नेकपाको निष्कर्ष : मृतकका परिवारलाई टिकट नदिँदा उपनिर्वाचन हारियो
काठमाडौं, माघ १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुर क्षेत्र नम्बर १ को ‘ख’ र धरान उ

काठमाडौं, माघ १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुर क्षेत्र नम्बर १ को ‘ख’ र धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा पार्टी पराजित हुनुका पाँच कारण र आठ कमजोरी औंल्याएको छ।
बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भक्तपुर क्षेत्र नम्बर १ को ‘ख’ को प्रदेशसभा सदस्य र धरान उपमहानरपालिकाको मेयरमा चुनाव हार्नुको मुख्य कारण निधन भएका जनप्रतिनिधिका परिवारलाई टिकट नदिनु रहेको उल्लेख छ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमा निर्वाचित जनप्रतिनिधिको निधन भएर रिक्त पदमा निर्वाचन हुँदै गर्दा कतिपय स्थानमा सम्बन्धित व्यक्तिका परिवारजनलाई विश्वासमा लिन ध्यान नपुगेका कारण पराजय भोग्नु परेको उल्लेख छ। यसका साथै बलियो प्रचार संयन्त्रको कमी, स्थानीय तहका कामकारबाहीमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न नसक्नु समेत हारको कारण भएको प्रतिवेदनमा जनाइएको छ।
यद्यपि यसअघि आफूले जितेका दुई स्थानमा उपनिर्वाचनमा पराजित भएता पनि नेकपाले लिएको नीति र सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई जनताले भरोसा गरेको दाबी गरिएको छ। उपनिर्वाचनमा ४० प्रतिशत स्थानमा निर्वाचन परिणाम परिवर्तन भएको र विगतभन्दा फरक पार्टी र उम्मेदवारले निर्वाचन जितेको प्रतिवेदनमा उल्लेख छ। ‘यो परिणामको प्रवृत्तिगत विश्लेषण गरिनु र मतदाताको परिवर्तित मनोविज्ञानको पनि अध्ययन गरिनु आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ।
कांग्रेसले विगतमा भन्दा कम सिट जितेपनि भक्तपुर र धरानमा प्राप्त सफताले कांग्रेस उत्साहित भएको देखिएको नेकपाको ठहर छ। उपनिर्वाचनमा साना पार्टीहरु बलियोरुपमा स्थापित हुन नसकेका कारण नेपालको राजनीति दुई ध्रुवीय बन्दै गरेको प्रारम्भिक संकेत देखा परेको प्रतिवेदनमा उल्लेख छ।
‘सामाजिक सञ्जालको प्रचार, केही संचारमाध्यमहरुको योजनावद्ध ‘प्रोजेक्सन’ र सरकारको विरोधले मात्रै राजनीतिक स्पेस निर्माण गर्न सकिँदैन,’ प्रतिवेदनमा भनिएको छ, ‘यसका लागि सही राजनीतिक कार्यक्रम र कार्यदिशा आन्दोलन र रुपान्तरणमा खारिएको पृष्ठभूमी, जनताले पत्यार गरेको नेताकार्यकर्ताको पंक्ति र सही राजनीतिक विषयवस्तु आवश्यक पर्दछ भन्ने कुराको पुनः पुष्टि भएको छ।’ भक्तपुर र धरानको हारलाई गम्भिररुपमा लिन आवश्यक रहेको ठहर प्रतिवेदनमा गरिएको छ।
यस्ता छन् हारका कारण
-भक्तपुरमा उम्मेदवार चयनमा स्थानीय जनताको मनोविज्ञान र कार्यकर्ताको चाहनाका सम्बन्धमा यथेष्ट ध्यान नपुग्नु।
-उम्मेदवार तय भएपछि प्रकट भएको असन्तुष्टि समाधान गर्न समय लाग्नु–हाम्रो पार्टीका विरुद्ध नेपाली कांग्रेस, राप्रपा लगायतले गठबन्धन गर्नु। धरान –स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुप्रति जनतामा उत्पन्न गुनासो असन्तुष्टिलाई समयमै सम्बोधन गर्न ध्यान नदिनु।
–स्थानीय तहबाट हुने जनताका सरोकारलाई ध्यान दिन नसक्नु। कर निर्धारण गर्दा बस्तुनिष्ठ व्यवहारिक बन्न नसक्नु।
–कांग्रेस र समाजवादीबीच अघोषित गठबन्धन हुनु।
उपनिर्वाचनमा पराजित हुनुका ८ कमजोरी
–पार्टी एकता र एकीकरणको काम आधारभूत तहसम्म समयमै सम्पन्न हुन नसक्दा सिंगो पार्टी पंक्तिलाई परिचालित गर्न नसक्नु। स्पष्ट कार्यविभाजनको जिम्मेवारी तोकेर खटाउन नसक्नु।
–पार्टीमा भावनात्मक एकता हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहनु।
–उम्मेदवार चयन प्रक्रियामा कमी रहनु। सम्भाव्य उम्मेदवारहरु सामाजिक प्रतिक्रिया र लोकप्रियता आँकलन गर्न नसक्नु।
–अति आत्मविश्वासका कारण निर्वाचनसँग सम्बन्धित विषयमा तयारी गर्ने कुरामा समुचित ध्यान नपुग्नु।
–सरकार तथा स्थानीय तहहरुका कतिपय निर्णयहरुलाई लिएर जनतामा उत्पन्न गुनासो र असन्तुष्टिलाई विपक्षीहरुले मुख्य चुनावी मुद्दा बनाउनु, हामीले त्यसलाई चिर्न नसक्नु।
–निर्वाचित जनप्रतिनिधिको निधन भएर रिक्त पदमा निर्वाचन हुँदै गर्दा कतिपय स्थानमा सम्बन्धित व्यक्तिका परिवारजनलाई विश्वसमा लिन ध्यान नपुग्नु।
–विगतका निर्वाचनका क्रममा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन हुन नसक्दा प्रतिकुल प्रभाव पर्नु।
–प्राप्त उपलब्धि, भएका सकारात्मक कामहरु र सामाजिक आर्थिक रुपान्तरणको समग्र योजनाबारे प्रभावकारी प्रचार कार्य नहुनु, विपक्षीहरुका भ्रम चिर्ने प्रभावकारी प्रचार संयन्त्र नहुनु आदि।











