कांग्रेस ढुलमुले र दलाल प्रवृत्तिको पार्टी : नेकपा
काठमाडौं, माघ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई ढ

काठमाडौं, माघ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई ढुलमुले र दलाल प्रवृत्ति भएको पार्टी भएको आरोप लगाएको छ।
बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा कांग्रेस पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएपनि ढुलमुले र दलाल प्रवृत्ति भएको पार्टी रहेको उल्लेख छ।
‘आज नेपाली समाजको राजनीतिक र सामाजिक रुपान्तरणको क्षेत्रमा भूमिका खेल्ने राजनीतिक दलहरुमा नेकपा नै गौरवशाली नेकपा नै आम देशभक्त र श्रमजीवी नपाली जनताको आशा र भरोसाको केन्द्र हो,’ प्रतिवेदनमा भनिएको छ, ‘कांग्रेस पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएपनि आफ्नो ढुलमुले सम्झौता परस्त दलाल प्रवृत्तिका कारण यसले आर्थिक सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्दैन।’
यद्यपि संविधान कार्यान्वयनको प्रक्रियालाई अघि बढाउन भने कांग्रेससँग सहकार्य आवश्यक रहेको नेकपाको ठहर छ। ‘संविधान कार्यान्वयनको प्रक्रियालाई अघि बढाउन कांग्रेससँग आवश्यकता अनुसार सहयकार्य गर्नुपर्दछ। त्यसो गर्दा उसको प्रतिक्रियावादी चरित्रको आलोचना गर्न र भण्डाफोर गर्ने कुरालाई बिर्सन हुँदैन,’ प्रतिवेदनमा भनिएको छ।
नेकपाले देशमा रहेका साना क्षेत्रीय पार्टी र साना बामपन्थी पार्टीहरुसँग आलोचना, सहकार्यको र एकताको नीति अनुसार उनीहरुलाई आर्थिक सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।











