गुंला पर्वमा सांस्कृतिक अधिकार अभियान
काठमाडाैं, साउन १७ : न्यागःमणि फेदि मानन्धर गुठीका करिब ६ वर्षीय रोजन मानन्धर शुक्रबार बिहान सखारै स
काठमाडाैं, साउन १७ : न्यागःमणि फेदि मानन्धर गुठीका करिब ६ वर्षीय रोजन मानन्धर शुक्रबार बिहान सखारै स्वयम्भूमा आफ्ना अग्रजहरुसँगै बाजा बजाउँदै थिए। उनले बजाउँदै गरेको ‘धाः बाजा’मा ‘गुथि विधेयक खारेज गर’लेखिएको सानो ब्यानर राखिएको थियो।
उनको मात्र हैन न्यागःमणि फेदि गुठीका सबै बाजामा ‘गुथि विधेयक खारेजी’लगायत सम्पदा–संस्कृति संरक्षणसम्बन्धी विभिन्न ब्यानरहरु राखिएको थियो। उनले बाजा बजाउँदै गरेको ठाउँ अगाडिको सत्तलमा पनि संस्कृति संरक्षणसम्बन्धी ‘सेभ द नेपाः भ्याली’ को ठूलो ब्यानर राखिएको छ।
रोजनजस्ता सयौं बालबालिका, हजारौं युवा, वृद्धवृद्धा आ-आफ्नो गुठी, खलकको नाम लेखिएको टिसर्ट लगाएर आफ्नो संस्कृति परम्परा धान्न विभिन्न बाजासहित शुक्रबार एकाबिहानै स्वयम्भू पुगे। गुलां पर्वको अवसरमा उनीहरु अब एकमहिनासम्म यसरी नै धाः, धिमे बाजासहित बिहानै स्वयम्भू पुग्नेछन् र आफ्नो संस्कृति, परम्परालाई निरन्तरता दिनेछन्।
शुक्रबारबाट प्रारम्भ भएको ‘गुंला पर्व’ मनाउन स्वयम्भू पुगेका विभिन्न गुठीका गुठियार, सदस्य तथा युवा यस वर्ष आफ्नो परम्परा धान्न मात्र स्वयम्भु लागेको छैनन्, उनीहरूले यस वर्ष गुलां पर्वलाई संस्कृति, परम्परा सम्वर्द्धनको लागि प्रचार गर्ने अवसरको रुपमा पनि लिएका छन्। यसैको एउटा कडी हो न्यागःमणि फेदी गुठीको बाजामा रहेको ब्यानर।
काठमाडौं बालाजुस्थित यस गुठीका गुठियार पुष्प मानन्धरका अनुसार केन्द्रीय मानन्धर संघमा भएको बैठकमा यस वर्ष गुंला पर्वको अवसरमा गुठी संरक्षणसम्बन्धी प्रचारात्मक कार्यक्रम पनि गर्ने छलफल भएअनुसार उक्त गुठी ब्यानरसहित स्वयम्भू पुगेका हुन्। उनले भने, ‘हामीले आज सुरुको दिनदेखि नै ब्यानर बोक्यौं, अरु गुथिकाहरुले पनि एकदुईमा यसरी नै व्यानर ल्याउनेछन्।’
मानन्धर समुदायका साथै स्वयम्भू पुग्ने विभिन्न बाजा खलक, गुरुजुहरु साथै संस्कृतिप्रेमी अभियन्ताहरूले संस्कृति, परम्परा, सम्पदा संरक्षणको लागि प्रचारात्मक कार्यक्रम गर्नेछन्। सरकारले गुठी विधेयक ल्याएपछि यो विधेयक गुठी परम्परा, संस्कृतिको विरुद्ध रहेको भन्दै नेवार समुदाय आन्दोलित छन्।
यसै आन्दोलनको क्रममा ‘गुंला पर्व’लाई लक्षित गरी प्रचारात्मक कार्यक्रम अघि सारिएको छ। गुंलाको अवसरमा गुरुजुहरुले दशपारमिता पाठ गर्दा पनि नेवाः सांस्कृतिक क्षेत्र, नेपाल मण्डल, सांस्कृतिक अधिकारसम्बन्धी शब्द राखेको पाठ गरिनेछ।
गुंला पर्वको क्रममा युवापुस्ता मात्र होइन् ‘बुहारी समूह’ पनि बाजा बजाउँदै स्वयम्भू पुगेका छन्। विशेषतः नेवार समुदायमा महिलाहरुले बाजा बजाउनु हुँदैन भन्ने मान्यता रहे पनि केही वर्ष अघिदेखि युवापुस्ता महिलाहरुले पनि बाजा बजाउन सुरु गरिसकेका छन्।
यसपालि भने घरधन्दामै व्यस्त हुने बुहारी समूह पनि बाजा बजाउँदै स्वयम्भू पुगेका हुन्। पाको पुखुद्यां मानन्धर सनागुथिले यस वर्षदेखि आफ्नो गुठीभित्रका बुहारीहरुलाई पनि बाजा प्रशिक्षण दिइ शुक्रबारबाट पहिलोपटक सार्वजनिक रुपमा बाजा बजाउन लगाएका थिए।
गुंला पर्व काठमाडौं उपत्यकाका बौद्धमार्गी नेवार समुदायले मनाउने विशेष पर्व हो। भाद्रशुक्ल प्रतिपदादेखि भाद्र कृष्ण औंसीसम्म एक महिना मनाइने यस पर्वमा काठमाडौंका बौद्धमार्गी नेवार समुदाय विभिन्न बाजागाजासहित हरेक दिन बिहान स्वयम्भू महाचैत्यको दर्शनको लागि जान्छन् भने पाटन, भक्तपुर, बनेपाका बौद्धमार्गी आ-आफ्नो स्थानमा रहेको बौद्ध विहार पुगी ‘गुंला धर्म’ मनाउँछन्।
गुंलामा विशेष गरि धाः बाजा बजाउने गर्दछ। गुंलामा बजाउने भएकोले यो बाजालाई ‘गुंला बाजा’ पनि भनिन्छ। विशेष गरी उपत्यकाका शाक्य, वज्राचार्य, उदाय, मानन्धर र ज्यापु समुदायले धाः बाजा बजाउने गर्दछ।
गुंला पर्वमा काठमाडौंका सबै जस्तो महाविहारका शाक्य, उदाय समुदाय स्वयम्भु पुग्ने गर्दछन्। यसका साथै विभिन्न परम्परागत ज्यापु टोलका पनि धिमे बाजासहित स्वयम्भु पुग्दछन्।
यस अवसरमा नेवार बौद्ध समुदायले नौवटा धर्मशास्त्र पाठ गर्ने पनि गरिन्छ। स्वयम्भू पुगेको विभिन्न विहारका गुरुजु, उदाय समुदायले दशपारमिता पाठ गरि स्वयम्भू महाचैत्य परिक्रमा गर्ने गरिन्छ।

-1784896419.png)









