कोरोना भाइरस फैलिएको चीनमा के भइरहेको छ ?
काठमाडौं, माघ १७ : कारोना भाइरसले चीनमा सयौं मानिस संक्रमित बनेका छन्। धेरै मानिसको मृत्यु समेत

काठमाडौं, माघ १७ : कारोना भाइरसले चीनमा सयौं मानिस संक्रमित बनेका छन्। धेरै मानिसको मृत्यु समेत भएको छ। श्वास फेर्न समस्या बनाउने यो भाइरसको पहिचान चीनको वुहान शहरमा पहिलो पटक भएको थियो।
तीव्र गतिमा फैलिने यो भाइरसको लक्षण निमोनिया जस्तै हुन्छ। चिनियाँ अधिकारीले संक्रमण बढ्नबाट रोक्नका लागि केही शहरलाई बाँकी देशबाट अलग गरेर राखेका छन्। शुक्रबार बिहानसम्म चीनमा २१३ जनाको ज्यान गएको छ। संक्रमण ९ हजार ६ सयभन्दा बढीमा देखिएको छ र यो क्रम बढ्दै गएको चिनियाँ अधिकारीले बताएका छन्।
के हुँदैछ चीनमा ?
१. धेरै घटना चीनमा
चीनको करिब बीचमा पर्ने हुबेई प्रान्त यो भाइरसबाट सबैभन्दा धेरै प्रभावित छ। विश्व स्वास्थ्य संगठनले आगामी दिनमा यो भाइरसको संक्रमण थप बढ्न सक्ने चेतावनी दिएको छ।
चिनियाँ अधिकारीले समेत कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न कदम चालेका छन्। हुबेई प्रान्तका केही शहरमा हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ। यस्तै, सार्वजनिक स्थलमा रहने मानिसहरुका लागि मास्क अनिर्वाय गरिएको छ। चिनियाँ सरकारले सांघाईको फोरबिडेन सिटी र ग्रेटवाल अफ चाइनाका केही भाग बन्द गरेको छ। यस्तै धेरै बौद्ध मन्दिर समेत बन्द गरिदिएको छ। चीनको नयाँ वर्ष सुरु भएको छ। सोही कारण त्यहाँ छुट्टी समेत सुरु भएको छ।
लाखौं मानिस घर जान चाहन्छन्। तर यस्तो समयमा प्रतिबन्धको लिस्ट लामो बन्दै गएको छ। हालै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई ‘अन्तर्राष्ट्रिय संकटकाल’ घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसुसले भनेका छन्, ‘कुनै गल्ती नगरौं। यो मुस्किल समय हो। चीनमा संकटकाल जस्तो स्थिति छ।’
२. सबैभन्दा धेरै हुबेई प्रभावित
हुबेई प्रान्त कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ। हुबेईमा अहिलेसम्म यो भाइरसबाट संक्रमित ५०० भन्दा बढी संक्रमित बनेका छन्। हुबेई प्रान्तका दश शहरमा करिब दुई करोड मानिस हिँडडुलमा लगाइएको प्रतिबन्धले प्रभावित भएका छन्। यसमा वुहान शहर समेत छन्। जहाँ सबैभन्दा पहिले कोरोना भाइरसको पहिचान गरिएको थियो।
वुहान हुबेई प्रान्तको राजधानी समेत हो। कोरोना भाइरसको सुरुवात यही शहरको सिफुड मार्केटबाट सुरु भएको बताइन्छ। उक्त मार्केटमा माछाका साथै अन्य समुद्री जीव खरिद गर्ने गरिन्छ। वुहानको जनसंख्या करीब एक करोड १० लाख छ। सरकारले यो शहर बन्द गरिदिएको छ। विमान सेवा, रेल सेवा समेत बन्द गरिएको छ। वुहान युनिभर्सिटी अफ टेक्नोलोजीका एक भारतीय विद्यार्थी चान्गथान पेपे बिफहोवजितले भनेका छन्, ‘हाम्रो युनिभर्सिटीका हरेक विद्यार्थीको ज्वरो हरेक दिन गर्ने गरिएको छ। सबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ।’
सामाजिक सञ्जालमा वुहानको भिडियो शेयर भइरहेको छ। ती भिडियोमा स्थानीय अस्पतालमा भिडभाड देख्न सकिन्छ। मेडिकल सेवाको बढ्दो आवश्यकता पूरा गर्न सरकारले हजार वेड क्षमताको एक नयाँ अस्पताल समेत बनाइरहेको छ। हुबेईको सरकारी समाचारपत्र चांग्जीआंग दैनिकका अनुसार यो अस्पताल फेब्रुअरीसम्म तयार हुनेछ।
३. कारोना भाइरसका घटना
चीन बाहिर समेत कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म थाइल्याण्ड, भियतनाम, दक्षिण कोरिया, सिंगापुर, नेपाल, जापान, अमेरिका, अष्ट्रेलिया र फ्रान्समा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ। अन्य देशमा समेत शंकास्पद घटनाको परीक्षण भइरहेको छ। ब्रिटेन र क्यानडामा समेत यसको जाँच चलिरहेको छ।
केही देशले चीनबाट आउने पर्यटकको जाँच गर्न एयरपोर्टमा स्वास्थ्य जाँच समेत गरिहेका छन्। दुबई र अबुधावी जस्ता प्रमुख एयरपोर्टमा समेत हेल्थ डेस्क स्थापना गरिएको छ। ताइवानले बुहानबाट आउने मानिसहरुलाई प्रतिबन्ध समेत लगाएको छ। अमेरिकाले चीनमा रहेका नागरिकलाई अतिरिक्त सावधानी अपनाउन भनेको छ।
४. कोरोना भाइरसका लक्षण
कोरोना भाइरस निकै सामान्य हुन्छ। यसको सुरुवाती लक्षणलाई पहिचान गर्न सकिन्छ। श्वास फेर्न समस्या हुन्छ। खोकी लाग्ने र नाकबाट पानी बग्ने हुन्छ। तर कोरोनाका केही भाइरस निकै खतरनाक हुन्छन्। जस्तै सार्स (सेभियर एक्युट रेसपिटरी सिन्ड्रोम) र मर्स (मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम) । वुहानबाट सुरु भएको यो महामारीका लागि जिम्मेवार जिवाणुलाई नावेल कोरोना भाइरस नाम दिइएको छ।
कोरोना भाइरसबाट संक्रमणको सुरुवात ज्वरोबाट हुन्छ। त्यस्तै सुख्खा खोकी समेत लाग्छ। एक हप्तासम्म यो क्रम जारी रहेपछि श्वास फेर्न समस्या हुन्छ। तर, गम्भिर स्थितिमा यो संक्रमणबाट निमोनिया हुन्छ। यस्तै मृगौला फेल हुने स्थिति समेत आउँछ र बिरामीको ज्यान समेत जान सक्छ।
लण्डन स्कुल अफ आइजीन एन्ड ट्रिपिकल मेडिसिनका डाइरेक्टर प्रोफेसर पिटर पियोट भन्छन्, ‘यो राम्रो खबर हो कि कोरोना सार्स विषाणुको तुलनामा कम खतरनाक हो। अतितको तुलनामा अहिले विश्वभर सूचना चाँडो आदानप्रदान हुन्छ। त्यो निकै महत्वपूर्ण कुरा हो। किनकि कुनै पनि देश एक्लै यो महामारीसँग लड्न सक्दैन।’
यो संक्रमणका लागि अहिलेसम्म कुनै खास उपचार प्रणाली पत्ता लागेको छैन। डाक्टरले संक्रमित बिरामीको लक्षणका आधारमा उपचार गरिरहेका छन्।
५. बच्नका लागि के गर्ने ?
विश्व स्वास्थ्य संगठनले प्रभावित क्षेत्रका मानिसहरुलाई बच्ने उपाय अपनाउन आग्रह गरेको छ। हात सफा राख्न, मास्क लगाउन र खानपानमा ध्यान दिन आग्रह गरिएको छ।
यस्तै, कुनै संक्रमित व्यक्तिको सम्पर्कमा नजान, घरपालुवा वा जंगली जनवारसँग टाढा रहन समेत सल्लाह दिइएको छ। काँचो वा आधा पाकेको मासु नखान भनिएको छ। कोरोना भाइरसबाट संक्रमित मानिसले हाँच्छ्यू गर्दा अघि रहेको मानिसमा सर्न सक्ने भएकाले त्यसबाट समेत बच्न सल्लाह दिइएको छ। हाँच्छ्यू गर्दा कपडा वा टिशू पेपर राख्न, नियमितरुपमा सरसफाइमा ध्यान दिन समेत सुझाइएको छ।
६. यदि कोही संक्रमित भए के गर्ने ?
विश्व स्वास्थय संगठनले अस्पताल, डाक्टर र स्वास्थ्यकर्मीका लागि विशेष सल्लाह समेत दिएको छ। उक्त एडभाइजरीमा भनिएको छ कि संक्रमित बिरामीको तुरुन्त जाँच गर्नुपर्छ। स्वास्थ्यकर्मी आफैं संक्रमणको सिकार नहोउन भन्नबाट बच्ने उपाय अपनाउन समेत भनिएको छ। गाउन, मास्क, लगाउन भनिएको छ। संक्रमित बिरामीको गतिविधि नियन्त्रण गर्ने सल्लाह समेत दिइएको छ।
-बीबीसीबाट











