Kathmandu Press

फेडेरर र जोकोभिक ५० औँ पटक भिड्दै

काठमाडौं, माघ १६ : नोभाक जोकोभिक र रोजर फेडेररलाई हेर्नुस्, उनीहरू प्रत्येक दिन सिक्ने प्रयास गर्छन्

फेडेरर र जोकोभिक ५० औँ पटक भिड्दै
एजेन्सी

काठमाडौं, माघ १६ : नोभाक जोकोभिक र रोजर फेडेररलाई हेर्नुस्, उनीहरू प्रत्येक दिन सिक्ने प्रयास गर्छन्, यही गुणले आज यी दुई खेलाडी लामो समयदेखि टेनिसमा राज गरिरहेका छन्।

यो भनाई जोकोभिकका प्रशिक्षक गोरान इभानेभिकको हो। यी नै दुई खेलाडी बिहीबार कोर्डमा भिड्दै छन्, अस्ट्रेलियन ओपनको सेमिफाइनलमा।

करिअरमा यी दुई खेलाडी ५०औँ पटक एक आपसमा भिड्न लागेका हुन्। ग्रान्डस्लाममा जोकोभिक फेडेररसँग सन् २०१२ यता अपराजित नै छन्।

फेडेरर ग्रान्डस्लाममा लगातार आठ वर्ष जोकोभिकसँग कमजोर देखिएका छन्। नयाँ बिहानी भनेझैँ फेडेरर ५०औँ भेटमा जोकोभिकलाई हराउन चाहन्छन्। ‘यी दिग्गज खेलाडीबाट केही सिक्नुपर्छ,’ इभानले भने, ‘उनीहरूसँगै राफेल नाडाल पनि उत्कृष्ट खेलाडीमा पर्छन्।’

रोजर फेडेरर।

साविक विजेता जोकोभिक मेलबर्न पार्कमा आफ्नो उपाधि रक्षा गर्दै आठौं पटक विजेता बन्ने अभियानमा छन्। फेडेरर सातौँपटक अस्ट्रेलियन ओपनमाथि कब्जा जमाउने योजनामा छन्। विश्व एटिपी वरीयतामा जोकोभिक दोस्रो स्थानमा छन्।

फेडेरर र जोकोभिकबीच गत वर्षको विम्बल्डन फाइनलमा भेट भएको थियो। ऐतिहासिक टाइब्रेकर फाइनलमा जोकोभिकले फेडेररलाई स्तब्ध पारेका थिए। विश्वका तीन नम्बर खेलाडी फेडेररले गत नोभेम्बरमा सम्पन्न एटिपी फाइनलमा जोकोभिकलाई हराएका थिए।

यसपटक मेलवर्न पार्कमा हुने सेमिफाइनलले इतिहास रच्नेछ। जोकोभिक, फेडेरर र नाडाल ग्रान्डस्लाम उपाधि संख्या थप्ने अग्रसर हुनेछन्। अझ जोकोभिक र नाडालको मुख्य उद्देश्य नै फेडेररको २० ग्रान्डस्लाम उपाधिनजिक पुग्नु हो।

फेडेररले आफू थप एक ग्रान्डस्लाम उपाधि जित्दै मेलवर्न पार्कलाई स्मरणीय बताउन चाहेका छन्। सवाधिक ग्रान्डस्लाम विजेता फेडेररभन्दा नाडाल एकले पछि छन्। त्यही नै जोकोभिक फेडेररभन्दा चारले पछाडि छन्। गत सिजनमा नाडालले फ्रेन्च तथा युएस ओपन जितेका थिए। जोकोभिकले अस्ट्रेलियन र विम्वल्डन हात पारेका थिए।

‘यी तीन खेलाडी एकआपसमै दबाब बनाएका छन्,’ प्रशिक्षक इभानले बिबिसी स्पोट्र्ससँग कुराकानी गर्दै भने, ‘यो उमेरमा पनि उनीहरू प्रत्येक दिन खेलमा सुधार गर्नुका साथै सिक्न प्रयासरत छन् यही नै भिन्नता छ, हालका युवा खेलाडी र सिनियर खेलाडीबीच।’

नोभाक जोकोभिक।

सन् २००१ मा क्रोएसियालाई विम्बल्डन उपाधि दिलाएका इभानले ती शीर्ष वरीयताका खेलाडीमा गज्जबको धैर्य रहेको बताए। ५०औँ पटक भिड्न लागेका जोकोभिक र फेडेरर राम्रा साथीमा पर्छन्। उनीहरू एकआपसमा नराम्रो बोल्न चाहँदैनन्।

मौका पाउँदा दुवै प्रशंसाका शब्द खर्चिन्छन्। ‘मेरो नजरमा फेडेरर अहिलेसम्मकै उत्कृष्ट टेनिस खेलाडीमा पर्छन्,’ फेडेररको प्रशंसा गर्दै जोकोभिकले भने, ‘फेडेरर र नाडालका खेलबाट प्रभावित हुँदा म आज यो स्थानमा छु।’ फेडेररसँग प्रतिस्पर्धा एक उच्च लेभलमा हुने गरेको जोकोभिक बताउँछन्।

‘तपाईहरूलाई थाहा नै छ, जब फेडेरर अगाडि हुन्छन्, त्यसवेलाको खेल कुन स्तरमा पुग्छ,’ उनले भने, ‘सबै टेनिस कोर्टमा फेडेरर उत्कृष्ट लयमा खेल्छन्।’

फेडेरर पनि जोकोभिकको प्रशंसा गरी थाक्दैनन् । फेडेरर भन्छन्, ‘गत दश वर्षअघि म जुन स्थानमा थिएँ, अहिले जोकोभिक पनि त्यही स्थानमा छन्, अहिले जोकोभिक खेल हेर्दा म आफूलाई दश वर्ष पछाडिजस्तो पाउँछु।’ कोर्टमा विपक्षीअनुसार, सहज रणनीति बनाउने खुबी जोकोभिकको रहेको उनको भनाइ छ।

 

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्