दै अन्ततः बिहे गर्न स्वीकार गरेर नै पुतला खेलको अन्त्य हुन्छ। पुतला खेलमा पुरुषहरूले बिसुलौडा मनाएर पोल्ने गर्दछन्। 
बिसुलौडा अर्थात कुयली झार। जसलाई मसिनो छडी बनाएर आगोमा पोलेर बिसुलौडा बनाइन्छ। त्यही बिसुलौडाले छेडेर सर्प, बिच्छी जस्ता आक्रमण गर्ने जनावरलाई मार्न सहयोग हुने भन्दै बिसुलौडा चढाइन्छ।

आजकै दिन सिस्नोपानी पनि खेलिन्छ। सिस्नो लगाउँदा छाला सम्बन्धी रोग लाग्दैन भन्ने  विश्वासका साथ भिनाजु–साली, देवर–भाउजु, नन्द–भाउजु एक आपसमा सिस्नो लगाउने गर्दछन्। तर, पुतला खेल्ने चलन भने सुदूरपश्चिममा पछिल्लो समय लोप हुँदै गएको छ। अहिले नगन्ने मात्रमा पुलता खेलिएपनि विस्तारै हराउँदै गएको अछामकी कमला देवी खड्काले बताइन्। बिसु तिहार मनाउनकै लागि छिमेकी जिल्ला भारतमा काम गर्न गएकाहरू पनि घर फर्किने गर्दछन् भने पराइ घर गएका चेली माइतमा जम्मा भएर मिठो मसिनो खाएर यो तिहार मनाउने गर्दछन्।
 

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, वैशाख १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्