संरक्षित क्षेत्रको व्यापारिकीकरण गर्ने कि सामाजिकिकरण?
मानव समाज, संस्कृति र सभ्यताहरु प्रकृति र मानव जातीका बिच निरन्तर चलिरहने अन्तरसंबन्ध र अन्तरसंघर्षका उपज ह
मानव समाज, संस्कृति र सभ्यताहरु प्रकृति र मानव जातीका बिच निरन्तर चलिरहने अन्तरसंबन्ध र अन्तरसंघर्षका उपज हुन् । पुर्बीय बिश्व दृष्ट्रीकोणबाट प्रभावित हाम्रो समाज र संकृतीले सदैब जीब, जगत र जीवनको अन्तरसंबन्ध र सहअस्थित्वलाई स्वीकारेको पाईन्छ । मानिस आफुलाई प्रकृतीको एक अंश हो भन्ने ठान्दछ । त्यसैले होला अन्य समाज भन्दा पुर्बीय समाज प्रकृती, प्राकृतीक स्रोतहरु र अन्य जीबजन्तुहरुको उपयोगमा धेरै हदसम्म संयमित र अहिंसक छन्।
रक्षीत प्रकृतीबाट मात्र हाम्रो रक्षा हुन्छ भन्ने बैद्धीक मान्यता छ । त्यस्तै मानब जीवन धेरै हदसम्म जंगल, जमिन, जीबजन्तु र जलको वरिपरि घुमेको हुन्छ भन्ने बुझाई छ । बैद्धिक शास्त्रहरुमा मानव जीवनको उतरार्धमा प्रकृतीसँग एकाकार हुन वानप्रस्थ आवस्यक ठानीन्छ । अठारौं सताब्दिका प्रसिद्ध अमेरिकन प्रकृती प्रेमी जोन मिउर भन्ने गर्थे– जंगलमा गए पछि म मेरो ‘मन’ गुमाउँछु र मेरो ‘आत्मा’ प्राप्त गछु । वन जंगलमा विभिन्न रोगहरुको निदान गर्न सक्ने उपचारात्मक गुणहरु पनि हुन्छ्न् भन्ने कुरा त बैज्ञानिक अध्ययनबाट प्रमाणीत भैसकेको छ । त्यसैले होला जापान, कोरिया, अमेरीका, क्यानडा र युरोपका डेनमार्क लगायत विकसित मुलुकहरुमा रक्तचाप, एलर्जी, तनाब, डिप्रेसन, श्वासप्रस्वास आदी समस्याहरुको उपचारका लागि बनजंगलमा घुमाउन लैजाने प्रचलन छ । वन शिविरमा राख्ने चलन बढदो छ । जापानमा यस कार्यलाई ुसिनरीन याकु (बन स्नान) भनिन्छ।
नेपाल प्राचीन कालदेखिनै वनजंगल, जडीबुटी र पबित्र देबभुमीको रुपमा परिचीत छ । नेपाली समाजको संकृती र संकारहरुमा प्रकृतीका विभिन्न पह्लुहरु जस्तै वनजंगल, जनावर, बोटबिरुवा, पहाड, हिमाल, नदीनाला, ताल तलैया, हरिया फाटँहरु आदीको गहिरो प्रभाब देखिन्छ । जसरी विहानिको घामको किरणले शीतलाई विलिन पार्द्छ त्यस्तै मानिसको सबै पाप हिमालको एक दर्शणले नास हुन्छ भन्ने पौराणीक भनाई पनि छ । त्यसैले होला हाम्रो समाजले परापुर्बकाल देखिनै प्रकृती र प्राकृतीक स्रोतहरुको सम्मान, संरक्षण र सदुपयोगमा बिषेश महत्व दिएको पाईन्छ । नेपाली समाजले आर्थिक स्रोतहरुको रुपमा मात्र नभई सांस्कृतिक, धार्मिक र आध्यात्मिक संपदाको रुपमा पनि वन जंगल, बोटबृक्ष, नदीनाला, पाहाडहरुलाई उचित संरक्षण गर्दै आएको छ।
विकास र विज्ञानको प्रगतिसँगै मानव प्रकृतीको अन्तरसम्वन्ध उदेश्यहरु र संरक्षणका बिधिहरुमा फरक पर्नु स्वाभाबिक हो । मानव प्रकृतीको अंतर संबन्धका आधारभुत र मौलिक तत्वहरु सदैब उस्तै हुन्छन्। नेपाली समाज प्रकृती संरक्षणमा सदैब सकारात्मक रहेको पाईन्छ । जसको फलस्वरुप आज नेपाल प्रकृति संरक्षणमा बिश्वमानै अग्रस्थानमा रहेको छ । सन् १९७० को मध्यदेखि आधुनिक संरक्षण परिपाटी अंगालेको नेपालले हालसम्म २० वटा संरक्षित क्षेत्रहरु स्थापना गरिसकेको छ । देशको कुल भु –भागको २३ प्रतिशतभन्दा बढी क्षेत्रफल ओगटेका यि संरक्षित क्षेत्रहरुले बिश्वमै लोपउन्मुख अबस्थामा रहेका बाघ, गैडा, हात्ती जस्ता बन्यजन्तुहरु जोगाएका छन्। सगरमाथा जस्ता संसारकै अग्लो हिमसिखर र संसारकै गहिरो कालीगण्डकी घाटी जस्ता अव्दीतिय भुस्थलहरुको संरक्षण गर्न पनि सफल भएका छ्न् । यि संरक्षित क्षेत्रहरु नेपाल आउने ५० प्रतिशतभन्दा बढी पर्यटकहरुको आर्कषणको केन्द्र बनेका छ्न् । बढ्दो वन विनासका कारण हरिया टापुु जस्ता भएका हाम्रा संरक्षित क्षेत्रहरु विभिन्न बिरुवा र जीवजन्तुहरुको अन्तिम आश्रय स्थल र प्रमुख ‘कार्बन संचित’ क्षेत्र हुन पुगेका छ्न् । एक बिज्ञका अनुसार हाम्रो बनजंगलले संचित गरेको ११५७.३७ मिलीयन टन कार्बनको करिब ३० प्रतिशत (३४४.२०) मिलीयन टन कार्बन संरक्षितक्षेत्रहरुमा मात्र संचित भएका छन्। यदि १० डलर प्रति टन मात्र मुल्य राख्ने हो भने पनि संरक्षित क्षेत्रहरुमा संचित कार्बनको मुल्य झण्डै ४ खरब रुपैया बराबर हुन आउँछ। जुन दिगो बिकास लक्ष्य प्राप्त गर्न लाग्ने बार्षीक बजेटको करिब २५ प्रतिशत हो।
प्रकृति आफैंमा अथाह र रहस्यमय छ । संसारमा प्रत्येक वर्ष नयाँ बोटबिरुवा र जीबजन्तुका प्रजातीहरु पत्ता लाग्ने क्रम जारि छ । गत वर्ष मात्र नेपालमा एक दुर्लभ चरा प्रजाती, एक माउसुली र नेपालमा मात्र पाईने दुईवटा सुनाखरी प्रजाती पत्ता लागेको छ । त्यस्तै २००९ मा ३५३ नयाँ प्रजातीहरू पुर्बी हिमाली क्षेत्रमा पत्ता लागेको रिपोर्ट भएको थियो । जसमध्ये ९४ वटा या २७ प्रतिशत जति प्रजातीहरू नेपालका थिए । नेपाल जस्तो देश जहाँ जैबिक विविधताको सर्वेक्षण पर्याप्त मात्रामा भएको छैन । प्राकृतिक क्षेत्रहरुको जान अन्जानको क्षतिबाट हाम्रा अमुल्य प्राकृतिक श्रोतहरुको पहिचान र हामीलाई तिनीहरुको महत्वको ज्ञान हुनु भन्दा अघि नै नष्ट हुन सक्छन् । यसबाट हाम्रा भाबी पुस्ताको अनुसन्धान, आविष्कार र आर्थिक अवसरहरूको संकुचन हुन जान्छ । प्रकृती संरक्षणको महत्वलाई अझ बढि उजागर गर्न यहाँ प्रकृतिबाट प्रेरित भएर मानिसले कसरी उपयोगी आविष्कारहरू गर्द्छ्न् भन्ने केही उदाहरणहरू उल्लेख गर्नु उपयुक्त होला।
बुलेट ट्रेनको ईन्जीनको थुथुनो किंगफिशर चराको चुच्चोबाट अनुकरण गरिएको हो । फ्रान्सको बिश्व प्रसिद्ध इफेल टावरको डिजाइन उभिएको जीराफबाट लिईएको भनाई छ । लामखुट्टेको सुँड बाट प्रेरणा लिई जाँच गर्न रगत निकाल्ने सियोको परिमार्जन गरिएको हो । त्यस्तै भर्खर एक चरा प्रेमीले माकुरोको जालोबाट प्रेरित भएर चराहरु नठोकिने बिशेष किसिमको सिसाको डिजाइन गर्न मद्दत गरेका छ्न्। प्रकृति संरक्षणको आबश्यकता र बैज्ञानिक अनुसन्धान तथा आविष्कारहरूको अन्तरसंबन्ध र महत्व कति रहेछ भन्ने कुरा यी केहि उदाहरणबाट प्रष्ट हुन्छ।
हाम्रो प्रगति र सम्बृद्धि प्राकृतीको संरक्षणमा निहीत छ । न कि बिनासले हुन्छ भन्ने बुझ्नु जरुरि छ । त्यसैले आज बिश्व भरिनै प्रकृती संरक्षणका नीति र कार्यक्रमहरू सावधानीको सिद्धान्त (प्रिकस्नरी सिद्धान्त), अन्तरपुस्ता समन्यायीकर्ता (ईन्टरजेनेरेसनल इक्विटी), प्रकृति र जैबिक विविधताको मूल्य आर्थिक भन्दा मूलभूत ईन्ट्रेन्सिक बढि हुन्छ भन्ने जस्ता सिद्धान्त र मान्यताहरुबाट निर्देशित हुन्छ्न् । वास्तबमा यी सिद्धान्तहरु खास नयाँ होईनन् । पृथ्बीको स्रोतहरु संयमका साथ उपयोग गर्नु पर्दछ भन्ने कुरा इसोपनिसदमा समेत उल्लेख भएको पाईन्छ।
तर हाम्रो देशमा भने मुलुकको बातावरणीय, आर्थीक र सामाजीक दिर्धकालीन हित र सुरक्षाको लागि अति महत्वपुर्ण र संबेदनशील संरक्षित क्षेत्रहरुको केहि समयदेखि सम्बृद्धि र बिकासका नाममा संरक्षणका बिश्वब्यापी मुल्य र मान्यताहरुको बेवास्ता गर्दै जथाभाबि दोहनको कुचेष्टा हुन थालेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा तीन केबल कार र रिसोर्ट प्रोजेक्टको थालनी गर्न खोज्नु, कम शुल्कमा संरक्षित क्षेत्र भित्र रिसोर्ट खोल्न दिन कोसिस गर्नु, सुक्लाफांटा र पर्शा राष्ट्रिय निकुञ्जहरुमा खुला चिडियाखानाको अवधारणा १५ औं योजनामा प्रस्तावित हुनु, एयरपोर्ट, प्रान्तीय राजधानी र औद्योगिक क्षेत्रहरु वन्यजन्तु कोरीडोर र जैविक विविधता संरक्षणको दृष्ट्रिकोणले महत्वपुर्ण र संवेदनशील क्षेत्रहरूमा प्रस्ताव गर्नु, भुबनोट र वाताबरणीय पक्षहरुको उचित बिचार नगरि देशका विभिन्न भागमा जथाभाबी सडका योजनाहरु संचालन गर्नु आदी जस्ता कार्यहरुलाई केहि प्रतिनिधि कार्यहरुको रुपमा लिन सकिन्छ । यसरी संरक्षणका आधारभुत सिद्धान्त र उद्देश्यहरुलाई बेवास्ता गर्दै ऐन नियमहरु परिमार्जन गरि सिमित ब्यक्तिहरुलाई असिमित आर्थिक फाईदा दिलाउने परिबेश निर्माण गर्न खोज्नु ज्यादै अनुत्तरदाई सोच हो । यस्ता कृयाकलापहरु हाम्रो संविधानको भावना, हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता र देशको दीर्घकालीन हितको प्रतिकुल छ्न् । बर्तमान सरकारको संरक्षण प्रतिकुल यस्ता कृयाकलापहरूले दिगो र संन्तुलित बिकासमा बिश्वास राख्ने नागरिकहरुलाई ज्यादै चिन्तित तुलाएको छ । न्यातपोल भत्काएर नेपाल टावर बनाउन खोज्ने विकासको गलत बाटो हो।
हामीले यो भुल्नु हुदैन कि बास्तबमा राज्यले संरक्षित क्षेत्रहरुलाई ‘प्रजातान्त्रिक स्थल’ को रुपमा ब्यवस्थापन गर्नु पर्दछ । जहाँ सबै नागरिकहरुलाई प्रकृतिको सुन्दरताको रसस्वादन गर्न र प्रकृतिमा रमाउन समान अवसर प्राप्त होस् । तर साम्यवादमा विश्वस गर्ने वर्तमान सरकारको शक्तिशाली सरकार नै आफ्नो राजनैतिक सिद्धान्त बिपरित संरक्षित क्षेत्रहरुको ‘सामाजिकीकरण’ गर्नु सट्टा केहि ब्यक्तिको फाईदाको लागि ‘ब्यापारीकरण’ को बाटोमा अंगालेको छ । यो आफैमा ठुलो बिडम्बना हो।
आज सम्पूर्ण विश्व दीर्घकालीन वातावरणीय सुरक्षा र सन्तुलित विकास पथ तर्फ अग्रसर छन् । तर हामी भने स्वविनाशकारी र अनुपयुक्त विकास मार्ग अनुसरण गर्न कोशिस गर्दैछौं। हाम्रो देशका राजनीतिक नेतृत्वले संयुक्त राज्य अमेरिकाका बत्तिसऔं राष्ट्रपति थिओडोर रोजवेल्टबाट सिक्नु राम्रो होला । किनकी उनी प्रकृति संरक्षण, आर्थिक समृद्धि र राज्य शक्ति एकसाथ प्राप्त गर्न सकिन्छ भन्ने राम्रो उदाहरण पेस गर्ने एक सफल राजनेता हुन् । आर्थिक समृद्धिको सपना नेपालको सुन्दर प्रकृति र अथाह हरित स्रोतहरुको उचित संरक्षण र सदुपयोगबाट मात्र सम्भव छ । प्रकृति संरक्षण र संरक्षित क्षेत्रलाई ‘समाज कल्याणकारी’ कार्यक्रमको रुपमा बुझौं न कि व्यक्तिगत सम्पति आर्जन गर्ने माध्याम । हाम्रा संरक्षित क्षेत्रलाई पुस्तौं पुस्तासम्मलाई हुने गरि जोगाऔं नसके कम्तिमा नबिगारौं, नबेचौं, नेपाल र नेपालीको सुख र समृद्धि त्यसमै हुनेछ।
(लेखक राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन्)